घरेलु श्रमिकको भोगाइ : ‘आफन्तले त्यो काम छोड एक बोरा चामल म दिन्छु भन्थे’

 फागुन ९, २०७५ बिहिबार १४:५९:४२ | मोहन पौडेल

काठमाण्डौ – बिनिता शर्मा (नाम परिवर्तन) लाई स्नातकोत्तरसम्म पढ्ने रहर थियो । यही रहर पूरा गर्न स्नातक तहको पढाई सक्नुभयो । तर बिहे गरेपछि पढाई अगाडि बढाउन सक्नुभएन । 

उहाँको बसाई गाउँबाट काठमाण्डौ सर्‍यो । काठमाण्डौ आएपछि बच्चा जन्मियो । हिजो बिहेले छेकेको बिनिताको स्नातकोत्तर पढ्ने सपना आमा भएपछि त असम्भव नै भयो । स्नातकोत्तर पढ्ने सपनाभन्दा अगाडि बिनिता सामु घर चलाउने कुरा ठूलो भइदियो । 

उहाँले काम खोज्न थाल्नुभयो । ठूलो काठमाण्डौ शहर बिनिताका लागि जागिर पाउन सानो भइदियो । काम खोज्ने क्रममै उहाँलाई एक जना छिमेकी दिदीले ‘मैले गरेको जस्तो काम तिमीहरु गर्दैनौ, अनि यो कामलाई कसैले राम्रो पनि भन्दैनन्’ भनिन् । त्यतिञ्जेलसम्म बिनितालाई ती दिदीले काम काम गर्थिन् भन्ने थाहा थिएन । 

त्यही कुरापछि बिनिताले ती दिदीले गर्ने काम के रहेछ भनेर सोधीखोजी गर्नुभयो । ती दिदी अर्काको घरमा काम गर्थिन् अर्थात घरेलु श्रमिक थिइन् । ‘उहाँले मलाई तिमी त पढेकी मान्छे यो काम त तल्लो काम नै हो । तिमीले गर्दिनौ होला भन्नुभयो’ त्यतिञ्जेलसम्म पनि ती दिदीले गर्ने काम बिनितालाई थाहा थिएन । 

केही समयमा बिनिताले दिदी घरेलु श्रमिक रहेछिन् भन्ने थाहा पाउनुभयो । ‘यो त उहाँलाई अरुले भनेका हुन् नि त’ समाजले घरेलु काम र काम गर्ने श्रमिकलाई हेर्ने समाजको दृष्टिकोणबारे बिनिताले भन्नुभयो । 

तर बिनितालाई यस्तो केही लागेन । त्यही भएर छिमेकी दिदीले नगर भन्दाभन्दै उहाँले घरेलु श्रमिकका रुपमा काम गर्न थाल्नुभयो । उहाँले घरमा खाना पकाउने, घर सफा गर्ने अनि दुई/तीन दिन बिराएर लुगा धोइदिनु पथ्र्यो । 

काम त छिमेकी दिदीले भनेको जस्तो गर्न नसक्ने र गर्नै नहुने थिएन । तर आफन्तकै हेर्ने दृष्टिकोण भने दिदीले भनेको जस्तै पाउनुभयो बिनिताले । उहाँले काम गर्न थालेको केही दिनमै आफन्तले थाहा पाए । बिनिताका आफन्त उहाँ बस्ने डेराभन्दा केही पर बस्थे । 

बिनिताले घरेलु श्रमिकको काम गर्नुहुन्छ भन्ने थाहा पाएपछि आफन्तले त्यो काम छोड्न मात्रै भनेनन्, यदि खानाकै समस्याले काम गरेको हो भने चामल दिन्छु समेत भने । ‘तिमीहरुलाई खाने चामल नै नभएको हो भने एक बोरा चामल म नै ल्याइँदिउँला भन्नुभयो’ बिनिता सम्झिनुहुन्छ ।

आफन्तले नराम्रो भने पनि बिनितालाई श्रीमान्को साथ थियो । त्यसैले उहाँले काम छोड्नुभएन । अहिले त काम गर्न थालेको पनि दुई वर्षभन्दा धेरै भयो । एउटा घरबाट काम थाल्नुभएकी बिनिता अहिले तीन वटा घरमा काम गर्नुहुन्छ ।

उहाँको काम बिहान ९ बजेपछि सुरु हुन्छ अनि दिउँसो ३ बज्दा सकिन्छ । कहिले ६ घण्टा अनि कहिले ८ घण्टामा बिनिता तीन वटा घरमा काम गर्न पुग्नुहुन्छ । एउटा घरमा काम गरे बापत उहाँले महिनामा ५ हजार रुपैयाँ पारिश्रमिक पाउनुहुन्छ । तीन वटा घरबाट महिनामा १५ हजार रुपैयाँ कमाउने बिनिताले यही कमाईले कोठाको खर्च मात्रै चलाउनुभएको छैन, छोरीको पढाइको खर्च पनि यसैबाट जुटाइरहनुभएको छ । 

सविता श्रेष्ठ (नाम परिवर्तन) पनि घरेलु श्रमिक नै हुनुहुन्छ । उहाँले यो काम गर्न थालेको दुई महिना भयो । बिहे गरेर काठमाण्डौ आउनुभएकी सविताको कोठाको बसाई काम नगरी बित्थ्यो । छिमेकमा काम गर्न आउने घरेलु श्रमिकलाई देखेपछि सविताले पनि त्यही काम गर्ने निधो गर्नुभयो ।

उहाँलाई पनि सुरुमा त श्रीमान, परिवार र समाजले केही भन्लान् कि भन्ने लागेको थियो । तर श्रीमानबाट तिमीलाई गाह्रो हुँदैन भने गर भन्ने जवाफ पाएपछि उहाँलाई काम सुरु गर्न गाह्रो भएन । सविताको परिवारले बिनिताको आफन्तको जस्तो कुरा गरेनन् ।

‘अस्ति एक पटक घरमा बोलाउनुभएको थियो तर मैले म त अहिले काम गर्दैछु त्यसैले आउन पाउँदिन भने’ ललितपुरको एक घरमा काम गर्दै गर्दा भेटिएकी सविताले सुनाउनुभयो, ‘सासुआमाले के काम भनेर सोध्नुभएको थियो । मैले पनि केही नलुकाइ भन्दिएँ तर उहाँले ठिकै छ काम गर्नु त राम्रो हो नि भन्नुभयो ।’

घरको कामबाट आउने पाँच हजारले सविताको परिवारको कोठा खर्च टरेको छ । गाडी चलाउने श्रीमानको कमाइ बचाउन सक्नुभएको छ । घरको काम अर्थात घरेलु श्रमलाई सानो सम्झिने बिनिताका आफन्त जस्ता केही व्यक्तिले आफ्नो बुझाइ अनुसारको कुरा गरे पनि काम गर्नेहरुको भोगाई त्यस्तो छैन ।

गोमा मैनालीको भोगाइले त्यही भन्छ । उहाँले घरेलु श्रमिकको रुपमा काम गर्न थालेको १० वर्षभन्दा धेरै भयो । यो लामो समयसम्म पनि उहाँलाई घरेलु श्रमिक भनेर कसैले पनि अरु कामदारभन्दा फरक व्यवहार गरेका छैनन् । उहाँले अहिलेसम्म १० जना जति घरबेटीकोमा खाना बनाइदिने, घर सफा गरिदिने काम गर्नुभएको छ ।

तर अहिलेसम्म कसैले पनि अरु काम गर्ने कामदारभन्दा फरक व्यवहार गरेको जस्तो अनुभव गर्नुभएको छैन । ‘उहाँहरुले राम्रो गरेकै हो मलाई त काम सबै एउटै त हो नि सानो र ठूलो हुन्छ र ? जस्तो लाग्छ’ गोमा भन्नुहुन्छ । 

आफूले काम गर्न थालेको १० वर्षमा घरेलु काम र कामदारलाई हेर्ने दृष्टिकोण बिस्तारै फेरिँदै गएको पाउनुभएको छ, गोमाले । त्यही भएर उहाँलाई बिनिता र सविता जस्तो परिचय लुकाउनु परेको छैन । 

काम पनि पहिलाको जस्तो गाह्रो छैन गोमाका लागि । गोमाले काम गर्ने घरमा अहिले लुगा आफूले धुनु पर्दैन । ‘लुगा वासिङ मेसिनमा हालेर अरु काम गर्न थाल्यो एकछिनमा लुगा निकालेर सुकाइदिँदा भइहाल्छ’ गोमाले आफ्नो काम सुनाउनुभयो । 

काममा आएको सजिलाकै कारण उहाँले अहिले बिहान घरको काम गरेर एउटा कार्यालयमा सहयोगी काम पनि गरिरहनुभएको छ । गोमाको काम बिहान ७ बजे सुरु हुन्छ । घरबाट साढे ६ बजे निस्किने गोमा ७ बजे काम गर्ने घरमा पुग्नुहुन्छ । 

७ बजेदेखि १० बजेसम्म उहाँले काम गर्ने घरमा खाना बनाइदिने अनि बच्चालाई स्कूल जान तयार पारिदिनुहुन्छ । बिहानको खानाको मेलो सकिएपछि गोमाको काम सकिन्छ । साढे १० बज्दा घरबाट निस्किने गोमा ११ बजे कार्यालय पुग्नुहुन्छ अर्को जागिर खान । कार्यालयमा उहाँको काम बेलुका ५ बजेसम्म हुन्छ । ‘मेरो त अफिस टाइम जस्तै हो’ गोमा हाँस्नुभयो । 

गोमालाई न परिचय लुकाउनु पर्ने अवस्था छ, न आफूले गर्ने काम नै । तर बिनिता र सविताले अझै पनि खुलेर आफू घरेलु श्रमिक हुँ भनेर भन्न सक्नुभएको छैन । किनकी घरेलु कामदारलाई हेर्ने समाजको हेराइ सकारात्मक हुन सकेको छैन । 

घरेलु श्रम र श्रमिकलाई अरु श्रमिककै जस्तो नजरले हेरुन् भन्ने चाहनासहित अहिले त घरेलु श्रमिकहरु सङ्गठित पनि भएका छन् । घरेलु श्रमिक मञ्च नामको संस्थामा आबद्ध उनीहरुले श्रम गर्ने सबै श्रमिकको हैसियत एउटै हो भनेर समाजलाई बुझाउन विभिन्न अभियान पनि चलाइरहेका छन् ।

अन्तिम अपडेट: चैत ३, २०७५

मोहन पौडेल

उज्यालोमा कार्यरत मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

तपाईको प्रतिक्रिया