मोबाइलमा क्लिक गरेपछि तरकारी बारीमा सिँचाइ पंखा र हिटर !

 फागुन १०, २०७५ शुक्रबार १२:३५:४१ | विष्णु विश्वकर्मा
unn.prixa.net

काठमाण्डौ – हिजोआज प्रायः सबैको हातमा मोबाइल छ । फेसबुक, ट्वीटर चलाउने र युट्यूब हेर्नु सामान्य भइसक्यो । इमो र मेसेन्जरमा भिडियो कल गर्नु, घण्टौसम्म फेसबुकमै झुण्डिनु झन नौलो भएन ।

तर अब मोबाइलमा एक ‘क्लिक’ गरेपछि तरकारी खेतीमा सिँचाइ गर्न सकिन्छ । माटोको आद्रता कायम राख्न पंखा र हिटर पनि चलाउन सकिन्छ । नेपालमै १५ दिनमा उमारेर गुणस्तरीय बेर्ना तयार पार्न सकिन्छ भन्दा जिब्रो टोक्नु पर्दैन ।

तरकारी बाली विकास केन्द्र ललितपुरले नेपालमै पहिलो पटक ‘स्मार्ट कृषि प्रविधि’को विकास गरेको हो । नेपालकै आइटी इञ्जिनियरले विकास गरेको प्रविधिमार्फत लौकाका बेर्ना उमारेर किसानलाई वितरण गरिएको पनि केन्द्रका प्रमुख अरुण काफ्लेले बताउनुभयो ।

‘नेपालमै विकास गरिएको प्रविधिमार्फत उमारिएको बेर्ना किसानलाई वितरण गरेका छौँ । कम लागत, थोरै समयमा एकैपटकमा धेरै बेर्ना उमार्न सकिने भएकाले यो अन्तर्राष्ट्रिय प्रविधि नेपालमै विकास गरेका हौँ’ उहाँले भन्नुभयो ।

‘उच्च प्रविधियुक्त तरकारी बेर्ना उत्पादन घर’ नाम दिइएको यो प्रविधि मोबाइल एप्सबाट चलाउन सकिन्छ । मोबाइलबाटै मेसेन्जरमा फोटो पठाएजस्तो गरी ‘स्मार्ट प्रविधि’ एप्समा रहेका ‘स्वीच क्लिक’ गरेपछि तरकारीमा आफै सिँचाइ हुन्छ । पंखा घुम्न थाल्छ भने बेर्नालाई ताप दिन हिटर चल्छ ।

थोरै लागत, धेरै उत्पादन, शुन्य जोखिम !

तरकारी बाली विकास केन्द्र ललितपुरले १४ लाख रुपैयाँमा ‘स्मार्ट प्रविधि’ जडान गरेको हो । अन्तर्राष्ट्रिय एजेन्सीले यो प्रविधि नेपाल भित्र्याउन र सञ्चालन गर्न झण्डै आधा करोड रुपैयाँ लाग्ने बताएका थिए । तर नेपाली आईटी इन्जिनियरले विकास गरेको प्रविधि भएकाले सस्तोमा जडान गर्न सकिएको केन्द्रका प्रमुख काफ्लेकाे भनाइ छ ।

‘नेपालीहरु रोजगारीका लागि पुगेका दक्षिण कोरिया, इजरायललगायतका देशमा यो प्रविधिबाटै खेती गरिन्छ । त्यहाँबाट नेपाल ल्याउन हामीले पहिले पनि कुरा गरेका थियौं । ५० लाखभन्दा घटीमा ल्याउन सकिंदैन भनेपछि आश मार्‍यौं । तर नेपालकै आईटी इन्जिनियरले यो प्रविधिको विकास गरेपछि झिनो आश पनि पलाएको छ’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार यो प्रविधिबाट धेरै कामदार राखेर बेर्ना उत्पादन गर्नुपर्ने झन्झट हटेको छ । घरी सिँचाइ गरिरहनुपर्ने र घामपानीबाट बेर्ना मर्ने तथा नोक्सानी व्यहोर्नुपर्ने चिन्ता पनि अब छैन । 

‘हामीले एक पटकमा झण्डै ६० हजार तरकारीका बेर्ना उत्पादन गर्न सक्छौँ । त्यसमा पनि थोरै लागत लाग्छ । जोखिम शून्य छ । पानी परेन । घाम लागेन । अर्थात धेरै घाम लाग्यो । धेरै पानी परेर नोक्सानी भयो भनेर चिन्तित हुनु पर्दैन । प्रविधिमा कुनै खराबी आएमा मोबाइलमै ‘अलर्ट’ नोटिफिकेशन आउँछ । तत्कालै समाधान खोज्न सकिन्छ’ काफ्लेले भन्नुभयो ।

कसरी विकास भयो ‘स्मार्ट प्रविधि’ ? 

खेतमा टनेल राखेर तरकारीका बेर्ना उमार्दा पनि जोखिम नघटेपछि केन्द्रका प्रमुख काफ्ले नयाँ प्रविधिको खोजीमा हुनुहुन्थ्यो । विदेशबाट ल्याउँदा महंगो मूल्य चुकाउनुपर्ने थियो । त्यसमाथि बिग्रियो वा परीक्षणमा सफल भएन भने लगानी मात्रै डुब्ने खतरा थियो ।

त्यसकारण स्वदेशमै यो प्रविधिको विकास होस भन्ने चाहना काफ्लेको थियो । आईटीमा ‘सेन्सर पुस’ डिभाइसमार्फत कृषि प्रविधि चलाउने आधार भेट्न उहाँलाई मुश्किल थियो ।

सोधीखोजी हुँदै जाँदा काफ्लेको भेट हिमालयन कलेज अफ इन्जियनिङका बरिष्ठ उपप्राध्यापक तथा इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल इन्जिनियर इजहार खानसँग भयाे । भेटमा काफ्लेले आफ्नो योजना सुनाउनुभयो । खानले आईटीको नयाँ कार्यक्रम विकास गर्ने सोच रहेको बताउनुभयो । दुवै जनाको सोचमा ‘बजेट र सहकार्य’ मिलनबिन्दु बन्यो । अर्थात काफ्लेले बजेट दिने । खानले नयाँ प्रविधिको विकास र जडान गरेर केन्द्रलाई हस्तान्तरण गर्ने ।

पहिलो पटक प्रविधिको विकास गर्दा त्यसको सफल परीक्षण र सञ्चालनमा बजेट खर्च गर्नुपर्छ । यसका लागि सरकारी निकायले सहयोग गरे आफ्नो कम्पनी र क्षमता ‘पब्लिसिटी’ हुने खानको सोच र अरुभन्दा छिटो प्रविधि भित्र्याउने काफ्लेको योजनाले मूर्त रुप पायो ।

स्मार्ट कृषि प्रविधि सञ्चालन गर्न तीनवटा डिभाइसको तारतम्य मिलाउनुपर्छ । यसका लागि पहिला ‘सेन्सर पुस’ डिभाइस जडान गर्नुपर्छ । अनि मोबाइलमा ‘इ वी लिंक’ एप्स प्लेस्टोरबाट डाउनलोड गर्न सकिन्छ । यसले प्रविधि नियन्त्रण गर्ने काम गर्छ ।

अनि मोबाइलबाटै टनेलमा राखिएको बेर्नामा सिँचाई गर्ने, पंखा र हिटर चलाउन सकिन्छ । टनेलमा राखिएको बत्तीको ‘कलर’ परिवर्तन गर्न भने ‘स्काई स्मार्ट’ एप्सको प्रयोग गरिन्छ । यो पनि गुगुल प्लेस्टोरबाटै मोबाइलमा डाउनलोड गर्न सकिन्छ ।

यी सबै प्रविधि र एप्सबाट खुमलटारमा रहेको तरकारी बाली विकास केन्द्रको ‘उच्च प्रविधियुक्त तरकारी बेर्ना उत्पादन घर’मा बेर्ना उमारेर किसानलाई वितरण पनि थालिसकिएको छ । 

गएको महिना जडान गरिएको प्रविधि आउँदो साउन महिनासम्म परीक्षणमा राखिने काफ्लेले बताउनुभयो । कार्यालयबाटै मोबाइलमा क्लिक गरेपछि टनेलमा तरकारी बेर्ना उत्पादन गर्न सकिने यो प्रविधिबाट उहाँसँगै कृषि विज्ञ, कर्मचारी र किसान पनि खुशी भएका छन् ।

बिस्तारै गाउँ गाउँमा रहेका सहकारीले लगानी गरेमा ‘स्मार्ट कृषि प्रविधि’ किसानको घर घरमा पुर्‍याउन सकिने उहाँको भनाइ छ । यो प्रविधिको विस्तार गर्न सकिएमा देश तरकारीमा आत्मनिर्भर त हुने छ नै । थोरै उत्पादन लागत र जनशक्तिमा पनि कृषि व्यवसाय गर्न ठूलो सघाउ पुग्नेछ ।

‘कृषिमा आधुनिकीकरण आवश्यक छ । त्योभन्दा ठूलो कुरा कृषि प्रविधिको प्रयोग गरेर थोरै लागतमा धेरै उत्पादन गर्नुपर्ने आवश्यकता छ’ केन्द्रका प्रमुख काफ्लेले भन्नुभयो, ‘किसानको यो आवश्यकतालाई पूरा गर्न अब हामी सक्षम हुन्छौँ भन्ने विश्वास छ ।’ 


 

अन्तिम अपडेट: बैशाख २१, २०७६

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

1 Comments

  • Khim bahadur gharti magar

    Feb. 22, 2019, 12:53 p.m.

    याे प्रविधिकाे अाविष्कारले खुशि त ल्यायाे तर उत्पादित कृषि जन्य वस्तु नेपाल सरकारले अन्तर्राष्ट्रियस्तरमा व्यपार व्यवस्थापन गर्दिय नेपाली किसानकाे भलाे हुन्थ्याे कि???

  •  0 Reply

तपाईको प्रतिक्रिया