प्रधानमन्त्रीले भने: पश्चिम सेती मेरै कार्यकालमा अघि बढ्छ

 फागुन ७, २०७५ मंगलबार १८:८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

डडेलधुरा - प्रधानमन्त्री केपी शर्मा ओलीले ७ सय ५० मेगावाटकाे पश्चिम सेती आयाेजना आफ्नै कार्यकालमा निर्माण सुरु गर्ने घाेषणा गर्नुभएकाे छ । 

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको विद्युत आपूर्ति व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन डडेलधुराको स्याउलेमा निर्माण गरिएको सब-स्टेसनको उद्घाटन गर्दै ओलीले यस्ताे घाेषणा गर्नुभएकाे हाे । 

आफ्नो पहिलो कार्यकालमा सब-स्टेसनको ठेक्का प्रक्रिया सुरु भएको र अहिले सम्पन्न भएर उद्घटन भएकाे भन्दै उहाँले विद्युत् नपुगेको क्षेत्रमा पनि व्यापक रुपमा विद्युतीकरण गर्न पश्चिम सेतीकाे आयाेजना अघि बढाउने बताउनुभयाे । 

प्रधानमन्त्री ओलीले मंगलबार अमरगढी नगरपालिका वडा नं. १ दुधकाँडेमा नेपाल सरकारको लगानीमा निर्माण भएको १३२/३३ केभी सब-स्टेशनको उद्घाटन गर्नुभएकाे हाे । 

सब-स्टेसन सञ्चालनमा आएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आगामी दिनमा निर्माण हुने जलविद्युत त्यसैमार्फत राष्ट्रिय प्रसारण लाइनमा जाेड्न सकिने छ ।   

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले सब-स्टेसनको निर्माणले सुदूरपश्चिमको ऊर्जा क्षेत्रको लागि महत्वपूर्ण पूर्वाधार तयार गरेको बताउनुभयाे । 

दार्चुलाकाे ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको विद्युत स्याउले सब-स्टेशनबाटै डडेलधुरा, बझाङ, दार्जुला, डोटी, बैतडी र अछाममा वितरण भइरहेको छ । 

यसअघि नेपाल विद्युत प्राधिकरणले चमेलियाको विद्युत दार्चुलाको बलाँचबाट १३१ किलोमिटर १३२ केभी प्रसारण लाइनमार्फत कैलालीको अत्तरिया पुर्‍याइ फेरि करिब एक सय किलोमिटर ३३ केभी फिडरमार्फत ती जिल्लामा आपूर्ति गर्दै आएको थियो । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्याउले सबस्टेसन सञ्चालनमा आएपछि सुदुपश्चिमका पहाडी जिल्लाहरुमा विद्युत प्रवाहको गुणस्तर बढेकाे बताउनुभयाे । 

३० मेगावाटको चमेलिया र नौगाड जलविद्युत केन्द्रबाट उत्पादन भएको करिब ३८ मेगावाट विद्युतमध्येबाट स्याउले सब-स्टेसनमार्फत डडेलधुरा, बैतडी, बझाङ, अछाम, डोटी र बाजुराका करिब १२ लाख जनतालाई नियमित र भरपर्दो विद्युत् आपूर्ति गरी बाँकी राष्ट्रिय प्रसारण लाइनमा प्रवाह भइरहेको उहाँले जानकारी दिनुभयाे । 

सब-स्टेशन अहिले आफ्नो क्षमताको करिब ३० प्रतिशत मात्रै संचालनमा भइरहेकाले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा खुल्ने उद्योगलाई पर्याप्त मात्रामा विद्युत् आपूर्ति गर्न सकिने प्राधिकरणले जनाएको छ । 

सब-स्टेसनको निर्माण आर्थिक वर्ष ०७२/७३मा सुरु गरिएको थियो । प्रसारण लाइनको निर्माणका लागि ८ पुस २०७२ मा इष्ट इन्डिया उद्योग/वाइबा इन्फ्राटेक जेभीसँग ठेक्का सम्भौता भएको थियो । कम्पनीले ८ असार २०७५ मा निर्माण सकेपछि सबस्टेसन संचालनमा आएको थियो । 

जग्गाको मुआब्जा, नेपाल सरकारको ऋणको ब्याज र आयोजनाको प्रशासिनक खर्चसमेत गरी सब-स्टेसन ४५ करोड रुपैयाँमा निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ  ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया