टिमले जितेपछि किन भक्कानिए नेइमार ?

 असार ९, २०७५ शनिबार ७:५८:८ | उज्यालो सहकर्मी

रुस विश्वकपकै उपाधिको दावेदार मानिएको ब्राजिलले पहिलो जित हात पारेको छ । 

समूह चरणको पहिलो खेलमै स्विट्जरल्याण्डसँग एक–एकको बराबरी खेलेपछि ब्राजिल जित्नै पर्ने दबाबमा थियो । शुक्रबार कोस्टारिकासँगको खेलमा जितका लागि ब्राजिललाई  खेलको इन्जुरी समय कुर्नुपर्यो । थपिएको ६ मिनेटमा ब्राजिलका लागि फिलिप कोउटिन्हो र नेइमारले गोल गरे । 

तर शुक्रबार सबैको ध्यान नेइमारको गोलभन्दा पनि उनको डाइभ र आँसुमा केन्द्रित थियो । कतिपयले नेइमारले चलाखी गर्दै डाइभ हानेर रेफ्रीले छक्याउन खोजेको आरोप लगाएका छन् ।

डिबक्समा नेइमार आफै कोस्टारिकाका खेलाडी जियानकार्लो गोञ्जालेजसँग ठोक्किएको बताउँदै भिडियो असिटेण्ट रेफीले ‘नो फाउल, नो पेनाल्टी’ बताएको थियो । 

त्यो त एउटा कुरा भयो तर खेल सक्किएपछि नेइमार मैदानमै घोप्टो परेर रोएको दृश्यले सबैलाई अचम्ममा पारिदियो । आखिर किन रोए त नेइमार भन्ने प्रश्न सबैको मनमा उब्जियो । 

कोही हारमा पनि रोएका छैनन् तर नेइमार आफ्नो टिमको महत्वपूर्ण जितमा पनि रोए । विश्वकप प्रतियोगितामा आफ्नो टिमलाई जिताउनु र गोल गर्नु सबै खेलाडीको सपना हुन्छ । नेइमार पनि आफ्नो सपना पूरा भएकोमा खुसी भए र खुसीको आँसु थाम्न सकेनन् । जसले जे अनुमान लगाए पनि खेल सकिएको केही समयपछि नेइमार आफैले इन्स्टाग्राममा आफू खुसीले रोएको बताएका छन् ।

नेइमार लेख्छन्, ‘कसैलाई थाहा छैन यहाँ के भयो । सुगा नबोल्दासम्म बोल्नुहोस् । अब त गर, केही गर । खुसीको हुन्छ आँसु, जितको हुन्छ आँसु । मेरो जीवन कहिल्यै सहज भएन र हुनेछैन । सपना जारी छ, सपना होइन... उद्धेश्य । केटाहरुलाई जितको बधाई छ ’

पीएसजीबाट खेल्दै गर्दा गएको फेब्रुअरीमा नेइमारको खुट्टा भाँचिएको थियो । त्यसपछि लामो समय आराम गरेका नेइमार अझै पनि पूर्ण रुपमा निको भएका छैनन् । 

खुट्टाको चोट बल्झिएपछि नेइमार खेल्न सक्दैनन् कि भन्ने चिन्ता सबैमा थियो । अभ्यासका क्रममा पनि दुखाई बढेपछि नेइमार बिचैमा फिजियोथेरापिस्टकोमा पुगेका थिए । तर सबैको आशाअनुरुप मैदानमा उत्रिए र गोल गरे । सन् २०१४ को विश्वकपमा क्वार्टरफाइनलमा घाइते भएपछि विश्वकप गुमाएका नेइमारबाट यो विश्वकपमा धेरैले आशा गरेका छन् । 

सन् २०१४ को विश्वकपमा पनि नेइमारको ढाडमा फ्र्याक्चर भएपछि सेमिफाइनल खेल गुमाएका थिए । त्यसबेला क्वार्टरफाइनलमा कोलम्बियाका जुवान जुनिगाले ८८ औँ मिनेटमा नेइमारलाई कुहिनाले धक्का दिएपछि नेइमारलाई चोट लागेको थियो ।

नेइमारबिना उत्रिएको ब्राजिल सेमिफाइनलमा जर्मनीसँग ७–१ ले स्तब्ध भएको थियो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया