स्थानीय महिलाले मागे महिला कुट्ने वडाध्यक्षकाे राजीनामा

 फागुन ९, २०७५ बिहिबार २०:३४:१ | राजु लामिछाने

रुकुम पूर्व - निर्वाचित वडा अध्यक्षबाट महिला कुटिएपछि महिलाहरुले वडा अध्यक्षलाई कारबाहीको साथै राजीनामा माग गरेका छन् । 

गएकाे फागुन ५ गते रुकुम पूर्वको पूथा उत्तरगंगा गाउँपालिका वडा नं. ११ का वडा अध्यक्षले हेलमेट प्रहार गरी स्थानीय जयपुरी बुढालाई घाइते बनाएका थिए । 
वडा अध्यक्ष बुढाले निर्माणाधीन भवनको चर्पीको विषयमा विवाद हुँदा निर्माण उपभोक्ता समितिकी महिला सदस्य जयपुरी बुढालाई कुटपिट गरेका थिए ।

छलफलका क्रममा वडाअध्यक्षले एक्कासी हेलमेटले टाउकोमा हानेर घाइते बनाएका बताइएकाे छ । गाउँपालिकाको ५ लाख बजेटमा निर्माण भइरहेको महिला भवनको चर्पीको खाल्डो स्टमेट अनुसार नभएको भन्दै वडाअध्यक्षको हातपात गरेको बुझिएको छ । 

आफैले मतदान गरेर चुनेका जनप्रतिनिधिबाट असुरक्षित भएको भन्दै उक्त वडाका महिलाहरुले प्रेस विज्ञप्ति्मार्फत वडा अध्यक्षको राजीनामा माग गरेका हुन् । सामुदायिक महिना भवन निर्माण समिति, सम्पूर्ण तकसेरावासी महिला र पारालिगल महिला समितिको तर्फबाट एक विज्ञप्ति जारी गरी उनीहरुले वडाध्यक्ष माथि कडाभन्दा कडा कारबाहीको माग समेत गरेका छन् । 

सामान्य विवादको समयमा संयमित हुनुको साटो महिला माथी हातपात गरेर वडा अध्यक्षले कानुनको उलंघन गरेको उनीहरुले बिज्ञप्ती मार्फत जनाएका छन् । जसको भोटले कुर्सिमा पुगे, उसैलाई अपमान गरेकोले पदमा बसिरहन आवश्यक नरहेको उनीहरुको बिज्ञप्तीमा उल्लेख रहेको छ । 

कुटपिटको विवाद इलाका प्रहरी कार्यालय तकसेरा हुँदै हाल जिल्ला प्रशासन कार्यालय रुकमु पूर्व र जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वसम्म पुगेको छ । पीडित महिलाले आफूमाथि योजनाबद्ध आक्रमण भएको भन्दै क्षतिपुर्तिको माग गरेको बुझिएको छ । 

पीडित जयपुरीले रुकुमकोटमा रहेको अस्पतालमा उपचार गराईरहेको बतारहको उनका भाई लक्ष्मण बुढामगरले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया