जन्मदेखि नै अपांग एकै परिवारका तीन जनालाई प्रवासी बालबालिकाको आर्थिक सहयोग

 असार ९, २०७५ शनिबार १६:२७:३० | सन्तोष थापा
unn.prixa.net

अपांग बालबालिकाकाे फाइल फाेटाे

पर्वत – एउटै परिवारका तीन  सन्तान जन्मेदेखि ओछ्यानमा छन् ।

सामान्य परिवारका ती अपाङ्गको उपचार र खानपानका लागि समेत समस्या छ  । सुतेरै जीवन बिताइरहेका ती अपाङ्गहरुको पीडा र समस्या युटुबमा देखेपछि अमेरिकामा बस्दै आएका प्रवासी बालबालिकाले तिहारमा देउसी खेलेर जम्मा गरेको रकम सहयोग गरेका छन ।

अमेरिकाको भर्जिनीयमा बस्ने साना बालबालिकाले तिहारमा देउसीमा जम्मा गरेको र विद्यालयको खाजा खर्च कटाएर  पर्वतको बिहादी गाउँपालिका वडा नम्बर–३, रानीपानीका  बलबहादुर परियारको तीन अपांग छोरीलाई आर्थिक सहयोग गरेका हुन्  ।

अपांग बालबालिकालार्इ सहयाेग गर्ने प्रवासी बालबालिका

भर्जिनियमा बस्दै आएका पर्वतको कुस्मा नगरपालिका –४, का माधव र सरिता उपाध्यायका छोरा–छोरी  स्मृती र प्रतिक तथा उनका साथीहरुले गएको तिहारमा देउसी खेलेको र खाजा खर्च कटाएर जम्मा गरेको ३१ हजार रुपैयाँ अपांग बालबालिकालाई आर्थिक सहयोग गरेका हुन् । सहयोग रकम पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र स्मृती र प्रतिककी हजुरआमा लुमाकुमारी उपाध्यायले अपांग बालिकाका बाबु बलबहादुर परियारलाई हस्तान्तरण गर्नुभयो ।

रानीपानीका अपांग बच्चाहरुको अवस्था र उनीहरुको परिवारले स्याहार सुसारका लागि भोग्दै आएको समस्यामा सहयोगी बन्ने साना बालबालिकाको चाहना भएपछि आर्थिक सहयोग पठाएको सहयोगी बालबालिकाका आफन्त भगवतीप्रसाद उपाध्यायले बताउनुभयो ।

अमेरिकामा बस्दै आएका भैरहवाका बासिन्दा पदमराज रेग्मीको प्रेरणा र स्मृती तथा प्रतिकका साथीहरु रिवाज रेग्मी, प्रथा रेग्मी, सन्तोष क्षेत्री, बिशेष ढुंगाना र अच्यूत ढुंगनाले देउसी खेलेर रकम जम्मा गरेका थिए । सहयोग रकम हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले आफू र कार्यालयबाट पनि सक्दो सहयोग गर्ने बताउनुभयो ।

जन्मदेखि नै ओच्छ्यानमा रहेका बलबहादुरका चार अपांग छोरी मध्ये एक जनाको मृत्यु भएको छ । अहिले २३ वर्षकी मिठु परियार, १५ वर्षकी गंगा र १३ वर्षकी अनिताको पालनपोषण परिवारले गर्दै आएको छ ।

बलबहादुर र कौशिलाका १० सन्तान मध्ये उनीहरुले चार सन्तान गुमाइसकेका छन ।  एक छोरीको विवाह भइसकेको छ । एक छोरी विद्यालय पढ्दैछिन । कान्छो छोरो काखमा छ । जन्मेको ६ महिनासम्म स्वस्थ्य नै भए पनि त्यसपछि छोरीहरु पालैपालो थला परेको बाबु बलबहादुरले बताउनुभयो । अपांग छोरीहरु निरन्तर बिरामी पर्ने भएकाले परिवार झनै समस्यामा पर्ने गरेको छ ।

उपचारका लागि बाबु आमाले ऋण गरेर विभिन्न ठाउँका अस्पतालसम्म पुर्‍याए पनि उपचार सम्भव छैन भनेर डाक्टरले नै फर्काएपछि उनीहरु मृत्यपर्यन्त सुतेरै दिन काट्न बाध्य छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया