ब्राउन सुगरसहित बर्दियाको भुरिगाउँबाट एक युवक पक्राउ

 फागुन ८, २०७५ बुधबार २०:२८:१९ | भावुक योगी
unn.prixa.net

बर्दिया – लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित बर्दियाको ठाकुरबाबा नगरपालिका भुरिगाउँबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

भुरीगाउँबाट ब्राउनसुगरसहित कसैलाई पक्राउ गरिएको यो पहिलो घटना हो । 

बजार नजिक हिँडिरहेको अवस्थामा जाँचका क्रममा ठाकुरबाबा नगरपालिका १ सिँहवाहिनीका २८ वर्षीय शिवराज पन्थलाई ब्राउनसुगरसहित पक्राउ गरेको बर्दियाका प्रहरी उपरिक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिनुभयो ।

पक्राउ परेका पन्तले ठाकुरबाबा नगरपालिका क्षेत्रमा ब्राउनसुगर बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बगनाहा भुरिगाउँका प्रहरी निरीक्षक प्रदिपकुमार डीसीको नेतृत्वमा गएको टोलीले खानतलासी गर्दा ९ ग्राम २ सय मिलिग्राम ब्राउनसुगरसहित पन्तलाई प्रक्राउ गरेको प्रहरी उपरिक्षक मैनालीले बताउनुभयो । 

मैनालीका अनुसार ब्राउनसुगर लिएर भुरिगाउँ बजार क्षेत्रमा बिक्री वितरणका लागि हिँडिरहेको अवस्थामा पन्तलाई पक्राउ गरिएको हो । उनीसँग भएको ब्राउन सुगर झण्डै ५६ हजार मूल्य बराबरको र १८० जना जतिलाई प्रभावित पार्न सक्ने उहाँले बताउनुभयो । 

पछिल्लो समय लागूऔषध दुर्व्यसनीविरुद्ध बर्दिया प्रहरीले विशेष अभियान चलाएको छ । पछिल्लो ७ महिनायता जिल्ला प्रशासन कार्यालय बर्दिया र जिल्ला प्रहरी कार्यालयले लागुऔषध नियन्त्रणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम पनि गर्दै आइरहेको छ । 

हालसम्म लागुऔषधको दुव्र्यसनीमा परेका १७२ जनालाई पक्राउ गरी सम्झाइ बुझाइ अभिभावकको जिम्मा लगाइएको र १४ वटा मुद्धा दर्ता गरी १९ जनालाई लागुऔषध खैरो हेरोइन मुद्धामा कारबाही प्रक्रिया अघि बढाइएको उपरिक्षक मैनालीले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया