‘द्वन्द्वले गाउँ छोड्न पर्‍यो, गरिबीले देश छोड्न नपरोस्’

श्रीमानलाई विदेश नपठाउने मनकुमारी

 फागुन ७, २०७५ मंगलबार १२:२:२० | सन्जिता देवकोटा

झापा – ‘सधैंभरी यही गन्हाउने काम गरेर के गर्नु, लाउन र खानबाहेक केही गर्न सक्या छैन्,’ मनकुमारी राईसँग श्रीमानले भने, ‘बरु विदेश जान्छु नि म पनि ।’ श्रीमानले विदेश जाने इच्छा देखाउँदा मनकुमारी झस्किनुभयो । 

श्रीमानलाई भन्नुभयो – ‘जान पर्दैन, गन्हाए पनि यही काम गर्ने हो, सकियो भने पछि आफै‍ कुनै व्यवसाय गरौंला ।’ 

झापामा नेपाली कागज उद्योगमा काम गर्छन् दुवै श्रीमान श्रीमती । विदेशमा हुनेजस्तो कमाइ नभए पनि यहाँ एकअर्काको साथ छ । तर स्वदेशमा भएको कामलाई फोहोर र गन्हाउने ठानेर सुकिलो काम खोज्दा साथ छुट्ने डर थियो मनकुमारीलाई । 

श्रीमानलाई भन्नुभयो, ‘अबदेखि कहिल्यै पनि विदेश जाने कुरा नगर्नु ।’ मनकुमारीलाई जिन्दगीमा आइपर्ने दुःख कष्टसँग त डर लाग्दैन । तर आपसमा छुट्टिनुपर्छ कि भनेर चाहिँ साह्रै डर लाग्छ । किनकी उहाँले छुट्टिनुको पीडा भोग्नुभएको छ ।

छुट्ने कुरा सम्झँदा पनि आङ जिरिङ्ग हुन्छ

संखुवासभाकी हुन् मनकुमारी । ९ कक्षामा पढ्दा तत्कालीन माओवादीले गरेको सशस्त्र युद्धको असर उहाँमाथि पनि पर्‍यो । सँगै पढ्ने कति साथीलाई माओवादीले साथैमा लगिसकेका थिए । डरैडरमा ९ कक्षा पास गर्नुभयो । १० कक्षा पढे पनि एसएलसी दिन पाउनुभएन । 

दिनहुँजसो फकाउँथे । स्कुलमा पाउने प्रमाणपत्र हामी नै दिन्छौं पनि भन्थें । माओवादीले आश्वासन देखाउँदा मनकुमारी लुगलुग खुट्टदा कँपाउँदै चुपचाप बस्नु हुन्थ्यो। 

‘स्कुलको प्रमाणपत्र किन चाहियो हामी तिमीलाई बकाइदा प्रमाणपत्र दिन्छौं, तिमीलाई स्कुल पढेर पाउनेभन्दा धेरै ठूला कुरा दिन्छौं, हामीसँग हिँड भन्ने,’ मनकुमारी ती दिन सम्झनुहुन्छ। 

२०५७/०५८ सालतिर गाउँमा कोही राँको बालेर साँझमा हिँडे भने त्यो उज्यालोले उहाँलाई तर्साउँथ्यो । कोही हिँडेको आवाज सुन्दा पनि आफैंलाई लिन आएझैं लाग्थ्यो मनकुमारीलाई । आफ्नै घरमा पनि डरैडरमा कति बस्नु । माओवादीकै डरले उहाँ २०५८ सालमा पढाइ छाडेर काठमाण्डौ भाग्नुभयो । 

‘ढकढक आवाज आयो भने हामी त गुन्द्रीभित्र लुकिहाल्थ्यौं, मलाई लैजाने हुन कि भनेर बुवाआमालाई कति पीर थियो, माओवादीले लैजान्छन् भनेर म घर छाडेर भागें,’ गाउँ छाडेको कुरा सुनाउँदा मनकुमारीका आँखा रसाए ।

मन किताब बोक्ने थियो । तर बन्दुक बोक्नुपर्ने बाध्यतामा पर्नुभन्दा दुवै कुराबाट टाढा जानु नै ठिक लाग्यो मनकुमारीलाई । आफू जन्मेहुर्केको गाउँबाट आफ्ना र आफ्नोपन त्यागेर नयाँ ठाउँ जानुपर्दा निकै रुनुभयो मनकुमारी ।

मन त मानेकै थिएन शहरमा । तर मनाउनै पर्ने बाध्यता थियो । १६ वर्षअघिको त्यो बिछोडको पीडाले उहाँलाई अहिले पनि पोल्छ । काठमाण्डौमा दाइ थिए । संखुवासभाबाट काठमाण्डौ गएपछि दाइकोमै बसेर उहाँ प्रिन्टिङ प्रेसमा काम गर्नुहुन्थ्यो । त्यही बेला अलिहेका श्रीमानसँग उहाँको मन बस्यो ।

‘काम गर्ने ठाउँबाटै नानीको बाबासँग भेट भयो, जुरेको रहेछ है लभ पनि परिहाल्यो, बिहे पनि भयो, देखेको हैन लेखेको पाइन्छ भनेको यही त होला,’ मनकुमारीले हाँस्दै भन्नुभयो । 

उबेला माओवादीको डरले दपेट्दै काठमाण्डौ पुर्‍याए पनि गरिबीले श्रीमानलाई विदेश नपुर्‍याओस् । मनकुमारीको यही अठोट छ । 

बिहेपछि झापा बन्यो कर्मभूमी 

२०६६ सालमा बिहे गर्नुभयो मनकुमारीले । मनकुमारीको प्रिन्टिङ प्रेसको जागिर भए पनि श्रीमान् बेरोजगार थिए । एक जनाको कमाइले काठमाण्डौमा कसरी चल्थ्यो र ? ‘मेरो मात्र जागिर थियो, गाह्रो भयो एक जनाको कमाइले मात्र खान, त्यसैले हामी काम गर्न झपा आएका हौं,’ मनकुमारीले सुनाउनुभयो । 

झापामा नेपाली कागज उद्योगमा दुवैलाई जागिर मिल्ने भयो । नेपाली कागज उद्योगमा आफन्तले काम गर्थे । उनैले काम लगाइदिने भएपछि काठमाण्डौ छाडेर २०६६ सालमा झापा आउनुभयो । झापामा एकै उद्योगमा श्रीमान् श्रीमतीलाई सँगसँगै काम गर्ने मौका जुर्‍यो । 

हातमा सीप प्रिन्टिङ प्रेसको थियो । तर झापामा नयाँ ठाउँ, अनि नयाँ काम । नेपाली कागज बनाउने काममा बानी पर्न निकै गाह्रो भयो उहाँलाई ।

 कञ्चा पदार्थ बनाउँदा घिन लाग्थ्यो । डुङडुङी गनाउँथ्यो । ‘काम त यहाँ दुवै जनाका लागि पाइयो, तर बानी नहुँदा त साह्रै गनाउँथ्यो, घिन लाग्थ्यो, तर अहिले त बानी पर्‍यो,’ मनकुमारीले काम गर्दाका अनुभव सुनाउनुभयो । काम सहज थिएन । तर श्रीमानको साथ थियो । काममा आइपरेका दुःख काट्न सहज भयो ।

 सामाजिक सञ्जालमा विदेशको दुःख देखेर श्रीमानलाई विदेश पठाइनँ

उद्योगले नै बस्ने व्यवस्था मिलाइदिएको छ । दिन काममै बित्छ । जति खट्न सक्यो उती हुन्छ कमाइ । तर मेहनत अनुसारको कमाइ नहुने गुनासो गर्नुहुन्छ मनकुमारी । 

‘मेहनत धेरै पैसा कम हुन्छ यो काममा, तर चित्त बुझाउने बाटो भनेको हामी श्रीमान् श्रीमतीले दुवैले सँगै काम गर्न पाएका छौं,’ मनकुमारीले सन्तुष्ट मुद्रामा भन्नुभयो । 
सामाजिक सञ्जालमार्फत मनकुमारीले विदेशमा थुप्रैका दुःख देख्नुभएको छ । विदेश गएका कतिका लोग्ने हराएको देख्नुभएको छ । काम गर्दा नेपालीले भोगेका सास्ती पनि हेर्नुभएको छ यूट्युवमा ।

‘मानिसहरु धुरुधरु रोएको देख्दा त मलाई बरु एक छाक भोको बस्छु बुढोलाई विदेश पठाउँदिनँ भन्ने लाग्छ,’ मनकुमारी भन्नुहुन्छ, ‘फेसबुकतिर बिभिन्न खाले दुःख देखेरै मैले बुढोलाई विदेश नपठाएको हुँ ।’ 

उद्योगमा काम गर्न पनि दुःख नहुने त हैन । तर विदेश जाँदैमा कमाइन्छ र सुख हुन्छ भन्ने कुरामा विश्वास छैन मनकुमारीलाई ।  भरोसा नहुने खुशीका लागि आज किन पीडा भोग्नु । मनकुमारीलाई त्यसो गर्न मन मान्दैन । 

कमाएर टन्न बचत गर्न नसकिएला । तर यहीँ कमाएर पनि परिवार पाल्न गाह्रो छैन । ‘परिवार पाल्न गाह्रो छैन, आफूले चाहेअनुसारको जीवन जीउन यहीँ पुग्छ भने किन जानु विदेश भन्ने लाग्छ मलाई त,’ मनकुमारी चित्त बुझाउनुहुन्छ । 

महिनाको २० देखि २५ हजार रुपैयाँ छ मनकुमारीको कमाइ । काम धेरै गर्न सके कमाइ पनि त्यही अनुसारको हुन्छ । ‘हामीलाई कागज अनुसारको पैसा हुन्छ, कागजको माग जति भयो, जति कागज बनाउन सक्यो उत्ति नै हुन्छ,’ मनकुमारीले काममा बारेमा सुनाउनुभयो । 

मनकुमारीका छोरा ११ वर्षका छन् । ४ कक्षामा पढ्छन् । श्रीमान् श्रीमती दुवैको कमाइले छोरालाई पढाउन र घर चलाउन पुगेको छ । 

सरकारले सहयोग गरे आफैं उद्योग खोल्थें 

नेपाली कागज बनाउने काम गर्न थालेको १० वर्ष हुन लाग्यो । कागज बनाउने काममा पोख्त हुनुभएको छ मनकुमारी । उहालाई उद्योग खोल्ने रहर छ । 

‘अब जस्तो भन्यो त्यस्तै काम गर्न सक्ने सीप छ, तर के गर्ने पैसा छैन, हामीजस्तो सीप हुनेलाई सरकारले आर्थिक सहयोग गरे त हुनेथियो नि,’ गुनासो गर्दै मनकुमारी भन्नुहुन्छ, ‘हुनेखानेलाई नै रहेछ सरकारले सहयोग गर्ने पनि ।’

अरुको काम गरेर बिहान बेलुकाको छाट टारेर मात्र हुँदैन भन्ने थाहा छ मनकुमारीलाई । त्यसैले आर्थिक सहयोग मिले हातमा भएको सीप प्रयोग गरी आफ्नो खुट्टामा उभिन मन उहाँलाई मन छ । 


 

अन्तिम अपडेट: चैत ७, २०७५

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया