ज्यान जोखिममा राखेर सेती नदी तर्दै स्थानीय

 फागुन ८, २०७५ बुधबार १४:३८:२५ | विमल बिष्ट
unn.prixa.net

डोटी – डाेटी जिल्लाको दिपायल सिलगढी नगरपालिका-३. बाँफीगाउँका बासिन्दालाई आफनै गाउँमा आवतजावत गर्न नदीमाथि ज्यान जोखिममा राख्नुपर्ने बाध्यता छ ।

केही महिना पहिले जिल्ला समन्वय समिति डोटीले बाँफीगाउँ जानका लागि भनेर समुहा गाढको गेरुपानी नजिक झोलुङ्गे पुल निर्माण गरेको थियो । तर उद्घाटन हुन नपाउँदै त्यो पुल भत्कियो । पुल निर्माण हुने भएपछि खुसी बनेका गाउँवासीहरु बनिसकेको पुल भत्किदा दुःखी बने ।

अहिले नदीमाथि कुनै पनि पुल नभएपछि त्यहाँका स्थानीयहरुलाई आवतजावत गर्न कठिनाइ मात्र भएको छैन, ज्यानै जोखिममा राख्नुपरेको छ । ‘पुल उद्घाटन हुन नपाउँदै भत्किएपछि हामीहरु पहिलेको जस्तै ट्युबको भरमा यात्रा गर्न र सरसामान बोक्न बाध्य भएका छौँ’, बाँफी गाउँका कलिभान साउदले भन्नुभयो, ‘गरिब जनतालाई जहाँबाट पनि दशा मात्र लाग्छ ।’

असार साउनको भेलमा अन्तैबाट यात्रा गरे पनि स्थानीयहरु हिउँद महिनामा सधैँ ज्यान जोखिममा राखेर सेती नदी वारपार गर्न बाध्य भएका छन् । सेती नदीमा ज्यान जोखिममा राखेर टयुबमा यात्रा गर्ने गरेको नजिकैको केआईसिंह राजमार्गमा हिँड्ने नेता तथा मन्त्रीहरुले देखे पनि यसबारे कसैले चासो नदिएको स्थानीयको आरोप छ । 

सेती नदीमा जोखिम मोलेर यात्रा गर्दा सर्वसाधारणहरुले बर्सेनि ज्यान गुमाइरहेका छन् । ‘ट्यूबमा चढेर नदी तर्दा पल्टिएर कति त सेतीनदीमा डुबेर मरिसके’, स्थानीय महानन्द साउदले भन्नुभयो, ‘पुल नबने अझै कतिले ज्यान गुमाउनुपर्ने हो थाहा छैन ।’

चुनावका बेला नेताहरुले बाँफीगाउँका स्थानीयलाई पुल बनाउने आश्वासन दिएर भोट त मागेर गए तर पनि चुनाव सकिएपछि कोही पनि फर्किएर आएनन्, स्थानीयहरु आरोप लगाउँछन् ।

स्थानीय नागरिक दैनिक उपभोग्य सामान खरिदबिक्री गर्न नजिकैको कालागाढ बजारसम्म पुग्नुपर्छ । बजारमा आउनका लागि स्थानीय महिला,केटाकेटी लगायतकाले टयूबको भरमा यात्रा गर्नुपरिरहेको छ । 

पुल नहुँदा बाँफीगाउँका स्थानीयलाई निकै समस्या भएको शिखर नगरपालिका-१, कालागाढका चेत बोगटी बताउनुहुन्छ । ‘दिउँसो केही भइहाले त पत्ता लागिहाल्छ तर कतिपय त राति पनि घर जान्छन्, उनीहरु कसरी घर पुग्छन पत्तो हुदैन्’, बाेगटीले बताउनुभयाे ।

दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासी भने बाँफीगाउँका स्थानीयलाई आवत जावतमा सहजताका लागि पुल निर्माणको कार्य अगाडि बढाइएको बताउनुहुन्छ । 

‘बाँफी गाउँवासीहरुको लागि गएको वर्ष निर्माण भएको पुल भत्किएपछि मैले अनुगमन गरेर तत्काल पुल बनाउन ठेकेदारसँग आग्रह गरेको छु’, प्रमुख मलासीले विश्वास दिलाउँदै भन्नुभयो, ‘निकट भविष्यमै पुल बन्छ ।’ 

अन्तिम अपडेट: चैत १, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया