प्रदेश ३ बाट १३ सय रोजगारदाता कोषमा दर्ता, काठमाण्डौ उपत्यकाको म्याद सकियो

 फागुन ७, २०७५ मंगलबार १२:४०:१५ | उज्यालो सहकर्मी

काठमाण्डौ – योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सोमबारसम्म १७ सय रोजगारदाता दर्ता भएका छन् ।

प्रदेश ३ बाट मात्रै १३ सय रोजगारदाता दर्ता भएको सामाजिक सुरक्षा कोषका प्रवक्ता रमा भट्टराईले जानकारी दिनुभयो । यसमा पनि काठमाण्डौ उपत्यकाका रोजगारदाताको संख्या धेरै छ । तर यकिन तथ्याँक आउन बाँकी छ ।  

प्रदेश ३ अन्तर्गत काठमाण्डौका तीन जिल्लाका रोजगारदाताले  कोषमा दर्ता हुने समय सकिएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका रोजगारदातालाई मंसिर ६ गतेदेखि फागुन ६ गतेसम्मको समयसीमा दिइएको थियो । 

तर काठमाण्डौ उपत्यकाका सबै रोजगारदाता दर्ता भैनसकेकाले दर्ता हुन बाँकी रोजगारदातालाई मौका दिने या के गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको प्रवक्ता भट्टाराईले बताउनुभयो । 

काठमाण्डौ उपत्यकाबाहेक प्रदेश ३ का अरु रोजगारदाताले फागुन १५ गतेसम्म कोषमा दर्ता हुन पाउँछन् । यसैगरी प्रदेश १ का रोजगारदातालाई चैत १ सम्मको समयसीमा दिइएको छ । प्रदेश २ का रोजगारदातालाई चैत १५ सम्म र गण्डकी एवं प्रदेश ५ का रोजगारदाताले वैशाख १ गतेसम्मको समयसीमा दिइएको छ भने वैशाख १५ गतेदेखि कर्णली र सुदुरपश्चिम प्रदेश को पनि समय सकिन्छ ।

सूचिकृत नहुने रोजगारदातालाई यस्तो कारबाही हुन्छ 

कोषमा सूचिकृत नहुने रोजगारदाता सरकारी सेवा सुविधाबाट वञ्चित हुने कोषका प्रवक्ता भट्टराई बताउनुभयो ।

‘ऐनमा प्रस्ट व्यवस्था गरेको छ, सूचिकृत नहुनेलाई सरकारी सेवा सुविधाबाट वञ्चित गरिन्छ,’ उहाँले भन्नुभयो, ‘ कर लगायतका कुरामा बाँधेर पनि उहाँहरुलाई यो कार्यक्रममा आउन बाध्य पारिन्छ, सरकारले ल्याएको यो कार्यक्रममा सहभागी नभइ अर्को विकल्प छैन, अनिवार्य आउनै पर्छ ।’

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया