सरकारले ३ वटा मेडिकल कलेज स्थापना गर्ने, दरबन्दी र अस्थायी कार्यालय स्थापनाकाे काम अघि बढ्याे

 फागुन ९, २०७५ बिहिबार १५:२१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले ३ वटा मेडिकल कलेज स्थापनाका लागि दरबन्दी र अस्थायी कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्को बैठकले महोत्तरीको बर्दिवास, रुपन्देहीको बुटवल र सुर्खेतमा सरकारी मेडिकल कलेज स्थापना गर्न ९ जनाको दरबन्दी कायम गर्ने र अहिलेलाई १० करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।

यस्तै कोशी अञ्चल अस्पताल मोरङ, नारायणी उपक्षेत्रीय अस्पताल विरगंज, भरतपुर अस्पताल चितवन, भेरी अञ्चल अस्पताल नेपालगञ्ज र डडेल्धुरा उपक्षेत्रीय अस्पताललाई संघीय सरकार माताहत ल्याएर विशेषज्ञ सेवा सहितको अस्पताल बनाउने पनि सरकारले निर्णय गरेको छ ।

सामाजिक सञ्जालमाथि हस्तक्षेप गर्न नभइ नियमन र व्यवस्थापन गर्न मात्रै कानुनी प्रावधान ल्याउन खोजिएको सरकारले जनाएको छ ।

बिहीबार मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जर्मनी, भारत, बेलायत लगायत देशमा पनि फेसबुक लगायत सामाजिक सञ्जाल दर्ता गरेर चलाउनुपर्ने प्रावधान भएको बताउनुभयो ।

चरित्रहत्या जस्ता जघन्य अपराधहरु सामाजिक सञ्जाल मार्फत बढिरहेको भन्दै मन्त्री बाँस्कोटाले अभिव्यक्ति स्वतन्त्रतामा यसले कुनै असर नगर्ने दावी गर्नुभयो ।

यस्तै यस्तै गण्डकी प्रदेश र पाँच नम्बर प्रदेशका जिल्लामा अप्टिकल फाइबर बिच्छाउनको लागि यूटिएल कम्पनीसँग भएको सम्झौता रद्द भएको छ ।

मन्त्रिपरिषद् बैठकले समयमा काम नगरेको भन्दै युटिएलसँग भएको दुई अर्ब १ करोड रुपैयाँको सम्झौता रद्द गरेर गण्डकी र प्रदेश पाँचमा अप्टिकल फाइवर बिच्छाउने जिम्मा नेपाल टेलिकमलाई दिएको पनि मन्त्री बाँस्काटोले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया