रानीपोखरी पुनर्निर्माण मोडेलकाे टुंगाे लाग्याे

 फागुन १२, २०७५ आइतबार १५:४६:५५ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डाै – रानीपोखरी पुनर्निर्माणको मोडेल टुंगो लागेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विज्ञसहितको बैठकले रानीपोखरी पुननर्निर्माण कसरी गर्ने भन्ने टुंगो लगाएको हो । 

अब रानीपोखरी पुनर्निर्माण गर्दा सबैभन्दा पहिले झण्डै एक फिट तलसम्म खनी घाँस हटाउने र त्यसपछि त्यहाँ रहेको सबै वालुवा निकाली एक ठाउँमा माटो नमिसिने गरी जम्मा गरिनेछ । त्यसपछि पोखरीको कालीमाटी रहेको तहमा थप एक फिटको कालीमाटी राख्ने र माटोको तह तयार भएपछि झण्डै दुई फिटको बालुवा राखिनेछ ।

त्यस्तै, पोखरीको डिलको सम्बन्धमा पनि निर्णय भएको छ । विगतमा रिटेनिङ पर्खाल लगाउँदा बिग्रेको पोखरीको सतहलाई पुरानै तह अनुसार बनाइनेछ । त्यसपछि पोखरीको डिलको माथिल्लो भागमा ठूलो माअप्पा ल्होःफ अप्पा ‍(उच्च गुणस्तरका इँटा)को पेटी लगाइनेछ ।

पोखरीको डिल र फुटपाथको छेउसम्म इँटा सोलिङ एवं लाइम कंक्रिट गरेर ठाडो इँटा बिछ्याउने कार्य गरिनेछ । हालै बनाइएको ढुंगाको रिटेनिङ पर्खालमा माअप्पाको आवरण लगाई फुटपाथ लेवलमा लाइम कंक्रिटपछि माअप्पाको नै रेलिङ वाल बनाइनेछ । त्यसक्रममा फुटपाथमा इँटा सोलिङ र लाइम कंक्रिट गरी २ इन्च बाक्लो कालो ढुंगा बिछ्याइनेछ ।

 पोखरीको सिँढीमा बस्न ढुंगाको पेटी राखी बाहिरबाट मा अप्पाले मोड्ने, साथै पोखरीको संरक्षण एवं निर्माण गर्दा पूर्व र उत्तरतर्फ समेत ढुंगाको पेटी राखी बाहिरबाट मा अप्पाले मोडी मौलिकता र एकरुपता झल्किने किसिमले सिँढीहरुको निर्माण हुनेछ । 

पोखरीको पानीका लागि पूर्वतर्फ एउटा बोरिङको व्यवस्था गर्ने र ठाउँ ठाउँमा आकाशे पानी संकलन गर्ने संयन्त्र निर्माण गर्ने पनि निर्णय भएको छ । पोखरीमा पानीको मात्रा अटुट राख्न मेलम्ची पाइप लाइनसँग जोड्ने प्रावधान पनि खुला राखिनेछ । पोखरीको माथिल्लो सतहमा केही मात्रामा माटो राखी हरियाली पनि कायम गरिनेछ ।

त्यसैगरी, रानीपोखरीको बीचमा अवस्थित बालगोपालेश्वर मन्दिरसँग जोडिएको पुलको निर्माण गर्दा पुलको जगदेखि पानीको सतहसम्म ड्राई ड्रेस स्टोन वाल लगाउने र त्यसको बाहिरी भागमा संभव भएसम्म पुरानै इँटाहरु प्रयोग गरिनेछ ।

पुलको वृत–खण्ड र त्यसमाथिको भाग निर्माण गर्दा लाइम र सुर्खी मोर्टार प्रयोग गरिनेछ । पानीको सतहदेखि माथि पुलसम्म निर्माण गर्दा संभव भएसम्म पुरानै इँटाको प्रयोग हुनेछ । पुलको फुटपाथमा कालो ढुंगाले पेभिङ गर्ने र पुलको दायाँ र बायाँतर्फ दचिअप्पा प्रयोग गरी १४ इन्चको पर्खाल निर्माण गरिनेछ ।

यसअघि, नै रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर प्रताप मल्लकालीन ग्रन्थकुट शिखर शैलीमा पुनर्निर्माण गर्ने टुंगो लागिसकेको छ । 

मन्त्रीपरिषद्को माघ १४ गतेको बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिर लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको पुनर्निर्माण सम्बन्धी सम्पूर्ण कार्य प्राधिकरणले गर्ने गरी जिम्मेवारी दिएको थियो ।

बैठकमा पुरातत्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्की, बरिष्ठ स्ट्रक्चरल इञ्जिनियर प्रेमनाथ मास्के, पुरातत्व विभागका स्ट्रक्चरल इञ्जिनियर पुरुषोत्तम डंगोल, पुरातत्व विभागकै इञ्जिनियर पूर्ण बहादुर श्रेष्ठ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिडिई धु्रव पौडेल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पुरातत्व अधिकृत भीष्म बाँस्कोटा लगायतको सहभागिता थियो ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया