हिमाललाई औधी माया गर्ने पीके, जसले २० वर्षदेखि हिमाल सफा गरिरहेका छन्

 फागुन ८, २०७५ बुधबार ९:३६:९ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

ताप्लेजुङ मैयाँखोलाका पीके शेर्पाले सानै उमेरमा थुप्रै डोका र थुन्से बुन्नुभयो । चोयाका लागि निगालो काट्दै गर्दा उहाँको बाल मस्तिष्कले सोच्यो, ‘काट्दाकाट्दै निगालो सकियो भने डोको र थुन्से केबाट बुन्ने ?’ लहडमै उहाँले बारीका कान्लामा थुप्रै निगालोको बिरुवा रोप्नुभयो । 

प्रकृति संरक्षणको चेत उहाँमा १० वर्ष नपुग्दै विकास भैसकेको थियो । सानै उमेरमा  नै शेर्पा घर वरिपरि बगैंचा बिस्तार र सरसफाइमा खप्पिस भइसक्नुभएको थियो । 

अहिले हिमाली क्षेत्रको सरसफाइ तथा संरक्षण अभियानकर्मीको पहिचान बनाएका पीके शेर्पा भन्नुहुन्छ, ‘बाल्यकालमा उब्जिएको प्रकृतिको त्यही मायाले आजसम्म हिमाली क्षेत्रको सरसफाइ र संरक्षणका लागि खट्ने शक्ति मिलिरहेको छ ।’ पर्यटन व्यवसायी शेर्पा फोहोरको बोरा काँधमा हालेर हिमालका काखमा घुम्ने मात्र हैन राष्ट्रिय/अन्तर्राष्ट्रिय मञ्चमा गएर विश्व समुदायलाई झक्झकाउने पनि गर्नुहुन्छ । 

उहाँ कक्षा ८ मा पढ्दापढ्दै २०५२ सालमा काठमाण्डौ आउनुभयो र पर्यटकको भारी बोकेर हिमालतिर जान थाल्नुभयो । शेर्पाले हाँस्दै भन्नुभयो, ‘गाउँमा जानेकै भारी बोक्ने थियो, त्यही काम राम्रोसँग गरेँ ।’ शेर्पा विदेशी पर्यटकको भारी बोकेर सगरमाथा क्षेत्र, अन्नपूर्ण क्षेत्र, मुक्तिनाथ, लाङटाङका विभिन्न स्थानमा पुग्नुभयो । 

आफन्तको साथ लागेर काठमाण्डौ आएका शेर्पा सुरुमा बेवारिसेजस्तै बन्नुभयो । कैयौँ छाक भोको परेपछि गलैंचा कारखानामा काम गर्न पुगेका शेर्पाले औपचारिक अध्ययनलाई पनि अघि बढाउनुभयो । क्याम्पस नगइकन स्नातकसम्मको अध्ययन पूरा गरेका शेर्पा सरसफाइ र प्रकृति संरक्षणको विषयमा प्रतिष्ठित व्यक्तिमाझ कक्षा चलाउनुहुन्छ । 

जुन काम गर्‍यो त्यसलाई इमान्दारिताका साथ गर्ने र त्यसको विभिन्न पाटो केलाउने शेर्पा काममा चाँडोचाँडो बढुवा हुँदै जानुभयो । भरियाबाट स्पेयर, भान्छाको काम, भान्छे हुँदै सहायक पथप्रदर्शक अनि पूर्ण पथप्रदर्शक बनेका शेर्पा हिमाल चढ्ने तालिमहरु पनि लिनुभयो । अन्त्यमा आफै सगरमाथाको शिखरमा पुग्नुभयो । विभिन्न आरोहणमा सम्पर्क अधिकृतसम्मको अनुभव उहाँले बटुल्नुभएको छ । 

व्यवसायमा सफल बन्दै गर्दा शेर्पालाई सानैमा निगालो रोपेर सुरु भएको संरक्षण चेत र घर वरिपरि चिटिक्क बनाएर पलाएको सरसफाइको चेतले झक्झकाइरहन्थ्यो । भरिया बनेर हिमालतिर जाँदादेखि नै भारीसँगै फोहोर संकलन गर्ने झोल समेत बोक्ने र दिनभर संकलन गरेको फोहोर राति बास बस्ने ठाउँमा व्यवस्थापन गर्नुहुन्थ्यो । 

सन् २०१० र २०११ मा भने शेर्पाले सगरमाथामा सरसफाइ अभियान नै चलाउनुभयो । त्यसबेला सगरमाथा क्षेत्रबाट झण्डै आठ सय किलो फोहोर र पाँचवटा मृत मानव शरीर व्यवस्थापन गरेको उहाँले बताउनुभयो । सगरमाथा क्षेत्रमा संकलन गरेको नकुहिने १५ बोरा फोहोर उहाँले काठमाण्डौको कपनमा रहेको आफ्नै घरमा थुपारेर राख्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘यो फोहोरबाट विभिन्न सामान बनाएर उपहार बाँड्ने सोच छ ।’

घरबाट चार माना मकै लिएर हिँडेको ठिटो वर्ल्ड रेकर्डको तयारीमा

ट्रेकिङ उहाँको व्यवसाय हो । उहाँले असीमित प्राकृतिक अवसर नेपाल नामक संस्थामार्फत हिमालमा हिउँको संरक्षणका लागि जनचेतना अभिवृद्धि र हिमाली क्षेत्रको सरसफाइको काम गर्दै आउनुभएको छ । महिलाहरुले घरको मात्रै होइन, सगरमाथाको पनि सफाइ गर्न सक्छन् भन्ने सोचका साथ आगामी मे महिनामा हुने एभरेष्ट क्लाइम्बर्स फर वुमेन कन्फिडेन्स एण्ड क्लिनिङ क्याम्पेनको पनि उहाँले नै नेतृत्व गर्दै हुनुहुन्छ । 

जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि समेत सचेतनामूलक कार्यक्रम गर्दै आउनुभएका पीके भन्नुहुन्छ, ‘हाम्रो गौरव हाम्रो शान, जीव प्राणीका लागि हिउँ बचाउँ’ भन्ने नारासहित हिमाल जोगाउने अभियानमा अघि बढ्ने छु । साथै हिमालको वकालतमा लाग्ने छु । सायद, मेरो जीवन यसैमा व्यतित हुन्छ ।’ शेर्पा भन्नुहुन्छ, ‘मेरो विशेष चासो हिमाल सफाइमा हो । ‘

सेतो हिउँमाथि फालिएका फोहोर काँधमै बोकेर उहाँ तलतिर झर्नुहुन्छ । दुई दशकदेखि नियमित हिमाल सफाइ गरिरहेका शेर्पाको जीवनी नीजि विद्यालयको कक्षा ७ को किताब ‘मिठो नेपाली शृङ्खला’मा मा पढ्न पाइन्छ । चर्चाको पछि लाग्न मन लाग्दैन भन्ने पीके कहिले समूहमा त कहिले एक्लै पनि हिमालतिर सरसफाइमा जुटिरहनुहुन्छ । 

पराईको मात्र आँखा परेकी हिमाली सुन्दरी !

उहाँलाई हिमालको औधी माया लाग्छ । उहाँ भन्नुहुन्छ, ‘हिमाल शेर्पाहरुको भगवान् हो र जीवनदाता पनि, त्यसैले हिमाल फोहोर हुँदा साह्रै चित्त दुख्छ ।’ उहाँले फोहोरकै प्रतिकात्मक उपहार बनाएर सरकारलाइ पनि दिनुभएको छ । भन्नुहुन्छ, ‘हिमालको फोहोर उपहार बनाएर हिमाल सफाइमा चनाखो बन्न सरकारलाई दबाब दिएको हो । 

उहाँको नेतृत्वमा सगरमाथा, कञ्चजंघा हिमाललगायत धेरै हिमालहरुमा सफाइ अभियान नै चलेको छ । यसका लागि विभिन्न संघसंस्थाबाट सहयोग लिएर साथीहरु जुटाएर हिमाल सफा गर्न शिखरतर्फ जाने गरेको शेर्पा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हाम्रा हिमालमा मान्छे पठाएर पैसा कमाउने मात्र होइन, त्यसको सफाइमा पनि विशेष ध्यान दिनुपर्छ नभए सेतो हिमालको सुन्दरता गुम्न समय लाग्दैन ।’

हिमाल सफाइ कार्यक्रम गर्न केही साथीसँग मिलेर पीकेले सन् २०१० मा ‘फ्रेन्ड्स अफ सेभ द हिमालय’ नामक संस्था खोल्नुभएको छ । यही संस्थामार्फत विभिन्न हिमालको सरसफाइ गर्दै आएका शेर्पा भन्नुहुन्छ, ‘हिमालमा अक्सिजनको सिलिण्डर, किचनको सामान, कपडादेखि लिएर मानिसको मृत शरीर पनि हुन्छ, मानिस हिमालमा मर्‍यो भने उसको मृत शरीर निकाल्न धेरै खर्चिलो हुने भएकोले आरोहण धेरै हुने हिमालहरुमा थुप्रै मृत शरीर रहेका छन्’

सन् २०१० मा म्याराथन धावकको कम्मरमा एक/एक किलो फोहोरको झोला बाँधिदिएर नाम्चेसम्म ल्याउने काम पनि उहाँकै सक्रियतामा भयो । 

हिमालले खोसेको खुसी खोज्न हिमालमै जाने तयारीमा दुई एकल महिला

हिमालतिर जाँदा उहाँ एक्लै भए पनि फोहोर टिप्दै हिँड्नुहुन्छ । कति विदेशीहरु समेत एक्लै टिपेर सकिन्छ भन्दै हाँसेको अनुभव उहाँसँग छ भने थुप्रै पटक हिमालतिर पुग्ने पर्यटकहरुले पनि उहाँसँगै फोहोर टिपेका छन् । कति ठाउँमा त स्थानीयबासीन्दाले पनि सहयोग गर्छन् ।  हिमालबाट काठमाण्डौ फर्कंदा उहाँसँग ल्याउन सक्नेजति फोहोरकै भारी हुन्छ ।  

हिमाल मात्र होइन, उहाँको टोलीले कयौंपटक ठमेल पनि सफा गरेको छ । तर आफ्नो जोड हिमाल सफाइ नै भएको शेर्पा बताउनुहुन्छ । 

जलवायु परिवर्तनबाट हुने खतरा रोक्नको लागि तथा अनुकूलताको व्यवहार गर्न हरेक व्यत्तिः सजग हुनुपर्ने शेर्पाको भनाइ छ । 

ताप्लेजुङका कमजोर आर्थिक अवस्थाका कारण भारी बोक्न हिमालतिर उकालो चढ्नुभएका शेर्पा अभावै अभावले पेले पनि संरक्षण र सफाइको काम कहिल्यै नछाडेको बताउनुहुन्छ । ४० वर्षीय शेर्पा हिमालमा गरिएको व्यवसायबाटै अहिले जिउन सकेको भन्दै अहिले त्यहाँ सरसफाइ र संरक्षणतर्फ लागेको बताउनुहुन्छ । 

धेरै खर्च हुने भएकाले एकल प्रयासमा हिमाल सफाइ अभियान चलाउन गाह्रो हुने उहाँको अनुभव छ । अब स्थानीय तहले जिम्मेवारी लिएमा केही सहज हुने भए पनि हिमालमा पुग्ने हरेक व्यक्ति सरसफाइप्रति सचेत नभई हिमाल सफा गर्न कठिन हुने शेर्पाको भनाइ छ । 

 

 

अन्तिम अपडेट: फागुन ३०, २०७५

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया