सर्खार, गाउँगाउँमा सिंहदरबार पुग्यो भनेको यही हो ?

 फागुन ७, २०७५ मंगलबार १५:२:१ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – आज ६९औँ प्रजातन्त्र दिवस । देशमा राजनीतिक परिवर्तन आएको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशमा ठूला–ठूला राजनैतिक परिवर्तन भए । राजनैतिक नेतृत्वले पनि अब देश समृद्धिको बाटोमा हिँडिसक्यो भन्छन् । 

तर बझाङको साइपाल गाउँपालिका वडा नम्बर २ र ३ का बासिन्दालाई भने एउटा झोलुङ्गे पुल मात्रै बनाइदिए प्रजातन्त्र आएको आभाष हुन्थ्यो । थरुनी खोलामा बगेर ज्यान गुमाउन नपरे लोकतन्त्रको आभाष हुने थियो ।

२०७४ साल असार २२ गते । बिहानैदेखि सिमसिम पानी परेको थियो । माइती आएकी साइपाल गाँउपालिका–२, कि सिर्जना बोहराले पानी रोकिएला र घर जाउँला भन्ने सोचिन् ।  बर्खाको समयमा सोचेजस्तो कहाँ हुन्छ र ? असारे झरी रोकिँदै रोकिएन । झरी नरोकिएपछि उनकी आमा मागी बोहरा र बुबा दलजित बोहराले छोरीलाई घर पठाउने निर्णय गर्नुभयो । झरी परेका कारण केहीलाई प्लाष्टिक र केहीलाई छाताको जोहो गरियो । सिर्जनाका लागि अन्नी (मिठो खानेकुरा) पकाएर माइतीबाट बिदाइ गरियो । सिर्जनालाई घर पुग्न झण्डै एक दिनै लाग्थ्यो ।

बर्खाको समय भएका कारण एक्लै आवतजावत गर्न पनि निकै सकस भएपछि साथमा अन्य मान्छे पनि जानु पर्ने भयो । दिदीलाई घरसम्म छाड्नका लागि सृजनाको सहोदर भाइ १४ वर्षीय लोकेन्द्र बोहरा र अन्य छिमेकी भाइहरु १७ वर्षीया धिरेन्द्र बोहरा र १० वर्षीया उज्ज्वल बोहरा बाँच्चौका गाँउ पुगे । २ दिन  दिदी सिर्जनाको घरमा नै बसे । तेस्रो दिन असार २४ गते तीनभाइ दिदीसँग बिदा मागेर घरको बाटो लागे ।

झरी उस्तै थियो । वडा नम्बर ३ र २ को बीचमा पर्ने थरुनी खोला उर्लिएको थियो । खोला तर्नका लागि सानो काठको मुढा बिछ्याइएको थियो । स्थानीय बासिन्दाहरुले निर्माण गरेको काठे पुल पनि खोलाको पानीले हल्लाइरहेको थियो । खोला वारिपारि निर्माण गरेका पर्खालहरु पानीको बेगले भत्कने खतरा भैसकेको थियो ।  

काठेपुल खोलाले बगाइहाल्छ भन्ने सोच भएपछि तीनै जना हतारहतारमा त्यही काठे पुलमा तर्न खोजे । खोलाले काठे पुलसँगै तीनै जनालाई बगायो । असार २४ गते काठे पुल (साँगो) सँगै खोलाले बगाएर बेपत्ता भएका उनीहरुको अहिलेसम्म अत्तोपत्तोसमेत लागेको छैन । साइपाल गाँउपालिका–२, कै  कक्षा १० मा अध्ययनरत धिरेन्द्र बोहरा, कक्षा ८ मा पढ्ने उज्ज्वल बोहरा र लोकेन्द्र बोहरा बेपत्ता भएपछि गाउँ नै शोकमा डुबेको थियो ।  

यस्तै २०७१ सालमा असारको अन्तिम सातामा यार्सागुम्बा संकलन गरेर घर फर्कने क्रममा जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलासका ३ जना पनि त्यही थरुनी खोलामा बगेर बेपत्ता भएका थिए । जसमा २९ वर्षीय सुवन सिंह , २८ वर्षीय महेश सिंह र ४२ वर्षीय सुन्त शाही रहेका थिए । 

त्यसपछि उनीहरुको खोजीकार्य भयो तर महिना दिनसम्म खोजी गर्दा समेत उनीहरु नभेटिएको स्थानीय बासिन्दा सत्य सिंहले बताउनुभयो । स्थानीयहरु ज्यानको बाजी लगाएर यहाँका खोला तर्छन् । २०७५ साल वैशाख ९ गते राम खोलाले बगाएर साइपाल गाँउपालिकाका २१ वर्षीय  भिक्कु बोहराले समेत ज्यान गुमाउनुभएको थियो ।

बर्खाको समयमा खोला तर्न नसकेका कारण एक वर्ष पहिला साइपाल गाँउपालिका वडा नम्बर ५ कि महिला स्वास्थ्य स्वयंसेविका  बाटु बोहराले समेत ज्यान गुमाउनुपरेको स्थानीय महिला स्वास्थ्य स्वयम् सेविका दिपा बोहराले बताउनुभयो । उहाँका अनुसार बाटुलाई घरमा सुत्केरी हुन गाह्रो भएपछि जिल्ला अस्पताल लगियो । लैजाँदै गर्दा बाटोमा पर्ने थरुनी खोला तर्ने क्रममा बच्चा र आमा दुइटैको ज्यान गएको थियो । 

यस्तै धुलीकी कन्थु देवी बोहोरा बिरामीले थला पर्नुभएको थियो । अस्पताल जाने बीच बाटोमा उर्लँदो खोला र तर्नका लागि पुलको व्यवस्था नभएपछि जाने कि नजाने भन्ने दोधारमै लामो समय बित्यो । पछि ज्यानको बाजी लगाएर जसोतसो खोला त तारे तर समयमै उपचार नपाउँदा र पीडा सहन नसकेर कन्थु देवीले पनि बीच बाटोमै ज्यान गुमाउनुभयो ।

‘विभिन्न समयमा यो खोलामा ज्यान गुमाउनेहरु धेरै छन्’, धुली, वडा नम्बर ५ की महिला सदस्य अम्मरा बोहराले बताउनुभयो, ‘५ बर्ष अगाडि पनि तल्कोट गाँउपालिकाका ३ जनाको यसै खोला तर्ने क्रममा बगेर ज्यान गएको थियो ।’

यता जिल्ला प्रहरी कार्यलयको तथ्याङ्कमा भने पाँच वर्ष यता यहाँका खोलाहरुमा परेर ७ जनाको ज्यान गएको उल्लेख छ । प्रहरी निरीक्षक जनक धामीका अनुसार साइपाल गाँउपालिका विकट क्षेत्र भएका कारण पनि यस्ता घटनाहरु सबै जानकारीमा नआउने बताउनुभयो ।  

यहाँका स्थानीय बासिन्दाको आवतजावत गर्ने मुख्य बाटोमै पर्छन् थरुनी र राम खोला । तर यी खोलामाथि पुल नभएका कारण बर्खाको समयमा अप्रिय घटना घट्ने गरेका छन् । तर पनि सरोकारवाला निकायले चासो नदिएको स्थानीयवासी बताउनुहुन्छ ।

 

बझाङ जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरुले चुनावको समयमा आफ्नो प्रमुख एजेन्डा नै चैनपुर ताक्लोकोट सडक खण्ड र यहाँका खेला नालामा झोलुङ्गे पुल निर्माण गर्ने थियो । तर चुनाव जितेर गएपछि उनीहरु फर्केर एकदिन पनि गाउँमा नआएको स्थानीय वासीहरुको गुनासो छ । 

साइपाल हिमाल चढ्ने पर्यटकहरुका लागि र सदरमुकाम तथा अन्य ठाँउ आवतजावत गर्ने मुख्य नाका नै यहि थरुनी खोला हो । यतिमात्र नभएर त्यहाँका स्थानीयहरुले घाँसदाउरा देखि मेलापात गर्ने प्रमुख बाटोमा पर्छ यो खोला । बुढापाका र बालबालिकालाई त हिउँद बर्खा बाह्रै महिना यहाँ यात्रा गर्न चुनौतीपूर्ण हुन्छ । यहाँका स्थानीयहरुले प्रयोग गर्ने राम खोला र थरुनी खोलामा झोलुङ्गे पुल नहुँदा आफूहरुले निकै नै दुःख खेप्नुपरेको स्थानीय लक्ष्मीदेवी बुढा बताउनुहुन्छ। 

यी दुइटै खोलामा झोलुङ्गे पुलको अति आवश्यकता भए पनि गाँउपालिकाको बजेट मात्रले नपुग्दा पुल निर्माण गर्न नसकेको साइपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताउनुभयो । प्रदेश र केन्द्रीय सरकारसँग समन्वय गरेर काम गर्नको लागि आफूसँग पहुँच नभएका कारण प्रदेश र केन्द्रीय सरकारले कुनै चाँसो नदेखाएको उहाँले आरोप लगाउनुभयो ।

साइपाल गाउँपालिकाको जनसंख्या झण्डै साढे चार हजार जति छ । सामान्य मानिसलाई सदरमुकाम चैनपुरबाट हिँडेर साइपाल गाँउपालिकासम्म पुग्न तीन दिन लाग्छ । सामान ढुवानी गर्न पनि निकै नै समस्या छ । सडक सञ्जालसँग गाँउपालिका जोडिएको छैन । बाटो पनि निकै अप्ठ्यारो छ ।

 

खच्चड र भेडामा सामान ढुवानी गर्नुपर्ने भएका कारण विकास निर्माणका काममा निकै चुनौती भए पनि यस विषयमा आफूहरु गम्भीर भएर लागिपरेको गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो । पुल निर्माण गर्न सके साइपाल गाउँपालिकामा बल्ल नयाँ युगले प्रवेश पाउने आशा गर्छन् यहाँका स्थानीयहरु ।

उनीहरु भन्छन्, 'प्रजातन्त्र आयो, लोकतन्त्र आयो, गाउँमै सिंहदरबार आयो भन्छन्, तर खै कहाँ आयो ? सायद पुल नभएर होला साइपालमा सिंहदरबार आइनपुगेको ।'
 

अन्तिम अपडेट: चैत ४, २०७५

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • हरिराज अधिकारी

    Feb. 20, 2019, 12:05 p.m.

    सारै मन रोयो । यस्ता कुरा ती सिंहदरबारमा बस्नेलाई थाहा छैन होला र? हुन त यस्ता कामबाट कमिसन नआउने भएर हो की चासो नदिएको? आफु त्यहा कहिल्यै जानु पर्दैन, किन बनाउनु पर्यो त्यहाँ पुल । धन्य हामी सोझा नेपाली जनता, चुनावमा भोट हालेर भ्रष्टाचार गर्नलाई लाइसेन्स दिएकै छौ, हाम्रा दु:खमा चासो किन पो दिनु पर्यो र?

  •  0 Reply

तपाईको प्रतिक्रिया