डीपीएल: महेन्द्रनगरलाई तीन विकेटले हराउँदै सीवाईसी अत्तरियाले उचाल्याे उपाधि

 फागुन ११, २०७५ शनिबार १६:३२:१३ | उज्यालो सहकर्मी

कैलाली - पहिलो पटक फाइनलमा पुगेको सीवाईसी अत्तरियाले महेन्द्रनगरलाई तीन विकेटले हराउँदै धनगढी प्रिमियर लिगकाे उपाधि उचालेकाे छ ।

फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगर २० ओभरमा एक सय २३ रनमा अलआउट भयो । उसले ११ रन बनाउँदा पहिलो विकेट गुमायो ।

ओपनर मोहम्मद नाभिद १० रनमा आउट भए । त्यसपछि उसले १४ रनमा दोस्रो विकेट खेर फाल्यो । जसमा सब्रमनियम आनन्द मात्र दुई रनमा पेभेलियन फर्किए । त्यसपछि उसले ४२ रन बनाउदा थप दुई विकेट गुमायो । जसमा आरिफ शेख ११ रनमा आउट भए भने कप्तान शरद भेषवाकरले खाता खोल्न सकेनन् ।

त्यसपछि दिलीप नाथ र कुशल मल्लले पाँचौ विकेटका लागि ५१ रनको साझेदारी गर्दै टिमको पारी सम्हाले । कुशल ब्यक्तिगत २५ रनमा आउट भएपछि महेन्द्रनगरले ९३ रनमा पाँचौ विकेट झर्यो ।

त्यसपछि राम्रो ब्याटिङ गरिरहेका दिलीप नाथ ४३ रनमा आउट भएपछि महेन्द्रनगरले ९७ रनमा छैटौं विकेट खेर फाल्यो । महेन्द्रनगरको स्कोर एक सय सात रन हुँदा अमरसिंह रौटेला मात्र एक रनमा सातौ विकेटका रुपमा आउट भए ।

लगत्तै उसले स्कोरबोर्डमा अरु सात रन जोड्दा थप एक विकेट गुमायो । अभिनाश बोहोरा खाता खोल्न नपाउँदै आउट भए । उसका रोहितकुमार पौडेलले २४ रन बनाए । बलिङमा दिपेन्द्र राउत र दिपेन्द्रन ऐरीले दुई दुई विकेट लिए ।

जवाफमा अत्तरियाले १९ ओभर चार बलमा सात विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । अत्तरीयाको जितमा विदेशी खेलाडी सन्नी पटेलले उत्कृष्ट प्रदर्शन गरे ।

३१ रन हुँदा पहिलो विकेट गुमाएको अत्तरियाले ३९ रनमा दोस्रो विकेट खेर फाल्यो । ज्ञानेन्द्र कुवँर सात तथा सन्दिप जोरा दुई रनमा आउट भए । त्यसपछि जयकिशन कोल्सावाला ३० रनमा आउट भएपछि अत्तरियाले ४३ रनमा तेस्रो विकेट गुमायो ।

लगत्तै रित गौतम पनि पनि आउट भएपछि ४० रनमा अत्तरियाको महत्वपूर्ण चार विकेट झर्यो । उसका मध्यक्रमका खेलाडीबीच राम्रो साझेदारी हुन नसक्दा अत्तरियाले ५४ रनमा ५ विकेट गुमायो ।

त्यसपछि ९२ रनमा ६ विकेट गुमाएको अत्तरियाका कप्तान दिपेन्द्र ऐरी १७ रनमा आउट भए । एक सय ११ रन हुँदा सात विकेट गुमाएको अत्तरियाको जितमा सन्नी पटेलले उत्कृ्ष्ट पारी खेले । उनले अविजीत ४७ रन बनाए ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया