शेयर बजार सामान्य बढ्याे
चैत १५, २०८० बिहिबार
सर्लाही – सर्लाहीको ईश्वरपुर नगरपालिका - १२ गुइडुङ गाउँका ५० घर परिवार वर्षाैंद्खि वस्तुभाउसँगै एउटै कुवाको पानी पिउन बाध्य छन् ।
खानेपानीको अन्य कुनै स्रोत र उपाय नभएपछि उनीहरु ९० वर्षदेखि पशुसँगै एउटै कुवाको पानी प्रयोग गर्न बाध्य भएका हुन् ।
स्थानीय गुन्जसिंह थिङ भन्नुहुन्छ, 'यो डाँडामा बस्न थालेको जुग बितिसक्यो, केही पनि विकास भएको छैन' उहाँले भन्नुभयाे, 'डाँडो कुर्दाकुर्दै मर्ने बेला हुन लाग्याे । अब त गाडी, बिजुली, पानी, धारा, अस्पताल केही पनि देखिँदैन जस्तो लाग्छ ।
घारीबथानबाट करिब ४ घण्टाको ठाडो उकालो हिँडेपछि विकट गुइडुङ गाँउ पुगिन्छ । त्यहाँ पुग्ने जो कोहीले पनि एउटा फरक अनुभूति गर्न सक्छन् । विकासको पर्खाइमा बसेको गुइडुङ गाउँका महिलाहरु बिहानै उठेर ढिकीजाँतो गर्न जान्छन् ।
घरभन्दा एक किलोमिटर तल खोल्सामा एउटा सानो कुवा छ। त्यही कुवाबाट स्थानीय बासिन्दा र पशु सँगसँगै पानी खान्छन् । सानो काठले छाएको कुवाभित्र धमिलो पानीमा भ्यागुता र चेपागाँडा पौडिएका छन् । खानेपानीको लागि सबैसँग हारगुहार गरे पनि कसैबाट कुनै सुनुवाइ नभएको स्थानीय मानसिङ थिङले गुनासो पाेख्नुभयाे ।
१९९१ सालमा काभ्रे जिल्लाबाट आएर यही डाँडामा बसेको बताउँदै वीरबहादुर थिङ भनुहुन्छ, 'त्यतिबेला डरले मधेश गइएन, यतै बसियाे । तर अहिलेसम्म यो ठाउँको विकास हुन सकेको छैन', उहाँले मनमा गाँठाे पार्दै भन्नुभयाे, 'पिउनका लागि शुद्ध खानेपानीकाे व्यवस्था छैन, बिरामी भइहाले अस्पताल पनि छैन ।'
यस्तै गाउँमा एउटा मात्र विद्यालय छ,शिद्देश्वरी, त्याे पनि प्राथमिक । त्यहाँ १८ जना विद्यार्थीका लागि दुई जना शिक्षक कार्यरत छन् । त्यहाँबाट पाँच कक्षा उत्तीर्ण गरेपछि विद्यार्थीहरुलाई माथिल्लाे कक्षा पढ्न कहाँ जाने भन्ने समस्या हुन्छ । कक्षा ८ मा पढ्ने १३ वर्षकी शुशिला थिङ अहिले चार घण्टा पैदल हिँडेर चुरे फेदीमा रहेको नेपाल राष्ट्रिय जनता मावि घारीबथानमा पढनुहुन्छ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।