माला राम्रो कि दौरा सुरुवाल ! ओली, देउवा र भट्टराईको जुहारी

 फागुन ११, २०७५ शनिबार ९:३५:१८ | मिलन तिमिल्सिना
unn.prixa.net

बारामा १ सय ५१ किलोको माला लाउनासाथ शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो जन्मथलो, कर्मथलो र निर्वाचन क्षेत्र डडेल्धुरामा पुगेको थाहा पाए ।

आफ्नो किल्लामा कालोपत्र र बिजुली स्टेसन उद्घाटन गर्दै ओली चम्कने, आफू कार्यकर्ताले चलाएको पुरानो होटल उद्घाटनमा खुम्चने ! दिनदशा सम्झेर देउवाको मन पोल्यो, तर मनको दुःख मुखमा ल्याउन मिलेन । तैपनि प्रधानमन्त्रीलाई नथर्काई कसरी आफू विपक्षी दलको नेता ! गम्भीर देउवाले बाराबाट ओलीसित कुरा गर्न डडेल्धुरामा फोन लगाए । 

देउवा – जम्मा ५१ किलो । हा हा हा....। के हो मलाई पनि जित्न सकिएन त ?

ओली – हैन घाम अस्ताएकै छैन । होटलको उद्घाटन गर्नासाथ दुई चार पेग दन्काउन भ्याइसक्नुभयो कि क्या हो । बेसुरको कुरा पो गर्दै हुनुहुन्छ ।  ताज्जुब लाग्छ, अब कुरा पनि बुझ्न छाडियो ।

देउवा – माला क्या माला । तपाईँलाई जाबो ५१ किलोको मात्रै लगाइदिए रे भन्या होइन भन्देखिनलाई ।

ओली – ए मालाको पो कुरा गर्नुभएको । ...अँ तपाईँले जत्तिकै लगाएको । चुनावमा हारेका पार्टीका सभापतिलाई मालामा पनि जितेर किन चित्त दुखाउनु भनेर केटाहरुलाई बराबर गर भन्देको नि । तपाईँको नि ५१ किलो, मेरो पनि ५१ किलो ।

देउवा – हा हा ....भन्देखिनलाई तपाईँ पनि अब झुक्किन थाल्नुभएछ । अरुलाई हुस्सु बनाउने मान्छे यसपालि आफै हुस्सु हुनुभएछ । मैले लाको ५१ किलोको मात्र हो र ? मैले त आज १ सय ५१ किलोको माला पो लगाएको त ! 

ओली – ज्या..१ सय ५१ किलो पो हो । हाम्रा केटाहरुले त मलाई ५१ किलोको मात्रै कुरा सुनाएका थिए । पशुपति केटाको गीतले झस्काइरहेको बेला माला कति किलोको हो भनेर बुझ्ने मेसो पनि पाइएनछ । बर्बाद पो भयो त । तपाईँको १ सय ५१ भन्ने थाहा भएको भए म पनि अर्को १ सय थप्न भन्थे नि । बराबर हुन्थ्यो । यसमा त मलाई चिप्लाइहाल्नुभएछ ! अनि तपाईँलाई अहिले किन लगाउनुपरेको नि त्यत्रो १ सय ५१ किलोको माला ? प्रचण्डजीलाई ‘बेला न कुबेला, भेनेजुएला’ भएजस्तै ।

देउवा – पार्टीका साथीहरुलाई देखाउन परेन ! तपाइँ प्रचण्ड र माधवहरुलाई देखाउनुहुन्छ, म कोइरालाहरुलाई देखाउँछु । तपाईँलाई भन्दा पनि आफ्नै साथीहरुलाई देखाउनुथियो यसपालि । तपाईले त बर्बाद पार्नु भाकै थियो, मलाई साथीहरुले पनि बर्बाद पार्न थाले । अनि... नदेखाई भो त ?

ओली – यसै पनि बर्बाद भैसकेको मान्छे फेरि केमा बर्बाद हुनु थियो र बर्बाद पार्नु ।

देउवा – तपाईँ पनि बढ्ता कुरा गर्नुहुन्छ खालि । बर्बाद पारिरहने छन् नि साथीहरु । भन्देखिनलाई कोइराला खलक के । पार्टीलाई आफ्नै बपौती ठान्छन् नि । त्यो शेखर छ नि शेखर ।

ओली – को शेखरको कुरा गर्नुहुन्छ फेरि । म त धेरै मान्छे चिन्दिनँ । कुन केटो हो त्यो । गीत गाउँछ कि क्रिकेट खेल्छ ?

देउवा – गीत गाउने, क्रिकेट खेल्ने केटो होइन क्या । बुढो हो बुढो । तैपनि हाम्रो पार्टीमा त सबै केटो नै हुन्छन्, युवा नै हुन्छन् । शेखर कोइराला क्या । नाम लिँदा पनि रिस उठ्छ भन्या ।

ओली – ए कता कता सुनेजस्तो लाग्छ यो नाम । के गरे र उनले ?

देउवा – के गर्थे नि । भन्देखिनलाई शशांक र सुजातालाई पनि सँगै लगेर वीरगञ्जमा १ सय २१ किलोको माला लगाए भन्या ! अनि माला लगाएर मलाई तथानाम भन्दा रैछन् । त्यो शेखरले त मलाई लक्षित गर्दै यस्ताले पनि पार्टी चलाउन सक्छ भन्दो रहेछ ।

ओली – ठिकै त भनेछन् नि । जे होस् त्यो केटो मलाई मन पर्यो । बरु नम्बर पाउँ न, यसो काम लाग्छ कि ? चिया ख्वाउँ जस्तो लाग्यो, तपाई जस्तो ड्रिंक गर्दैन होला बाहुनको छोराले .... ! 

देउवा – तपाईँले फेरि बढ्ता बोल्नुभयो । हेर्नुहोस् मलाई धेरै जिस्काएको मन पर्दैन । शेखरेलाई त मुखै छोडेँ । तपाईँलाई पनि छाड्न नपरोस् भन्देखिनलाई ।

ओली – छाडौं न त मुख । कसले बढी छाड्न सक्दो रहेछ ।

देउवा – ल ल दुवैले मुख नछाडौँ । तपाईंसँग के सक्छु र मैले । हेर्नुहोस् मलाई कोइराला खलकले देखाउन खोजे । म पनि के कम ? मेरो पालो उनीहरुको भन्दा ठूलो माला लगाइदिएँ । उनीहरु तीनजना भएर जम्मा १ सय २१ किलोको माला लगाए । म एक्लैले १ सय ५१ किलोको । हाहाहा....! भन्देखिनलाई अझ ठूलो लगाउन सक्थें । यति भए पनि पुगिहाल्यो नि, फेरि धेरै किन तर्साउनु भनेर १ सय ५१ किलोको मात्रै लगाइदिएको ।

ओली – उल्कै गर्नुभएछ । ल मालामा मलाई पनि जित्नुभयो, तपाईँलाई बधाई । अहिले यत्तिकैमा चित्त बुझाउनुहोस् । अर्को चुनावमा फेरि हामीले जान्या छौँ नि पोहोरकै हालत देखाउन ।

देउवा – अब त भो जित्नलाई । जनताले चाल पाइसके तपाईँको गफ मात्रै हो भनेर । अब त फेरि हाम्रो पालो ।

ओली – हेरौँला । त्यसै बुरुकबुरुक उफ्रेर, ठूलो माला मात्रै लगाएर हुने भए तिहारमा औँसीको अघिल्लो दिन बिहानैदेखि माला लगाएर गल्ली गल्ली कुद्ने पाङ्ग्रेले पनि चुनाव जित्थ्यो ।

त्यही बेला दुवै नेताको फोनमा बाबुराम भट्टराईको फोन आयो ।

भट्टराई – क्या हो नेताज्यूहरु । फेरि चुनाव जित्न त जनताको घरदैलो चाहर्नुपर्यो नि । मैलेजस्तो । माला लगाएर मात्र हुन्छ ?

ओली – ओहो भट्टराईजी...ल बधाई छ है ...! फेसबुकमा दौरासुरुवाल लगाएको पो देख्या थिएँ । एकछिन त तपाईँ नै हो र ...जस्तो लाग्यो । पत्याउनै मुस्किल पर्यो ! फोनमा आवाज सुन्दा त अहिले पनि दौरा सुरुवाल नै लगाए जस्तो लाग्छ ।

देउवा – हैन कसले लगाएको दौरासुरुवाल, आफू त फेसबुक पनि चलाइन्नँ धेरै ।

भट्टराई – मैले हो देउवाजी मैले । जिन्दगीमै पहिलोपटक लगाइयो । गज्जबै हुँदो रछ । 

ओली – गज्जब त हुन्छ नि, तर कोटको दाहिने खल्तीमा के हालेकोथ्यो फोटो खिच्दा ? दाहिने पट्टीको खल्ती त लत्रक्कै छ त ! 

भट्टराई – धत्तेरिका ओलीजी, तपाईँका आँखा अप्ठेरा ठाउँमा मात्रै पुग्छन् । अलिकति भुटेका मकै हाल्दिए जनयुध्दताका बास बसेको घरका एक कामरेडले । 

ओली – गज्जबै गरेछन्, तपाईँले उन्को शीर निहुराउनु भाथ्यो, अहिले उन्ले तपाईँको कोटको खल्ती लत्राइदिए । अनि दौरा सुरुवाल लाउँदा कस्तो लागिराछ ?

भट्टराई – पिसाब गर्ने बेला अलि अप्ठ्यारो हो, नत्र गज्जबै हुँदो रहेछ नि ।

ओली – बानी हो भट्टराईजी, बानी । दौरा सुरुवाल लगाउँदा न पिसाब गर्न गाह्रो हुन्छ, न हिसाब मिलाउन । लगाउँदै जानुस् न थाहा पाउनुहुन्छ यसको मज्जा ।

भट्टराई – खै सधैँ त लगाइँदैन होला । प्रधानमन्त्री हुँदा चाहिँ नलगाउने, अहिले चाहिँ किन लगाएको भनेर फेसबुक र ट्विटरमा उडाएर उल्का गरेका छन् । 

देउवा – त्यस्ता उडाउनेको पनि कुरा सुनेर हुन्छ ? तिनका कुरा सुनेर त्यसै गर्ने हो भने त मैले उहिल्यै राजनीति छाडेर सन्यास लिनुपर्ने । मूलाहरु कराइरहन्छन्, आफूलाई लागेको गरिरहने हो ।

ओली – ठिक भन्नुभयो देउवाजी । हिजोआज म पनि यसो फेसबुक र ट्विटर हेर्छु । केटाहरुले उडाएरै हैरान पारेका हुन्छन् । उडिएला कि भनेर कहिलेकाहीँ त पलङको डन्डी नै समाउँदो रहेछु । छाड्नुहोस्, समृद्धिका बाधक केटाहरु कराइरहन्छन् । 

भट्टराई – खेदो खन्नुपर्ने त तपाईँहरुकै हो भन्ने हामीलाई लाइराछ, मलाई समेत हैरान पारे र पो त ।

देउवा – किन हामीलाई मात्रै नि । तपाईँले चाहिँ के नाप्नुभएको छ र भन्देखिनलाई ।

ओली – त्यही त भन्या । मासिने बेला कमिलोको प्वाँख आउँछ भन्थे, त्यस्तै कुरा गर्छन् । हुन त मासिसक्या जस्तै हो । यसो चल्न आँटेका मात्रै त हुन् ।

भट्टराई – ल धेरै नखोकौँ । अहिलेकै कुरा गरौँ न तपाईँहरुले माला लगाउँदा धेरैले गाली गरेका छन्, मैले दौरा लगाउँदा धेरैले मन पराएका छन् ।

ओली – लौ देखियो । हामीले पनि हेर्ने गरेका छौँ फेसबुकमा कमेन्ट । बाबुरामको दौरासुरुवाल, लौरो न हतियार ।

देउवा – हाहाहा....हँसाएरै मार्ने भए यी ओलीले पनि । कतिथोक जानेका हुन् ।

ओली – विद्ववानको देशमा जन्मेका मान्छेलाई के के आउँछ, आउँछ नि । पढ्नु पर्यो नि ।

भट्टराई – तपाईँ विद्ववानको देशमा जन्मेको, म विद्वान नै भएको । कहाँको बाबुराम, कहाँको बबुरो ।

ओली – देखियो तपाईँ विद्वान भएको र हामीले पढ्दै नपढेको ।

भट्टराई – ल ल धेरै फूर्ति नलगाउँ ओलीजी । मालाभन्दा दौरा सुरुवाल राम्रो भन्ने हामीलाई लाइराछ ।

देउवा – हैन माला राम्रो ।

भट्टराई – दौरासुरुवाल ।

ओली – हामी त पहिले पनि दौरासुरुवाल लगाउने मान्छे । हामीलाई त पहिल्यै राम्रो लागेको । पहिले दौरा सुरुवाल राम्रो, अहिले दौरा सुरुवालमाथि माला झनै राम्रो ! 
भट्टराई दौरासुरुवालको तारिफ गर्न थाले भनेर ओली र देउवा मालाको पक्षमा ठट्टामिश्रित तर्क गर्दै भट्टराईलाई उडाउन थाले । 

तीनै जना नेताका वरिपरि कार्यकर्ता र कर्मचारी थिए । उनीहरु तीन नेताबीच फोनमा के कुरा हुँदैछ भनेर कान थाप्दै घरि मुर्मुरिन र घरि मुसुमुसु गर्दै थिए । 

यति नै बेला डडेल्धुरामा रहेका ओली र रुकुममा रहेका भट्टराईको फोनमा ट्या ... ट्या आवाज आयो । थाहा भयो, मोबाइलको नेटवर्कले काम गरेन । त्यसपछि भट्टराई दौरा सुरुवालमा टक्टकाउँदै उकालो लागे । देउवा र ओली गह्रौँ माला सुम्सुम्याउँदै काठमाण्डौ उडे ।

तीनैजना नेतालाई वरिपरिबाट घेरेका कर्मचारी र कार्यकर्ता चाहिँ आफ्नाे नेताको माला र दौरा सुरुवालको जयगान गर्न र भिजेको घाँटी सुकाउन आ–आफ्ना लोकल अड्डातिर लागे । 
 

अन्तिम अपडेट: चैत ४, २०७५

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया