वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाका परिवारलाई झण्डै २ अर्ब सहायता

 फागुन १३, २०७५ सोमबार ९:३६:० | मोहन पौडेल

काठमाण्डौ –सोलुखुम्बुका हर्कजंग राईको गएको माघमा मलेसियामा गाडी दुर्घटनामा परेर ज्यान गयो । हर्कजंगको परिवारले शवको सदगत गरेपछि वैदेशिक रोजगार प्रबद्र्धन बोर्डमा आर्थिक सहायताका लागि निवेदन दिए ।

निवेदन दिएकै दिन हर्कजंगका बुवा पहलसिंह राईलाई बोर्डले ७ लाख रुपैयाँको चेक दियो । दुई दिनमा चेक साटेर उहाँले पैसा लिनुभयो । धनुषाका जगदिश खत्वेको पनि वैदेशिक रोजगारीका क्रममा ज्यान गयो ।

करार अवधिभित्रै ज्यान गुमाएका खत्वेको परिवारले पनि वैदेशिक रोजगार प्रबद्र्धन बोर्डबाट ७ लाख रुपैयाँ आर्थिक सहायता पायो । हर्कजंग र जगदिशका परिवारलाई जस्तै बोर्डले पछिल्लो १० वर्षमा झण्डै २ अर्ब आर्थिक सहायता दिएको छ । आर्थिक वर्ष २०६५/०६६ देखि चालु आर्थिक वर्ष २०७५/०७६ को सात महिनासम्ममा बोर्डले एक अर्ब ८२ करोड १४ लाख ४ हजार रुपैयाँ आर्थिक सहायता दिएको हो । 

बोर्डले स्थापना भएको पहिलो वर्ष ७७ जनालाई ७६ लाख ९९ हजार रुपैयाँ सहायता वितरण गरेकोमा त्यसपछिका आर्थिक वर्षमा सहायता लिनेहरु बढेको तथ्याङ्कले देखाउँछ । 

चालु आर्थिक वर्षको पछिल्लो ७ महिनामा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका ४ सय ६४ जनाले वैदेशिक रोजगार प्रबद्र्धन बोर्डबाट आर्थिक सहायता पाएका छन् ।

गएको साउनदेखि माघ २८ गतेसम्म वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका १४ महिला र ४ सय ५० जना पुरुष गरी ४ सय ६४ जनाको परिवारले ३० करोड ७५ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता पाएका छन् । 

आर्थिक वर्ष अनुसार मृतकका आफन्तले पाएको आर्थिक सहायता 


वैदेशिक रोजगार नियमावलीअनुसार रोजगारीका क्रममा करार अवधिभित्रमा ज्यान गुमाएकाका परिवारले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट ७ लाख रुपैयाँ आर्थिक सहायता पाउँछन् । त्यसका लागि अहिलेसम्म काठमाण्डौ नै आउनुपर्ने व्यवस्था छ । मृत्यु भएको एक वर्षभित्रमा निवेदन दिएमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई बोर्डले एकै दिनमा चेक दिने व्यवस्था छ ।
चाहिने कागजात
वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारले आर्थिक सहायता पाउन विदेशको करार अवधि बाँकी नै रहेको प्रमाणित हुने कागजात, मृतकको राहदानी, विवाहित भए श्रीमान श्रीमतीको नाता प्रमाणित हुने कागजात, अविवाहित भए अभिभावकसँग नाता खुल्ने कागजातसहित निवेदन दिनुपर्छ ।
बिरामी र अंगभंग भएकाहरुले पाउने आर्थिक सहायता 
बोर्डले वैदेशिक रोजगारीका क्रममा बिरामी भएका वा अंगभंग भएका व्यक्तिलाई पनि आर्थिक सहायता दिने गरेको छ । बिरामी वा अंगभंग भएका व्यक्तिलाई उनीहरुको अवस्था हेरेर आर्थिक सहायता दिइने बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताउनुभयो । ‘यसका लागि चिकित्सकसहितको विज्ञ समुह नै छ । उहाँहरुले बिरामीको अवस्था के छ भनेर प्रमाणित गरेपछि त्यसकै आधारमा सहायता दिइने हो ।’ उहाँले भन्नुभयो । 
आर्थिक वर्ष अनुसार बिरामी र अंगभंग भएकाहरुले लिएको आर्थिक सहायता 

आर्थिक सहायता लिन काठमाण्डौ नै आउनुपर्ने बाध्यता हटाउने तयारी 

सरकारले विदेशमा मृत्यु वा अङ्गभङ्ग हुँदा पीडितका परिवारलाई दिइने आर्थिक सहायता स्थानीय तहबाटै वितरणको तयारी सुरु गरेको छ । अहिले आर्थिक सहायता लिन काठमाण्डौमा रहेको बोर्डको सचिवालयमै आउनुपर्ने व्यवस्था रहेकोमा पीडित परिवारलाई अब स्थानीय तहबाटै दिने तयारी गरेको हो ।

यसका लागि वैदेशिक रोजगार प्रबद्र्धन बोर्डले निर्देशिका तयार पारेको छ । बोर्डले तयार पारेको निर्देशिका अहिले मन्त्रालयमा रहेको भन्दै बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले निर्देशिका छिट्टै मन्त्रीपरिषदबाट स्वीकृत हुने बताउनुभयो ।

यो निर्देशिका पारित भएपछि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका वा अङ्गभङ्ग भएका व्यक्तिका परिवार आर्थिक सहायता लिन काठमाण्डौ आउनुपर्ने छैन । आर्थिक सहायताका स्थानीय तहबाटै प्रक्रिया सुरु गरेर त्यहीँबाट पाउने गरी निर्देशिका तयार पारिएको श्रेष्ठले बताउनुभयो ।

 

अन्तिम अपडेट: चैत १४, २०८०

मोहन पौडेल

मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

तपाईको प्रतिक्रिया