‘जानी नजानी’को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

 फागुन ८, २०७५ बुधबार १२:४९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आउँदो चैत्र १ मा रिलिज हुने फिल्म ‘जानी नजानी’को क्यारेक्टर पोस्टर सार्वजानिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्ममा रहेका लिड कलाकार मनिष श्रेष्ठ , नम्रता श्रेष्ठ , सन्नी सिंहसँगै डेब्यू गर्ल निरिशा बस्नेतको क्यारेक्टरलाई प्रष्ट्याइएको छ ।

फिल्ममा मनिषले ‘देव’, निरिशाले ‘मीरा’, सन्नीले ‘चिराग’ र नम्रताले ‘वर्षा’को भूमिका निर्वाह गरेका छन् । लभ स्टोरी रहेको फिल्म यी चार पात्रकै वरपर घुमेको छ, । त्यसैले पनि निर्माण टिमले यी चारको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो । 

क्यारेक्टर पोस्टरमा नामसँग ढाकालाई पनि जोडिएको छ । नेपाली पोशाकको प्रतीक मानिने ढाका र फिल्मको क्यारेक्टर एकआपसमा जोडिएकोले नै यसरी पोस्टर तयार पारिएको डेब्यू निर्देशक वसन्त अधिकारीले बताएका छन् । धेरै सफल फिल्ममा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका अधिकारी यसै फिल्ममार्फत निर्देशनमा डेब्यू गर्दैछन् । आधुनिक प्रेम कथामा आधारित फिल्मको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । फिल्ममा प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसीलगायतको पनि अभिनय रहेको छ ।

‘मेरो टाइम र टिम सही पर्यो त्यसैले गर्दा डेब्यू गरेँ’, निर्देशक अधिकारी भन्छन्, ‘फिल्मले अहिलेको युवा पुस्ताको कथालाई रिलेट गर्छ साथै यसमा प्रेमसँगै दायित्व पनि छन् ।’ फिल्मका लेखन सामिप्य पनि फिल्मलाई लिएर आशावादी छन् । ‘फिल्ममा पनि प्रेमकथा मियोको रुपमा रहेको छ तर यसको दायाँबायाँ राष्ट्रियता र युवापुस्ताले लिनुपर्ने जिम्मेवारीका कुरा पनि छन्’, सामिप्य भन्छन्, ‘फिल्मले व्यापार व्यवसायमा नयाँ पुस्ताको सोचलाई पनि प्रतिबिम्बित गर्ने प्रयास गरेको छ ।’ फिल्मले मनोरञ्जनसँगै सन्देश पनि दर्शकले पाउने निर्माता रोशनीको विश्वास छ । ‘फिल्मले आधुनिक पुस्ताको प्रेमकथालाई बोकेको छ’, उनी भन्छिन्, ‘फिल्म मेकिङमा कुनै सम्झौता गरेका छैनौँ ।’

फिल्मको छायाँकंन नेपालको रमणीय स्थलसँगै भारतको मनालीमा समेत भएको छ । उनले यसअघि डाक्टर खाते फिल्म निर्माण गरिसकेकी छिन्, जसले अन्तर्राष्ट्रिय स्तरमा थुप्रै अवार्ड प्राप्त गर्नुका साथै आफ्नो उपस्थितिसमेत जनाएको थियो । फिल्ममा छायाँकंन सञ्जय लामाको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् ।

फिल्ममा कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ भने यसको सार्वजनिक फर्स्ट लूक पोस्टरलाई कलर ब्लाइन्डले तयार परेको हो । फिल्ममा अर्जुन जिसीको सम्पादन, बसन्त घर्ती मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजीमालीको निर्माण रहेको छ ।
चलचित्रमा कसको अभिनय कस्तो?

मनिष श्रेष्ठ , देव( फिल्ममा मनिष एक धनाढ्य परिवारका छोरा हुन्छन् । उनीसँग पैसा त छ तर परिवारको पर्याप्त माया छैन । बिजेनसम्यानको छोरा छन् तर उनले काम गरेका छैनन् । फिल्ममा उनी पैसा, समय र मायाको महत्व नबुझेको देवको भूमिकामा छन् । 

निरिशा बस्नेत, मीरा( डेब्यू गर्ल निरिशा फिल्ममा एक कर्मचारीको भूमिकामा छिन् । उनले कामलाइ रेस्पेक्ट गर्छिन् , उनी आत्मनिर्भर छिन् । आफ्ना लागि आफै कर्म गर्छिन् । कामलाई इज्जत गर्ने मीराको भूमिका निरिशाले निर्वाह गरेकी छिन् । 

सन्नी सिंह, चिराग(सन्नी एक उद्धेश्यका साथ अगाडि बढेका युवक चिरागको भूमिकामा छन् । जसले आफ्नो उद्धेश्य प्राप्तिको लागि अरु केही सोच्दैन । उनले आफ्नो गोलको अगाडि आफूलाई मात्र देख्छन् । उनि मेहनती छन् तर प्रेम र फ्यामिली उनका लागि अनिवार्य छैन । 

नम्रता श्रेष्ठ , वर्षा( जीवनलाई आफ्नै किसिमले इन्जोय गर्ने वर्षाको भूमिका नम्रताले निर्वाह गरेकी छिन् । उनी आधुनिक युवती हुन्, जसले आफ्नो लाइफ आफ्नै तरिकाले जिउँछिन् । उनी आत्मनिर्भर छिन् तर दायित्वबोध छैन । फेसन डिजाइनर बनेको वर्षा स्ट्रगल गरिरहेकी आधुनिक युवती हुन् ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया