एमआईटी जीएसएल नेपाल कार्यक्रमको यात्रा सुरु

 असार ८, २०७५ शुक्रबार २०:३२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सूचना प्रविधिमा आधारित आफ्ना नविन सोचहरुका साथ सफल उद्यमी बन्ने सपना बुनेका ३५ जना विद्यार्थीहरुले म्यासाच्युएटस् इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी), काठमाडौं विश्वविद्यालय र एनसेलको सहकार्यमा सञ्चालन भैरहेको एमआईटी ग्लोबल स्टार्टअप ल्याब्स् (जीएसएल) कार्यक्रममा आफ्नो यात्रा सुरु गरेका छन् । 
 
काठमाडौं विश्वविद्यालयका विद्यार्थी तथा विश्वविद्यालयको आल्मुनाईका १५० जना प्रतिस्पर्धी आवेदकहरु मध्येबाट छानिएका यी ३५ सहभागी विद्यार्थीहरु डिजिटल स्टार्टअप निर्माणका लागि आवश्यक कौशलहरु सिक्न अहिले सप्ताहव्यापी लामो आवासीय शिविरमा रहेका छन् । 

विद्यार्थीहरुलाई एमआईटीका चार जना प्रशिक्षकले परामर्श दिइरहेका छन् र उनीहरुले प्रोग्रामिङ् ल्याङ्गवेज र उद्यमशीलतासम्बन्धी एमआईटीको अद्वितिय पाठ्यक्रम अन्र्तगत आफ्नो कौशल विकास गरिरहेका छन् । विद्यार्थीहरुलाई आफ्नो नवीन सोच तथा विचारलाई व्यवहारिक रुपमा स्टार्टअपमा बदल्नका लागि मद्दत पुर्याउन प्रशिक्षणमा विस्तृत प्राविधिक पाठ्यक्रम, बजार अनुसन्धान, समूहको विकास, आईडियाको प्रस्तुति, बिजिनेस मोडल कार्यान्वयन,  गेष्ट लेक्चर, नेटवर्किङ कार्यक्रमलगायतका विविध विषयवस्तु समावेश गरिएका छन् । 

‘पाठ्यक्रम चाखलाग्दो छ र हालसम्मको सिकाई एकदमै फलदायी रहेको छ । यो केवल लेक्चर लिने जस्तो मात्र छैन, यहाँ काम गरेर नै सिकिन्छ भन्ने मान्यताबाट नयाँ अनुभव प्राप्त भैरहेको छ । यसले मलाई स्टार्टअप्स र प्रविधिमा कसरी काम गर्ने बुझ्न सहयोग गरिरेहको छ’, सहभागी विद्यार्थीहरुमध्येका एक सुजय हाडाले भने ।   

विश्वकै ख्यातिप्राप्त विश्वविद्यालय एमआईटीले आफ्नो प्रत्यक्ष उपस्थितिमा सञ्चालन गर्ने योे जीएसएल कार्यक्रम विकासशील अर्थतन्त्रहरुमा प्रविधिमा आधारित उद्यमीहरुलाई सबल बनाउन तथा स्टार्टअपहरुको विकासका लागि आवश्यक अनुकल पारिस्थितिक प्रणालीको सिर्जना गर्न सफल कार्यक्रमका रुपमा चिनिन्छ । विगत १८ वर्ष देखि यो कार्यक्रमले दक्षिण एसियाको भारत र श्रीलंकालगायत विश्वका विभिन्न २५ राष्ट्रहरुमा प्रविधिमा आधारित युवा उद्यमीहरुको प्रवर्धन गर्दै आर्थिक विकासमा समेत योगदान पु¥याउँदै आएको छ । 

‘एमआईटीमा पढ्ने मेरो सपना थियो । प्रतिभाशाली प्रतिस्पर्धीहरु माझबाट छानिएर यस कार्यक्रममा सहभागी हुने मौका पाएकोमा म एकदमै खुसी छु । एमआईटी जीएसएललाई नेपालमा ल्याएकोमा र मेरो सपना साकार पारिदिएकोमा म एनसेललाई धन्यवाद दिन चाहन्छु’ अर्का सहभागी विद्यार्थी रोनेश श्रेष्ठले भने । 

एक हप्ता लामो गहन सिकाईपश्चात सहभागीहरु ११ वटा समूहमा विभाजित हुनेछन् र आफ्नो स्टार्टअप आईडियामा संयुक्त रुपमा काम गर्नेछन् । हाल सहभागीहरु आवासीय शिविरमा नै रहेकाले उनीहरु एक अर्कासँग परिचित भइसकेका छन् । उनीहरु सँगै प्रशिक्षणमा भाग लिन्छन्, आफ्ना आईडियाका बारेमा खुलेर छलफल गर्छन् र आफ्ना स्टार्टअपको सम्भावित व्यावसायिक योजनाका ढाँचा तयार पारिरहेका छन् । ‘हामीले आ—आफ्ना रुचीका क्षेत्रहरु खुलाई सकेका छौं । केही सहभागी साथीहरुले मेरो रुचीको क्षेत्रमा चाख राख्नु भएकोले म उहाँहरुसँग समूह गठन गर्नका लागि कुरा गर्दैछु । मेरो विज्ञता मार्केटिङ्मा हो, त्यसैले प्रविधिक रुपमा पोख्त सहभागीसँग टिम बनाउन खोजिरहेकी छु’, अर्का सहभागी दिपाली भट्टराईले भनिन् ।

आवासीय शिविरपश्चात विद्यार्थीहरु आफ्ना नियमित जीवनमा फर्कनेछन् । आफ्नो दैनिकी व्यवस्थापन गर्दै उनीहरु हरेक दिन इन्क्युबेसन सेन्टरमा समूहमा भेट गर्नेछन् र आफ्नो  आईडियामा काम गर्नेछन् । एनसेलले सहयोग गरेको यो इन्क्युबेसन सेन्टरमा उनीहरुलाई काम गर्न आवश्यक सबै सुविधाहरु उपलब्ध हुनेछ । विद्यार्थीहरुको सहयोगको लागि एमआईटीका प्रशिक्षकहरु पनि हरेक समय उपलब्ध हुनेछन् । 

यो चरणको सामूहिक सिकाईमा विद्यार्थीहरुले आफ्नो प्राेडक्ट विकास गर्नेछन्, त्यसको सफल संचालनको लागि बिजिनेश मोडेल र योजना तयार पार्नेछन् र तिनलाई परिक्षण गर्दै प्राप्त सुझाव बमोजिम थप काम गरी प्रडक्ट प्रोटोटाइप तयार पार्नेछन् । कार्यक्रमको अन्तिम दिन अर्थात साउन १७ गते ‘डेमो डे’ आयोजना हुनेछ र त्यस दिन विद्यार्थी समुहहरुले आ—आफ्ना प्रोटोटाइप निर्णायक मण्डल सामु प्रस्तुत गर्नेछन् ।  

प्रविधिमा आधारित युवा उद्यमीहरुको प्रवर्धनको निमित्त एनसेलको सामाजिक उत्तरदायित्व पहल अन्तर्गत एमआईटी, काठमाडौं विश्वविद्यालय र एनसेलको सहकार्यमा एमआईटी जिएसएल कार्यक्रम नेपालमा पहिलो पटक भइरहेको हो ।
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया