थामखर्क विमानस्थलबाट नियमित उडान

 फागुन ८, २०७५ बुधबार १२:१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको थामखर्क विमानस्थलमा नियमित उडान सुरु भएको छ । 

खोटेहाङ गाउँपालिका–४, बड्कादियालेस्थित कालोपत्रे गरिएको थामखर्क विमानस्थलमा नेपाल एयरलाइन्सले बुधबारदेखि नियमित उडान सुरु गरेको थामखर्क विमानस्थलका स्टेशन इञ्चार्ज नरेन्द्र उदासले बताउनुभयो । 

परीक्षण उडानलगत्तै नेपाल एयरलाइन्सले हरेक शनिबार काठमाण्डौ–थामखर्क–काठमाण्डौ तथा बुधबार काठमाण्डौ–थामखर्क–विराटनगर र विराटनगर–थामखर्क–काठमाण्डौ उडान भर्ने जनाएको छ । कालोपत्रे गरिएको थामखर्क विमानस्थलमा नियमित उडान हुने भएपछि खोटेहाङ, जन्तेढुंगा र बराहपोखरी गाउँपालिकाका स्थानीय उत्साहित बनेका छन् । 

कालोपत्रेका विभिन्न चरणका काम सुरु गरिएसँगै २०७३ साल चैत्र १३ गतेदेखि उडान रोकिएको थामखर्क विमानस्थल कालोपत्रे भएपछि गत माघ २८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका हुन् । 

जिल्लाको दक्षिणी क्षेत्रका सर्वसाधारणलाई लक्षित गरेर २०५६ सालबाट उडान सुरु गरिएको विमानस्थल कालोपत्रे नहुँदा वर्षा याम लागेसँगै अवरुद्ध हुने गरेको थियो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया