काबेली कोरिडोर प्रसारण लाइनमा ट्रान्सफर्मर जडान गर्न अझै पाँच महिना लाग्ने

 असार ९, २०७५ शनिबार १५:५०:४ | सुजता सुनुवार

इलाम – काबेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाका लागि नयाँ ट्रान्सफर्मर जडान गर्न अझै पाँच महिना लाग्ने भएको छ ।

प्रसारण लाइनका तीन खण्डमध्ये एक खण्डको काम सकिएको र बाँकी २ खण्डमा ट्रान्सफर्मर राख्ने काम सक्न कम्तिमा ५ महिना लाग्ने आयोजनाले जनाएको छ । 
झापाको लखनपुरदेखि पाँचथरको अमरपुरसम्मको प्रसारणलाइनको पहिलो खण्डको निर्माण सम्पन्न भए पनि फिदिम थापाटारसम्मको दोस्रोखण्ड र थापाटारदेखि अमरपुरसम्मको तेश्रो खण्डको निर्माण सक्न अझै पाँच महिना लाग्ने आयोजनाले जनाएको हो । 

दोश्रो र तेश्रो खण्डमा जग्गा अधिग्रहणको काम सकिएको छ भने ट्रान्सफर्मर राख्ने, खम्बा गाड्ने तार टाङ्ने लगायतका काम बाँकी नै छन् । प्रसारण लाइन ढिलो हुँदा पाँचथर र ताप्लेजुङमा निर्माण भइरहेका विभिन्न जलविद्युत आयोजनामा उत्पादित विजुली खेर जाने सम्भावना बढ्दै गएको छ ।

आयोजनाको गोदकस्थित सबस्टेसन हुँदै राष्ट्रिय प्रसारणमा जाने बिजुली भएपछि ६० एमबीएको नयाँ ट्रान्सफर्मर जडान गर्न लागिएको आयोजना प्रमुख दीपेन्द्रराज द्धिवेदीले जानकारी दिनुभयो । ३३ केभी लाइन मार्फत २७ देखि २८ मेगावाट बिजुली आइरहेको र बढी भएको बेला धान्न नसक्ने समस्या रहेकाले बढी क्षमताको ट्रान्सफर्मर जडान गर्न लगिएको उहाँले बताउनुभयो ।

बढी क्षमताको ट्रान्सफर्मर राखेपछि इलाम पुवाखोला जलविद्युत केन्द्र, जोगमाई, पुवाखोला वान, हिमाल दोलखा र पाँचथरबाट ३३ केभी लाइनमार्फत आएको बिजुलीलाई १३२ केभी प्रसारण लाइनमा पठाउन मद्दत पुर्याउने उहाँले बताउनुभयो ।

सानिमा माइ हाइड्रो र अपरमाईबाट उत्पादित बिजुली भने १३२ केभी प्रसारण लाइनबाट आउने भएकाले सिधै राष्ट्रिय प्रशारणमा गइरहेको छ । ट्रान्सफर्मर ल्याउन मेची राजमार्गको राजदुवालीदेखि गोदक कबेली कोरिडोर सब–स्टेसनसम्म सडक मर्मत गर्ने काम चलिरहेको छ । यो सडकलाई आगामी वर्षमा कालोपत्रे गर्न ठेक्का दिने तयारी पनि भइरहेको आयोजनाले जानकारी दिएको छ । 

सन् २०११ मा सम्झौता भइ काम शुरु भएको आयोजना सन् २०१४ सम्ममा सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म काम सकिएको छैन । 

अन्तिम अपडेट: चैत ३०, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया