सांसद संग्रौलाकाे प्रश्न: अख्तियार आयुक्त राजनारायण पाठकलाई किन कारबाही भएन?

 फागुन १०, २०७५ शुक्रबार १४:१८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राज नारायण पाठकलाई कारबाही हुन नसकेको, संघ अन्तरगत निर्माण हुँदै आएका सडक निर्माणको कामको जिम्मेवारी प्रदेशलाई दिए पनि ती सडक निर्माणको काम हुन नसकेको लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद डिला संग्रौला पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राज नारायण पाठकले सार्वजनिक रुपमा घुस लिएको भिडियो ४ महिना अघि प्रधानमन्त्री कार्यालयमा पुगेको भन्दै अहिलेसम्म किन कारबाही भएन ? भनी प्रश्न गर्नुभयो ।

सांसद दिव्यमणि राजभण्डारी पूर्व गोर्खा सैनिकहरुको समस्याका बारेमा छलफल गर्न वार्ता टोली गठन गरी बेलायत सरकारसँग छलफल गर्न माग गर्नुभयो ।

सांसद दुर्गा पौडेलले गुठी संस्थान अन्र्तगत भोगचलन गर्दै आएको जग्गालाई धितोको रुपमा लिन सक्ने गरी व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।   

सांसद देव प्रसाद गुरुङले तनहु लम्जुङ र मनाङका निर्माणाधीन सडक निर्माण कार्य अवरुद्ध भएको भन्दै तत्काल सुचारु गराउन माग गर्नुभयो ।

धर्मशिला चापागाईँले सबै सांसदलाई समान व्यवहार गर्दै सबै सांसदले खर्च गर्ने गरी बजेटको व्यवस्था गर्न माग गर्नुभयो ।

ध्रुब कुमार शाहीले सुर्खेत जिल्लामा वर्षौदेखि भोगचलन गरिरहेकाहरुले जग्गा धनी पुर्जा नपाएको भन्दै सो को व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नर बहादुर धामीले कंचनपुर जिल्लाका ७५ प्रतिशत जनताले जग्गा धनी पूर्जा नपाएको भन्दै तत्काल पूर्जा दिने व्यवस्था मिलाउन माग गर्नुभयो ।

पदम गिरीले निर्धारित समयमै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न माग गर्नुभयो ।

पुष्पा भुसाल गौतमले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा प्रमुख प्रतिपक्षी दलले स्वीकार गरेन भनेर भ्रम श्रृजना गरी निर्वाचन रोक्ने काम भईरहेको भन्दै निर्वाचन हुन नसक्नुको कारणबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

प्रदीप यादवले नेपाल एयरलाइन्सको इन्जिन मर्मत र पार्टपुर्जाको टेण्डरमा १ अबए ५३ करोड रुपैयाको घोटाला भएको सार्वजनिक हुदा पनि त्यसतर्फ सम्बन्धित मन्त्रालयको ध्यान नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद बालकृष्ण खाँडले पूर्व गोर्खा सैनिकहरुको समस्याप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया