उन्नत बीउमा आत्मनिर्भर बन्दै अर्घाखाँची

 फागुन ११, २०७५ शनिबार १९:१४:१२ | प्रेमनारायण आचार्य
unn.prixa.net

सन्धिखर्क – प्रदेश पाँचको पहाडी जिल्ला अर्घाखाँची उन्नत बीउमा आत्मनिर्भर बन्न थालेको छ । 

बाहिरी जिल्लाबाट आयात गरिएका बीउहरु नउम्रने र राम्रो उत्पादन नहुने भएपछि जिल्लामा रहेका विभिन्न कृषि समुह तथा सहकारीहरु बीउ उत्पादनमा लागेका छन् । 

जिल्लालाइ बीउ उत्पादनमा नमुना जिल्ला बनाउने गरी काम अगाडि बढेको छ । खाद्यान्न बालीतर्फ मकै, धान र गहुँको बीउ उत्पादन भएको छ । तरकारी बालीतर्फ बोडी, सिमी, केराउ र मुलाको बीउ उत्पादन भएको छ  । 

विभिन्न सहकारी र समूहमार्फत हालसम्म यस जिल्लाबाट बजारमा करिब ४सय २५ मेट्रिक टन बीउ बिक्री  भइसकेको छ । बीउ उत्पादनमा किसानका लागि उन्नत बीउबिजन कार्यक्रम (केयुबिके) ले कृषक, समूह र सहकारीलाइ सहजीकरण गरिरहेको छ । 

केयुबिकेबाट कृषकहरुलाई उनीहरुकै बीउ उत्पादनको लागि तयार गरिएको व्यवसायिक योजना अनुसार विभिन्न शिर्षकहरुमा शिर्षकअनुसार २५ प्रतिशतदेखि १०० प्रतिशत सम्मको अनुदान व्यवस्था समेत गरिएको छ ।

किसानहरुले केयुबिकेबाट उत्पादित बीउ एक पटक प्रयोग गरिसकेपछि फेरि फेरि खोज्ने गरेको नयाँ नेपाल एग्रोभेटका सञ्चालक युवराज पौडेलले बताउनुभयो ।

 
यस जिल्लामा उत्पादन भएको बीउमा न्यूनतम उमारशक्ति ९० प्रतिशतभन्दा माथि रहेको छ । उन्नत बीउ उत्पादन कार्यक्रम सञ्चालन भएपछि बीउको प्रतिस्थापन दर पनि हरेक वर्ष वढदै गएको छ । 

अर्घाखाँची जिल्लामा उन्नत बीउ उत्पादन कार्यक्रम आ.व.२०७२।७३ देखि सुरु भएको हो । अहिले जिल्लामा ६८ वटा कृषक समूह र सहकारीले सकृय रुपमा बीउबिजन उत्पादनको काम गरिरहेको केयुबिकेका जिल्ला बिजनेस एडभाइजर वाबुराम चुदालीले बताउनुभयो । 

बीउको बजारीकरणको लागि अर्घाखाँची उद्योग वाणिज्य संघले जिल्लाभित्रका स्थानीय एग्रोभेट र खाद्यान्न बालीको लागि जिल्ला बाहिरका बीउ कम्पनीहरुसँग सम्झौता गरी न्यूनतम समर्थन मूल्य कायम गरेर सहजीकरण गर्दै आएको छ । 

प्राविधिकहरुको प्रत्यक्ष रेखदेखमा शुद्धता र उमारशक्तिको लागि ल्याक परीक्षण गरेर प्रतिवेदनको आधारमा टयागिङ र ब्यागिङ गरि बजारमा पठाइने हुनाले केयुबिकेबाट उत्पादत बीउको अर्डर सबैतिरवाट आउने गरेको छ । 

किसान लागि उन्नत बीउबिजन कार्यक्रमले अर्घाखाँची जिल्लाको डिभर्नामा जालकाँडा बाख्रापालन समुहमा समुदायमा आधारित नेपालकै पहिलो वोयर ब्रीडर हर्ड सञ्चालनमा ल्याएको छ । 

हालसम्म यहाँका किसानहरुले वोयर पाठा–पाठी बिक्रीबाट एक करोड पच्चीस लाख रुपैयाँ आम्दानी गरिसकेका छन् । 
अहिले करिब १०० जति पाठाहरु बिक्रीका लागि तयारी अवस्था हुन लागेका छन् । यस आर्थिक वर्षमा थप करिब एक करोड पचास लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको बाख्रापालन समूहका अध्यक्ष गोपाल बस्याल बताउनुहुन्छ ।

वोयर व्रिडर हर्डमा सुरक्षा, गुणस्तरीयता, स्वास्थ्य,शुद्धता र सवै वाख्राहरुको अभिलेखीकरणमा विशेष ध्यान दिएको अध्यक्ष बस्यालको भनाइ छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया