कृषिमा बढ्दो विषादी प्रयोग : जथाभावी विषादी प्रयोग गर्नेलाई कारबाही

 फागुन ८, २०७५ बुधबार १९:२१:५६ | नवराज फुयाँल
unn.prixa.net

काठमाण्डौ - जीवनाषक विषादी जथाभावी प्रयोग, उत्पादन तथा निकासी, पैठारी गर्नेलाई कडा कारबाही हुनेगरी सरकारले विधेयक ल्याएको छ ।

प्रतिनिधिसभामा छलफलमा रहेको विधेयकमा पञ्जिकरण तथा इजाजत नलिई कुनै पनि जीवनाषक विषादी प्रयोगमा ल्याउन नहुने उल्लेख छ । 

यस्तै म्याद नाघेका विषादी बिक्री गरेमा, नक्कली विषादीको प्रयोग वा कारोबार गरेमा, विषादी व्यवस्थापनमा अवरोध पुर्याएमा, वातावरणीय प्रदूषण हुनेगरी जीवनाशक विषादी प्रयोग गरेमा कारबाही गरिने उल्लेख छ ।

कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणि खनालले पेश गर्नुभएको विधेयकको दफा ३१ मा जीवनाशक विषादी उत्पादन, संश्लेषण, आयात, निर्यात, व्यवसायिक प्रयोग, भण्डारण, बिक्री वितरण, ओसार पसार, प्याकिङ वा पुन प्याकिङ गरेमा कसुर ठहरिने उल्लेख छ ।

कसुर ठहरिने कार्य गर्नेलाई पाँच हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवानाका साथै एक महिनादेखि एक वर्षसम्म कैद हुने व्यवस्था विधेयकले गरेको छ । प्रतिबन्धित विषादीको उत्पादन, निकासी, पैठारी तथा बिक्री वितरण गरेमा सबैभन्दा बढी दण्ड जरिवाना हुनेछ ।

विधेयकको दफा ३२ मा मानव तथा जीवजन्तुको स्वास्थ्य तथा वातावरणमा प्रतिकूल प्रभाव पार्ने जीवनाशक विषादीको उत्पादन, निकासी, पैठारी, भण्डारण, बिक्री वितरण, ओसार पसार गरेमा पचास हजारदेखि दुई लाख रुपैयाँसम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । 

साथै विषादी उत्पादन, निकासी, पैठारी, बिक्री वितरण तथा भण्डारण गर्दा कुनै दुर्घटना भए सम्बन्धित व्यक्ति वा संस्थाले पीडितलाई तोकिए बमोजिमको क्षतिपूर्ति दिनुपर्ने व्यवस्था पनि विधेयकले गरेको छ । 

पछिल्लो समय तरकारी र फलफूलमा जथाभावी विषादी प्रयोग हुन थालेको र यसले मानव स्वास्थ्यमा घातक जोखिम बढाउनुका साथै वातावरणीय प्रभाव पनि बढाएकाले यसलाई नियमन र व्यवस्थित बनाउन विधेयक ल्याइएको कृषि मन्त्री खनालले बताउनुभयो । 

२०५४/०५५ तिर नेपालमा जम्मा ५६ टन रासायनिक विषादी प्रयोग भएको तथ्यांक रहेकोमा अहिले आइपुग्दा त्यो झण्डै १० गुणाभन्दा बढीले वृद्धि हुन पुगेको तथ्यांक मन्त्रालयसँग छ ।

पछिल्लो समय व्यवसायिम तरकारी र फलफूल खेति बढेकाले विषादीको प्रयोग पनि बढेको हो । तरकारी र फलफूल बालीलाई रोगकीराबाट बचाउन अहिले गलत तरिकाले जथाभावी विषादी प्रयोग भइरहेको कृषि विज्ञहरु बताउँछन् । यसले उपभोक्ताको स्वास्थ्य र पर्यावरण जोखिममा घातक असर परिरहेको छ । 

विषादी अवशेष धेरै रहेका फलफूल र तरकारी बजारमा आइरहँदा शहरी क्षेत्रका उपभोक्ताको स्वास्थ्यमा बढी जोखिम थपिएको छ । बजारमा रहेका तरकारी तथा फलफूलको नमुना परीक्षणका बेलामा पनि विषादीको मात्रा भेटिने गरेको सार्वजनिक हुँदै आएको छ ।

जथाभावी प्रयोग गरिएका विषादीका कारण किड्नी र क्यान्सरको रोग बढ्दै गएकाले यसलाई सरकारले कडाइ गर्नुको विकल्प नरहेको बताउनुहुन्छ नेपाल मजदुर किसान पार्टीका सांसद सुनिल प्रजापति ।

सरकारले विषादी प्रयोगमा मात्रै कडाई गरेर नहुने भन्दै प्रजापतिले प्राङ्गारीक कृषि खेतितर्फ आकर्षित गर्नेगरी सरकारले पनि कृषकलाई सेवा सुविधा उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

अहिले किराना पसलदेखि नाङ्ले पसलसम्ममा पनि खुलेआम यस्ता विषादी खरिद बिक्री हुने गरेको भन्दै अब यस्तो अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

सांसद नवराज सिलवालले विषादीको व्यापक प्रयोगले किटनाशक जीवाणुहरुका साथै पर्यावरणमा पनि ह्रास आएकाले अब यसलाई रोक्नु अपरिहार्य रहेको उहाँले बताउनुभयो । 

संसदमा प्रस्तुत भएको विधेयकले अब जथाभावी रुपमा विषादीको प्रयोग, उत्पादन तथा बिक्री वितरणमा कमी आउनेमा उहाँले विश्वास लिनुभयो । 

म्याद गुज्रेको विषादी आफैले व्यवस्थापन गर्नुपर्ने

विधेयकले म्याद गुज्रेको जीवनाशक विषादीको व्यवस्थापन जसले ल्याएको हो उसैले गर्नुपर्ने व्यवस्था गरेको छ । विधेयकको दफा २२ मा भनिएको छ, ‘आयातकर्ताले पैठारी गरेका कुनै जीवनाशक विषादीको अवधि समाप्त भएमा आफ्नै खर्चमा सोको उचित व्यवस्थापन गर्नु पर्नेछ ।’

यस्तै उत्पादन, निकासी, पैठारी, व्यवसायीक प्रयोग, भण्डारण वा विक्री वितरण, ओसरा पसरा, प्याकिङ वा पुन प्याकिङ गरेको जीवनाशक विषादीको हकमा उक्त विषादीमा उल्लिखित म्याद भुक्तान हुने अवधिभन्दा एक महिना अगावै सम्बन्धित कम्पनी वा उद्योगले सोको उचित व्यवस्थापन गर्नुपर्ने व्यवस्था विधेयकले गरेको छ ।   

म्याद गुज्रेका प्रतिबन्धित, टुटेफुटेका वा चुहिएका जीवनाशक विषादी सम्बन्धि विषादी कम्पनी, उद्योग तथा व्यक्तिले पैठारीकर्ता मार्फत नै फिर्ता लैजानु पर्ने विधेयकले स्पष्ट व्यवस्था गरिदिएको छ । तत्काल भण्डारणका लागि भने नेपाल सरकारले आवश्यक व्यवस्था मिलाउनु पर्ने पनि विधेयकमा उल्लेख छ ।

पछिल्लो समय झन् कडा विषादी

पहिलो पटक अमेरिकी सहयोग नियोग यूएसएआईडीको सहयोगमा सन् १९५० को दशकमा औलो उन्मूलन कार्यक्रमअन्तर्गत अमेरिकाबाट डीडीटी भित्रिएसँगै नेपालमा रासायनिक विषादी प्रयोग सुरु भएको मानिन्छ ।

त्यसयता विभिन्न तरिकाले जीवनाषक विषादीको प्रयोगमा निरन्तर वृद्धि भइरहेको छ । २०६६/६७ पछि व्यावसायिक तरकारी खेती हुने क्रमले विस्तार पाएसँगै यस्ता विषादीको पनि व्यापक दुरुपयोग हुन थालेको कृषि मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

नेपालमा खपत हुने रासायनिक विषादीमध्ये करीब ८५ प्रतिशत तरकारी बालीमा प्रयोग हुन्छ । नेपालमा वार्षिक रुपमा अहिले झण्डै ७० करोडभन्दा बढीको विषादी आयात हुने गरेको छ । नेपालमा रासायनिक विषादीको खपत धेरै भयो भनेर भन्नुभन्दा पनि यसको प्रयोग जथाभावी भइरहेकोमा भने आत्तिनुपर्ने अवस्था रहेको बाली विज्ञहरुले सुझाव दिँदै आएका छन् ।

नेपालमा सबभन्दा बढी कीटनाशक र ढुसीनाशक विषादी प्रयोग हुन्छ । अन्य विषादीको तुलनामा कडासमेत हुने कारणले कीटनाशकले मानव स्वास्थ्य र जैविक वातावरण दुवैमा गम्भीर नोक्सानी पुर्याउँछ । सरकारले १६ थरीका विषादीलाई प्रतिबन्धित सूचीमा राखेको छ ।

मिथायल पाराथियन, क्लोरडेन, डीडीटी, डाइल्ड्रिन लल्ड्रिन, मिरेक्स, लिन्डेन, फोरेट, डण्डोसल्फान, अर्गेनोमर्करी क्लोराइड, इन्ड्रिन, हेप्टाक्लोर, टोक्साफेन, बी एच सी, मनोक्रोटोफस, फस्फामिडन जस्ता विषादी प्रतिबन्धित सूचीमा छन् ।

तर कतिपय यस्ता प्रतिबन्धित विषादीसमेत लुकि चोरी आयात हुनुका साथै प्रयोगमा पनि रहेको देखाएको छ । अब यसलाई रोक्न कडा नियम बनाउनुको अर्को बाटो नभएकाले विधेयकमा यस्तो व्यवस्था ल्याइएको मन्त्री खनालले उल्लेख गर्नुभयो । 

प्रदेशमा पनि अनुगमन समिति

विषादीको जथाभावी प्रयोगलाई दुरुत्साहित गर्न नै विधेयक ल्याइएको भन्दै मन्त्री खनालले अब यसको नियमनका लागि केन्द्र सरकार मात्रै नभई प्रदेशस्तरमा पनि विषादी व्यवस्थापन समिति स्थापना गरिने बताउनुभयो । 

विधेयकमा जीवनाशक विषादीसम्बन्धी कार्यको अनुगमन गर्ने, मापदण्डको पालना गर्न लगाउने लगायतका जीवनाशक विषादीसम्बन्धी कार्य गर्नका लागि प्रत्येक प्रदेशमा जीवनाशक विषादी व्यवस्थापन समिति गठन हुने व्यवस्था उल्लेख छ । 

सरकारले रसायानिक विषादीको प्रयोगबाट वातावरण तथा मानव पशुपक्षी, जलचर, विरुवा लगायतका स्वास्थ्यमा पर्नसक्ने असरलाई न्यूनीकरण गर्न विभिन्न विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने पनि विधेयकले सुझाएको छ । 

 

अन्तिम अपडेट: जेठ ४, २०७६

नवराज फुयाँल

उज्यालोमा कार्यरत नवराज फुयाँल राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया