महिला टी–२० विश्वकप छनाैट : थाइल्याण्डसँग नेपाल ५७ रनले पराजित

 फागुन ९, २०७५ बिहिबार १२:८:५८ | एजेन्सी
unn.prixa.net

आईसीसी टी–२० र एकदिवसीय विश्वकपअन्तर्गत एसिया क्षेत्रीय छनोटमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित भएको छ । यो हारसँग नेपालको विश्वकप छनोट चरण पार गर्ने लक्ष्यमा धक्का लागेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर एक सय २४ रन बनायो । उसका लागि ओपनर नाइमुइ चेइवइ ३२, बोचाथम १२ रन, चनीदा सुथिरुंगाले ३५ रन बनाइन् । यस्तै वोङपाकाले २८ रनको योगदान गरिन् । अन्तिम ओभरमा नेपाली कप्तान रुवीना क्षेत्रीले दुई विकेट लिइन् । उनी बाहेक बलिङमा नेपालका लागि नेरी थापा र कविता कुवँर दुई–दुई विकेट लिइन भने करुणा भण्डारीले एक विकेट लिइन् । 

जवाफमा नेपाल २० ओभरमा आठ विकेट गुमाउँदा ६७ रनमा रोकियो । दुई रन हुँदा दुई विकेट गुमाएको नेपालले आठ रन जोड्दा तेस्रो विकेट गुमायो । ओपनर काजल श्रेष्ठ र रोमा थापा मात्र एक-एक रनमा आउट भइन् भने कप्तान रुवीना क्षेत्री तीन रनमा पेभेलियन फर्किइन् ।

त्यसपछि चौथो विकेटका लागि इन्दु बर्मा र सरिता राना मगरले ४६ रनको साझेदारी गर्दै टिमको पारी सम्हाल्ने प्रयास गरेका थिए । तर इन्दु २९ र सिता १८ रनमा आउट भएपछि नेपालले ५६ रनमा ५ विकेट गुमायो ।

त्यसपछि नेपालका कुनै पनि खेलाडी धेरै बेर क्रिजमा टिक्न सकेनन् । यो प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले मात्र विश्वकप छनोटको अन्तिम चरणमा प्रवेश गर्नेछ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया