अस्ताए पश्चिम दाङका लोकप्रिय नेता

 फागुन १०, २०७५ शुक्रबार १९:५६:६ | हेमराज शर्मा
unn.prixa.net

दाङ - गाउँठाउँको विकासमा सधैं  अगाडि उभिएर नेतृत्व गर्दै आएका प्रदेश सांसद उत्तरकुमार वलीको निधनपछि दाङको पश्चिम क्षेत्र यतिबेला शोकमा छ । 

पश्चिम दाङमा तत्कालीन नेकपा एमालेको संगठन कमजोर थियो । विद्यार्थी जीवनमा नेकपा निकट विद्यार्थी संगठनको जिल्ला सदस्य समेत रहेका उत्तरकुमार वली एमालेका लागि एउटा बलियो खम्बाका रुपमा उदाए । पहिलो संविधानसभा चुनावसम्म निकै कमजोर रहेको नेकपा एमाले त्यसको ५ वर्षपछि जुरुक्क उठेको थियो ।

साविक श्रीगाउँ गाबिस वडा नम्बर १ को लेटा,  हालको दंगीशरण गाउँपालिका ६ लेटारमा २०४१ साल वैशाख १५ गते जन्मेका वलीले २०५६ सालमा नेकपा एमालेको संगठित सदस्यता लिएका थिए । आमा मृत्रीकुमारी वली र बुवा रत्नबहादुर वलीका कान्छो सन्तानका रुपमा जन्मेका वलीले नेकपा एमालेको संगठनलाई बलियो बनाएर २०७४ सालको प्रदेशसभा चुनावमा अत्यधिक मत प्राप्त गरेर विजयी हुनुभएको थियो । 

२०७० सालमा भएको दोस्रो संविधानसभा चुनावमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीसँग पराजित हुनुभएको थियो । चुनावमा पराजित भए पनि उहाँ आफ्नो क्षेत्रमा जान छोड्नुभएन । नागरिकको विश्वास जित्न लाग्नुभयो । जसको फलस्वरुप गएको वर्ष भएको प्रदेशसभा चुनावमा उहाँ विजयी हुनुभयो ।

एक हक्की नेताका रुपमा पहिचान बनाएका नेता वली आफ्नो निर्वाचन क्षेत्रमा लोकप्रीय समेत हुनुहुन्थ्यो । सधैंभरी नागरिकका बीचमा आफ्नो जीवन बिताउने प्रतिबद्धतासहित राजनीतिमा लागेका वलीले ३७ वर्षको उमेरमा संसारबाट बिदा लिनुभयो ।

पश्चिम दाङमा नेकपा पार्टी तथा पार्टी बाहिर समेत लोकप्रीय रहेका नेता वली माघ २४ गते घोराही लमही सडक खण्डको मुसोट पुल नजिक चिसापानीमा वली सवार कारलाई बसले ठक्कर दिएपछि गम्भिर घाइते हुनुभएको थियो । लमही हँुदै कोहलपुर मेडिकल कलेजबाट राजधानीको मेडिसिटी हस्पिटलमा उपचारका क्रममा बिहीबार राती उहाँको निधन भएको हो ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया