कांग्रेसभित्रको आन्तरिक विवाद चर्कँदै: बिहीबारकाे केन्द्रीय समिति बैठक स्थगित

 फागुन ९, २०७५ बिहिबार १९:४९:१५ | उज्यालो सहकर्मी

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चर्कँदै गएपछि बिहीबार बोलाइएको केन्द्रीय समितिको बैठक बस्न सकेन । 

केन्द्रीय समितिको बैठक बिहान ११ बजे बोलाइएको भए पनि अपरान्ह ५ बजे सम्म विवाद मिल्न नसकेपछि बैठक स्थगित गरिएको हाे । बैठक बस्न नसकेपछि प्रवक्ता विश्व प्रकाश शर्माले महासमितिबाट केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी पारित गरेको विधानलाई अन्तिम रुप दिन आवश्यक थप छलफल गरेर सहमतिको प्रयास गर्ने गरी आजको बैठक स्थगन गरिएको बताउनु भयो ।

केन्द्रीय समितिको बैठकमा महासमितिको भेलाले सर्वसम्मतिले पारित गरेका बिषयमा केन्द्रिय समितिमा फरक फरक मतहरु आए पछि  समय लिएर भए पनि सहमति खोज्न बैठक स्थगित गर्नु परेको प्रवक्ता शर्माले स्पष्ट पार्नुभयो ।

महासमिति बैठकको समापन समारोहमा सभापति शेरबहादुर देउबाले कांग्रेसको महासमिति बैठकमा जिल्ला सभापतिहरुले महासमिति बैठकमा, केन्द्रीय समितिमा रहेका नेताले महाधिवेशन प्रतिनिधिका रुपमा बुथ तहबाट निर्वाचित भएर आउनुपर्ने र केन्द्रीय समितिमा एक पटक आरक्षण वा समावेशी कोटाबाट उम्मेदवार भइसकेको व्यक्ति अर्को पटक पुनः उम्मेदवार बन्न नपाइने विषयमा प्रतिबद्धता जनाउनु भएको थियो ।

तर लगत्तै सुरु भएको केन्द्रीय समितिको बैठकमा महासमितिमा जनाएको प्रतिबद्धता कार्यान्वयनका लागि सभापति देउवाले अनिच्छा देखाएपछि केन्द्रीय कार्यसमिति बैठक विवदित बन्दै गएको हाे ।

केन्द्रीय समितिको अर्को बैठक फागुन १२ गते बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बोलाइएको छ । 


 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया