भारतमा संस्कृत पढेकालाई समकक्षताको सकस

 फागुन ७, २०७५ मंगलबार १३:१८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - समकक्षताको प्रमाणपत्र नपाउँदा भारतको संस्कृत शिक्षा परिषद् लखनउमा अध्ययन गरेका विद्यार्थी मर्कामा परेका छन् ।

परिषदबाट विभिन्न तह उत्तिर्ण गरेका विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डले समकक्षता दिन रोकेपछि समस्या भएको विद्यार्थीले बताएका छन् । परिषदबाट पूर्व मध्यमा, उत्तर मध्यमालगायत तह उत्तीर्ण गरेका विद्यार्थीलाई बोर्डले समकक्षता नदिंदा सयौ विद्यार्थी मारमा परेको कमल अधिकारीले बताउनुभयो ।

जसका कारण विभिन्न पदका लागि दर्खास्त दिनै नपाएको र यसअघि दरखास्त दिएर नाम निकालेका विद्यार्थीले नियुक्ति पत्र लिन नसकेको उहाँले बताउनुभयो । आफूले २०६३ सालमा परिषद्बाट उत्तर मध्यमा उत्तीर्ण गरेको, आफूसँगै उत्तीर्ण गरेका विद्यार्थीले यसअघि समकक्षता पाएको तर आफूलाई अहिले चाहिएर लिन जाँदा बोर्डले दिन नमिल्ने भनेर फर्काइदिएको अधिकारीले गुनासो गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालय, महेन्द्र संस्कृत विश्वविद्यालय, शिक्षक सेवा आयोग लगायत नियकाले यसअघि विभिन्न तहको परीक्षामा समकक्षता नखोजे पनि यसपटकदेखि समकक्षता अनिवार्य गरेपछि सैयौ विद्यार्थीलाई समस्या भएको अर्का विद्यार्थी गायत्री दाहालले बताउनुभयो । 

परीक्षा बोर्डले भने संस्कृत शिक्षा परिषद् लखनउलगायत विभिन्न शैक्षिक संस्थालाई भारतको काउन्सिल अफ् बोर्ड्स अफ् स्कुल एजुकेसन इन इण्डिया कोप्सेले नक्कली अर्थात फेक बोर्डका रुपमा राखेकाले अहिले समकक्षता रोक्ने निर्णय गरिएको जनाएको छ ।

समकक्षता शाखाका शाखा अधिकृत रुद्रराज रेग्मीले कोप्सेले फेक बोर्डका रुपमा राखेका शैक्षिक संस्थाबारे थप स्पष्ट पार्न परराष्ट्र मन्त्रालयमार्फत दिल्लीमा रहेको नेपाली दुताबासमा पत्र पठाए पनि अहिलेसम्म कुनै जवाफ नआएकाले समकक्षकता दिन नसकिएको बताउनुभयो ।

भारतबाट जवाफ आएपछि यसबारे थप निर्णय गरिने उहाँले बताउनुभयो । बोर्ड नक्कली नभएको जानकारी आए सककक्षता खुला गरिने र नक्कली भएको पुष्टि भए यसअघि दिएका समकक्षता पनि खारेज गर्ने शाखा अधिकृत रेग्मीको भनाई छ ।  

यो बोर्ड अन्तगर्त वृन्दावन, हरिद्वार, अयोध्या, ऋषिकेश बनारसका विभिन्न शैक्षिक संस्थामा सैयौ विद्यार्थीले पूर्व मध्यमा, उत्तर मध्यमालगायत तह उत्तीर्ण गरेका छन् ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया