जग्गा अनुगमन गर्न चिनियाँ उद्योगीहरुको टोली गौशाला नगरपालिकामा

 फागुन १२, २०७५ आइतबार १९:५६:३९ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - महोत्तरीको गौशाला नगरपालिकामा स्थापना हुन लागेको चिनियाँ औद्योगिक करिडोरको जग्गा आइतबार एक टोलीले स्थलगत अनुगमन गरेकाे छ ।

आइतबार दिउँसो योङ्ग लिङ्गको नेतृत्वमा आएको चिनियाँ उद्योगपतिहरुको एक टोलीले गौशाला नगरपालिकाले वडा नंं. ८ मा उपलब्ध गराएको जग्गाको स्थलगत अनुगमन गरेको हो । 

चिनियाँ उद्योगीहरुले गौशालामा रोजगारीको अवसर जुटाएकोले यसलाई हरेकले आ आफनो तर्फबाट सहयोग गर्नुपर्ने गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्यालले बताउनुभयाे । 

२७ जना उद्योगपति सम्मिलित टोलीले अनुगमन गर्दै यहाँका अवस्थाको बारेमा बुझेको गौशाला नपाका उपमेयर आशा लामाले बताउनुभयाे । करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी रहेको १० प्रतिशत कागजी प्रक्रियाको काम चाँडै नै अगाडि बढाइने उपमेयर लामाकाे भनाइ छ ।

अनुगमनका क्रममा १० मिटर चौडाइ भएको बाटो निर्माणको लागि माग गरिएको गौशाला नगरपालिकाका प्रवक्ता एवम वडाअध्यक्ष भोजबहादुर दर्लामीले बताउनुभयाे । 

त्यसै क्रममा प्रदेशसभा सांसद भरतप्रसाद साहले अधिक जनसंख्या भएकोले यस प्रदेशका लाखौँ युवाहरु बहिर मुलुकमा जाने गरेकोमा त्यसलाई न्यूनीकरण गर्न यहाँ औद्योगिक करिडोर स्थापना गर्ने प्रक्रिया अगाडि बढाइएको जनाउनुभयाे ।

नेपाल चिनियाँ फाेरमका अध्यक्ष मणि लामाले उद्योगमन्त्रीको पहलमा प्रक्रिया अगाडि बढेकोले यससम्बन्धमा सरकारले पहल गर्दै आएको जनाउनुभयाे । खोजेजस्तै जग्गा यहाँँ पाइएकोले यस क्षेत्रलाई नै चिनियाँ टोलीले ठाँउ रोजेको अध्यक्ष लामाले बताउनुभयाे।

अन्तिम अपडेट: फागुन ३०, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया