सर्बियालाई २–१ ले हराउँदै स्विट्जरल्याण्डको नकआउट चरण पुग्ने बाटो बलियो

 असार ९, २०७५ शनिबार ६:३०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्बियालाई पराजित गर्दै स्विट्जरल्याण्डले फिफा विश्वकपको नकआउट चरणको आशा बलियो बनाएको छ ।

समूह ईको दोस्रो खेलमा एक गोलले पछि परेको अवस्थामा स्विस टोलीले नतिजा उल्टाएको थियो । स्विट्जरल्याण्डको जितमा जेर्दन शाकरीको गोल निर्णायक बनेको थियो ।

कलिनिङगार्ड मैदानमा भएको खेलमा सर्बियाले लिएको सुरुवाति अग्रतामा ग्रानिट जाका र शाकिरीले दोस्रो हाफमा गोल फर्काएपछि तीन अंक खोस्न सफल भएको हो । खेलको पाँचौं मिनेटमा नै अलेक्सान्दर मित्रोभिकले गोल गर्दै सर्बियालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा सर्बियाले अग्रता जोगाए पनि ५२औं मिनेटमा जाकाले गोल गर्दै खेल बराबरीमा पुर्याए । सर्बियाका डिफेन्डरबाट रिबाउन्ड आएको बललाई जाकाले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।

९०औं मिनेटमा जेर्दन शाकिरीले वान भर्सेस वानको स्थितिमा उत्कृष्ट गोल गर्दै स्विट्जरल्याण्डको जित सुनिश्चित गराए । खेलमा सर्बियाले केही उत्कृष्ट मौका गुमाएको थियो ।

पहिलो खेलमा ब्राजिललाई बराबरीमा रोकेको स्विट्जरल्याण्डको समूहमा चार अंक भएको छ भने सर्बियाको तीन अंक छ । यसै समूहमा ब्राजिलले पनि चार अंक बनाएको छ ।

जित हात पारेको भए नकआउट चरणमा पुग्ने सर्बियाको नकआउट यात्रा अब कठिन बनेको छ । अन्तिम खेलमा उसले बलियो प्रतिद्वन्द्वी ब्राजिलको सामना गर्नु पर्नेछ भने स्विट्जरल्याण्डले तुलनात्मक रुपमा कमजोर कोस्टारिकासँग खेल्नेछ ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया