नेकपाकाे सांगठनिक एकता अझै टुंगाे लागेन, कार्यदलकाे म्याद थप्ने विषयमा विवाद

 फागुन ९, २०७५ बिहिबार १३:१९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा पार्टीको सांगठनिक एकताका लागि गठित कार्यदलकाे समय एक हप्ता थप गर्ने प्रस्ताव आएकाे छ ।     

पार्टी एकता अझैसम्म टुंगोमा पुर्‍याउन नसकिएकाले कार्यदलकाे समय एक हप्ता थप गर्न त्यसका संयाेजकसमेत रहेका गृहमन्त्री  रामबहादुर थापाले प्रस्ताव पेश गर्नुभएकाे हाे ।   

बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकमा कार्यदलका संयोजक थापाले अहिलेसम्म कार्यदलले गरेको प्रगति प्रतिवेदन बुझाउँदै अब बाँकी काम सम्पन्न गर्न एक साताकाे समय थप गर्न प्रस्ताव गर्नुभएको थियो ।

कार्यदलाई सांगठनिक एकीकरणको प्रस्ताव तयार पार्ने जिम्मेवारी दिइएकाे भए पनि ढिलाई भएकाले कार्यदल विघटन गर्नेकी भन्ने प्रस्ताव पनि बैठकमा आएकाे थियाे । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यदल विघटन गर्ने प्रस्ताव ल्याउनु भए पनि अधिकांशले विघटन नभई एकताकाे काम टुंग्याउने गरी कार्यदलकाे म्याद थप्नुपर्ने पक्षमा छन् । 

प्रधानमन्त्री ओलीसँगै ईश्वर पोखरेल कार्यदल विघटन गर्ने पक्षमा छन् । तर कार्यदलका अधिकांश सदस्यले आफूहरुलाई काम गर्न नदिएकाले समयमा काम नसकिएकाे धारणा राखेका थिए ।  

जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रकाे औपचारिक एकता हुँदा पार्टी एकीकरणकाे काम तीन महिनाभित्रै सक्ने घाेषणा गरिएकाे थियाे । तर पार्टी एकता घाेषणा गरिएकाे ९ महिना बितिसक्दा समेत पार्टी एकताकाे कामले पूर्णता पाउन सकेकाे छैन ।  

बैठकमा संयोजक थापासहित कार्यदलका सबै सदस्यले बाँकी काम सम्पन्न गर्नका लागि केही समय आवश्यक पर्ने भन्दै समय थप्न सचिवालयसँग माग गरेको कार्यदल सदस्य योगेश भट्टराईले जानकारी दिनुभयो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा कार्यदलको प्रतिवेदन सँगै सबै सदस्यहरुबीच छलफल भए पनि कार्यदललाई म्याद थप गर्ने निर्णय भैनसककेकाले शुक्रबार पुन बैठक बस्ने  जानकारी दिनुभयो ।

गृहमन्त्रीसमेत रहेका थापा संयोजकत्वको कार्यदलमा महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल, रघुवीर महासेठ सदस्य छन् ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया