प्रदेश सदस्य उत्तरकुमार ओलीकाे अन्त्येष्टि, उर्ल्याे जनसागर

 फागुन ११, २०७५ शनिबार १५:४६:० | हेमराज शर्मा
unn.prixa.net

दाङ – सवारी दुर्घटनामा परेर निधन भएका पाँच नम्बर प्रदेश सभा सदस्य उत्तरकुमार ओलीकाे शनिबार अन्त्येष्टि गरिएको छ । नेपाल प्रहरीकाे सलामी सहित दाङको  दंगिशरण-६ मा रहेकाे  बागर खाेलामा उहाँकाे छाेराले दागबत्ती दिएर अन्त्येष्टि गरिएको हाे ।

अन्तिम श्रद्धाञ्जली कार्यक्रममा संघीय संसदका सभामुख कृष्णबहादुर महरा, मुख्यमन्त्री शंकर पाेखरेल, प्रदेश सभामुख पूर्णबहादुर घर्ती, प्रदेश मन्त्री, संघीय संसद, प्रदेश सभा सदस्य, नेकपाका नेता, कार्यकर्ता, शुभचिन्तकहरुकाे सहभागिता थियाे । उहाँकाे अन्त्येष्टिमा हजाराैं मानिसहरु उपस्थित भएका थिए । 

श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री शंकर पाेखरेलले प्रदेश सदस्य उत्तरकुमार ओलीकाे निधनले प्रदेशलाई अपुरणीय क्षति पुगेकाे बताउनुभयाे । उहाँले उत्तरकुमार ओलीले देखेका सपना पूरा गर्ने जिम्मेवारी आफ्नाे काँधमा आएकाे समेत खेल्ने बताउनुभयाे ।

यस्तै सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेश सरकारले माननीय उत्तरकुमार ओली सडक सुरक्षा याेजना लागू गर्ने पनि पाेखरेलले बताउनुभयाे ।

'प्रदेश पाँचमा सवारी दुर्घटना न्यूनीकरण गर्न विशेष कार्यक्रम ल्याउने छाैँ' उहाँले भन्नुभयाे, 'माननीय उत्तरकुमार ओली सडक सुरक्षा याेजना लागू गर्नेछाैँ, उहाँ हामी माझ नभए पनि उहाँकाे सम्झना सधैं रहिरहने छ ।' 

प्रदेश सभामुख पूर्णबहादुर घर्तीले पनि उत्तरकुमार ओलीकाे निधनले प्रदेश सभालाई ठूलाे क्षति पुगेकाे बताउनुभयाे । माघ २४ गते भएको सवारी दुर्घटनामा परेर घाइते भएका ओलीकाे उपचारको क्रममा १६ दिनपछि मेडिसिटी अस्पताल काठमाण्डौमा मृत्यु भएको थियाे । 

अन्तिम अपडेट: बैशाख २, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया