शाहरुख खानले पाकिस्तानलाई सहयोग गरेको झूटाे समाचार सामाजिक सञ्जालमा भाइरल

 फागुन ७, २०७५ मंगलबार १७:२१:४० | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेता शाहरुख खान धर्मका कारण बेला बेलामा सामाजिक सञ्जालमा ट्रोल भइरहन्छन् । शाहरुख खानविरुद्ध कैयौं गलत समाचारहरु सामाजिक सञ्जालमा भाइरल हुने गर्छन् । हालै शाहरुख खानको एउटा झूटाे भिडियो सामाजिक सञ्जालमा भाइरल भयो जसमा उनले पाकिस्तानलाई ४५ करोड रुपैयाँ सहयोग गरेको बताइएको थियो । 

यो समाचार पाकिस्तानी आतंककारीहरुको आतंकवादी हमलामा भारतका ४४ जना सैनिक जवानहरु शहीद भएकाे बेला भाइरल भएकाे थियाे । सम्पूर्ण भारतीय नागरिकहरु पुलवामा हमलापछि निकै नै आक्रोशित भएका बेला शाहरुख खानले पाकिस्तानलाई आर्थिक सहयोग गरेको झूटाे भिडियो एकाएक भाइरल भयो । शाहरुख खानका फ्यानहरु शाहरुख खानको बचाउ गर्दै उनको बारेमा गलत अफवाह फैलाउनेहरुको आलोचना गर्न एकजुट भए ।

शाहरुख खानका फ्यानहरुले शाहरुख खानले भारतलाई गौरवान्वित गरेको भन्दै ट्वीटरमा StopFakeNewsAgainstSRK ह्यासट्याग शुरु गरेका छन ।

शाहरुख खानविरुद्ध यस किसिमका गलत समाचार सार्वजनिक भएको यो पहिलो पटक भने होइन । शाहरुख खानको देशभक्ति माथि भारतमा बेला बेला प्रश्न उठाइने गरिन्छ । कैयौं पटक विभिन्न व्यक्ति, संगठन र राजनीतिक पार्टीका नेताहरुले शाहरुख खानको धर्म र भारत प्रतिको उनको सद्भाव र निष्ठामाथि प्रश्न उठाउने गरेका छन् । 

तर यस पटक शाहरुख खानका फ्यानहरु मात्रै नभइ ‘सिटी लाइट्स’ जस्तो फिल्म निर्माण गरिसकेका फिल्म निर्माता हंशल मेहता पनि शाहरुखको समर्थनमा उभिएका छन् ।

पुलवामा हमलापछि बलिउड अभिनेता अमिताभ बच्चन, अक्षय कुमार, सलमान खान लगायतका कलाकारहरुले शहिद परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरिसकेका छन् । तर शाहरुख खानले त्यस्तो कुनै पनि सार्वजनिक बयान नदिएको भन्दै शाहरुख खानलाई देशद्रोही भनेर उनी विरुद्ध गलत र भ्रामक समाचारहरु सामाजिक सञ्जालमा फैलाएका थिए । 

आफूले दान गरेको कुरालाई सार्वजनिक गर्न नचाहेको कुरा शाहरुखले आफ्ना अन्तरवार्तामा भन्दै आएका छन् । उनका फ्यानहरुले केही व्यक्तिहरुले शाहरुख खानको यस कुराको फाइदा उठाउँदै उनी विरुद्ध भ्रामक समाचार फैलाइएको आरोप लगाएका छन् । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया