सुनको भाउ ५ वर्षपछिकै महंगो , नयाँ रेकर्ड बनाउने व्यवसायीकाे भनाइ

 फागुन ८, २०७५ बुधबार १०:५८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सुनको भाउ ५ वर्षपछिकै महंगो भएको छ । 

सुन आज तोलाको ६३ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । हिजो स्थिर रहँदै ६२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ बढेको हो । 

यसअघि २०७० साल भदौ १२ गते सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि घटेर तोलाको ४७ हजार रुपैयाँसम्म झरेको सुनको भाउ केही महिनादेखि बढेर आज २०७० साल भदौ १२ गतेकै मूल्य पुगेको महासंघका मुल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार चीन र अमेरिकाबिचको व्यापारिक तनाव र अमेरिकामा घोषणा गरिएको संकटकालका कारण डलर कमजोर भएपछि सुनमा लगानी गर्नेको संख्या बढे पनि भाउ महंगो भएको हो । 

हिजो प्रतिऔंस १३ सय २५ डलरमा कारोबार भएको सुनको भाउ आज १८ डलरले बढेर प्रति औंस १३ सय ४३ डलर कायम भएको उहाँले जानकारी दिनुभयो ।

अहिलेको अवस्था हेर्दा सुनको भाउले नयाँ रेकर्ड बनाउने देखिएको उहाँको भनाई छ । चाँदी भने आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ । 
 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया