वडाअध्यक्षले उपभोक्ता समितिकी महिला सदस्यलाई हेलमेटले ‘हाने’

 फागुन ८, २०७५ बुधबार ११:२३:४९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व –  आफ्नै पार्टीबाट निर्वाचित जनप्रतिनिधिबाट एक महिला कुटिएकी छिन् । रुकुम पूर्वको पूथा उत्तरगंगा गाउँपालिका वडा नं. ११ का वडाअध्यक्षले हेलमेटले हानेर महिलालाई घाइते बनाएका हुन् ।

वडाध्यक्ष जयकुमार बुढाले निर्माणाधीन भवनको चर्पीको विषयमा विवाद हुँदा निर्माण उपभोक्ता समितिकी महिला सदस्य जयपुरी बुढालाई कुटपिट गरेका हुन् ।

जयपुरी बुढाका भाइ लक्ष्मण बुढा मगरका अनुसार गएको आइतबार बिहान ११ बजे वडाध्यक्ष जयकुमार बुढा र निर्माण उपभोक्ता समिति सदस्य जयपुरी बुढाबीच विवाद भएको थियो । छलफलका क्रममा वडाध्यक्षले एक्कासि हेलमेटले टाउकोमा हानेर घाइते बनाएको लक्ष्मणले बताउनुभयो । गाउँपालिकाको ५ लाख बजेटमा निर्माण भइरहेको महिला भवनको चर्पीको खाल्डो स्टमेट अनुसार नभएको भन्दै वडाध्यक्षले हातपात गरेको पीडितले बताएका छन् ।  

‘वडाध्यक्षको आक्रमणबाट दिदीको टाउकोमा नीलडाम छ, आँखामा असर परेको छ’, जयपुरीका भाइ लक्ष्मणले भन्नुभयो, ‘आफ्नै पार्टीबाट निर्वाचित वडाध्यक्षले आक्रमण गर्दा दुःख लागेको छ ।’ अहिले रुकुमकोटमा रहेको अस्पतालमा उपचार गराइरहेको र न्यायका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा निवेदन दिएको उहाँले बताउनुभयो । 

वडाध्यक्ष जयकुमार बुढाले प्राविधिक स्टमेटअनुसार महिला र पुरुषका लागि छुट्टाछुट्टै कोठाको चर्पी निर्माण गर्नुपर्ने र खाल्डो पनि गहिरो हुनुपर्ने भए पनि त्यसो हुन नसकेकोमा आपत्ति जनाउँदा विवाद भएको तर हातपात नगरेको बताउनु भएको छ । 

विवादका क्रममा उपभोक्ता समितिका पदाधिकारीहरुले उल्टै आफूमाथि ढुंगामुढा गरेको आरोप लगाउँदै उहाँले आफू जोगिन खोज्दा कसैलाई धकेलिएको हुन सक्ने भन्दै आफ्नो बचाउ गर्नुभएको छ । वडाध्यक्षले उपभोक्ता समितिको मनपरिमाथि सरकारको तर्फबाट अनुगमन गर्दा उल्टै आक्रमण भएको भन्दै घटनामा आफ्नो संलग्नता रहेको अस्वीकार गर्नुभएको छ ।

विवाद इलाका प्रहरी कार्यालय तकसेरा हुँदै हाल जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वसम्म पुगेको छ ।

पीडित महिलाले आफूमाथि योजनाबद्ध आक्रमण भएको भन्दै क्षतिपूर्तिको माग गरेकी छिन् । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक योगेन्द्र खड्काले कुटपिटको उजुरी आएकोले आजै दुवै पक्षलाई बोलाएर छानबिन गरिने बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत ३, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया