महिला टी–२० विश्वकप छनोट : चीनलाई ५ रनले हराउँदै नेपालले चौथो जित निकाल्यो

 फागुन १३, २०७५ सोमबार १५:३७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी महिला टी–२० विश्वकप अन्तर्गत एसिया क्षेत्रीय छनोटमा नेपालले चौथो जित निकालेको छ । सोमबार भएको खेलमा नेपालले चीनलाई ५ रनले हरायो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै ७७ रन बनायो ।  टिममा दुई खेलाडी परिवर्तन गरेको नेपालले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरेको थियो । ओपनर सिता राना मगर ११ रनमा आउट भइन् । त्यसपछि लगत्तै नेपालको दोस्रो विकेट झर्यो । अर्की ओपनर काजल श्रेष्ठ १८ रनमा आउट भइन् ।

नेपालको स्कोर ५ रन हुँदा अरु दुई विकेट झर्न पुग्यो । जसमा विन्दु रावल १० रनमा तथा इन्दु बर्मा आठ रनमा पेभेलियन फर्किइन् । यस्तै नेपालले ६० रनमा पाँचौ तथा ६५ रनमा छैटौ विकेट खेर फाल्यो । अप्सरा तीन तथा कप्तान रुबिना क्षेत्री ५ रनमा आउट भइन् । तर त्यसपछि  नेपालका खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए । करुणा भण्डारीले खाता खोल्न सकिनन् भने सरिता मगर ६ रनमा आउट भइन ।

जवाफमा चीन २० ओभरमा ६ विकेट गुमाउँदा ७२ रनमा रोकियो । मात्र चार रन हुँदा पहिलो विकेट गुमाएको चीनले २० रन बनाउदा दुई विकेट खेर फाल्यो । उसका लागि झाङ चानले तीन, कप्तान हुवाँ झुओले तीन, फो सोङले ६ रन बनाइन् । 

तेस्रो विकेटका लागि केइउन झु र झाङ मेइले ३८ रनको साझेदारी गर्दै टिमको पारीलाई सम्हालेका थिए । तर झु १८ रनमा आउट भएपछि चीनले ५८ रनमा चौथो विकेट गुमायो । 

अन्तिम ओभरमा चीनलाई जितका लागि १६ रन आवश्यक थियो । तर उसले पूरा गर्न सकेन । जसमा उसले एक विकेट गुमाउन पुग्यो । बलिङमा नेपालका लागि सिता राना मगरले तीन विकेट लिइन् ।

आजकाे जितसँगै नेपाल ५ खेलमा ४ खेल जित्दै ८ अंकसहित तेस्राे स्थानमा रहेकाे छ ।


 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया