आठौं राष्ट्रिय खेलकुद १३ औं सागको तयारी तीव्र पार्न सम्बन्धित निकायलाई निर्देशन

 फागुन ७, २०७५ मंगलबार १९:१९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले आठौं राष्ट्रिय खेलकुद र नेपालको प्रतिष्ठासँग जोडिएको १३ औं साग प्रतियोगिताको तयारी तीव्र पार्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्-राखेप र नेपाल ओलम्पिक कमिटीका पदाधिकारीसँगकाे छलफलपछि यस्तो निर्देशन दिइएको हो । समितिमा भएको छलफलमा सांसदहरुले खेलकुदमा भएको राजनीतिक करणलाई हटाउन र अहिले देखिएको विवादित संघहरुका विषयमा चासो राखेका थिए ।

यसैगरी नेपालीलाई खुशरी बनाउने खेलकूद भित्रको गलत प्रवृति अन्त्य गरि स्वच्छ र मर्यादित बनाउन सरोकारवाला निकायका योजना के छन् भन्ने सांसदहरुकाे जिज्ञासामा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले समग्र खेलक्षेत्रको बारेमा जवाफ दिनुभएकाे थियाे । उहाँले नेपालले अन्तर्राष्ट्रिय जगतमा पहिचान बनाउने अवसरको रुपमा १३ औं सागलाई लिएकाले सफलतापूर्वक सम्पन्न गर्नेगरी काम अघि बढेको जानकारी गराउनुभयाे ।

आठौं राष्ट्रिय खेलकुदको तयारी पनि अन्तिम चरणमा पुगेको बताउँदै उहाँले चैत मसान्तभित्र प्रतियोगिता जानकारी दिनुभयाे ।

यसैगरी नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालले अहिलेबाटै कामलाई गति दिन नसके पूर्वाधार तयार हुँदा पनि १३औं साग आयोजना नहुने तर्फ सचेत गराउनुभयाे । राखेपका सदस्य सचिव केशबकुमार विष्टले आठौं राष्ट्रिय खेलकुदको पूर्वाधार तयारीको काम चलिरहेकाले चाँडै पूरा हुने बताउनुभयाे ।

यसैगरी १३औं सागको उद्घाटनस्थलको रुपमा रहेको त्रिपुरेश्वरको दशरथ रंगशालाको काम पनि तीव्र गतिमा बढेकाले खरिद प्रक्रियामा देखिएको झमेलाका कारण अप्ठेरो परेको उहाँले गुनासो गर्नुभयाे ।

सांसद् तथा सरोकारवाला निकायका प्रतिनिधिको जवाफ सुनिसकेपछि समितिकी सभापति जयपुरी घर्तीले नेपाली खेलकुदको विकासका लागि आफूहरु मिलेर काम गर्न तयार रहेको बताउनुभयाे । उहाँले प्रतियोगिताको मिति तत्काल तोकेर काम अघि बढाउन पनि निर्देशन दिनुभयाे ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया