बझाङमा फेरि हिमपात : विद्युत सेवा अवरुद्ध

 फागुन १३, २०७५ सोमबार १९:४३:५४ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङ जिल्लामा फेरि पनि हिमपात भएको छ ।   हिमपातका  कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ । 

जिल्लामा परेको हिमपातका कारण विद्युत सेवासमेत अवरुद्ध भएको छ । बझाङ जिल्लामा विद्युत आपूर्ति गर्ने राष्ट्रिय प्रसारण लाइन आइतबा बाट अवरुद्ध भएपछि जिल्ला सदरमुकाम चैनपुर अन्धकार बनेको छ । 

विद्युत सेवा अवरुद्ध हुँदा विद्युतबाट सञ्चालन हुने सबै कामहरु अवरुद्ध भएका छन् । विद्युत प्राधिकरणका बझाङका  वितरण केन्द्र प्रमुख राकेशप्रसाद भट्टले सोमबार दिउँसो देखि परेको पानी र हिमपातका कारण विद्युत सेवा अवरुद्ध भएको बताउनुभयो । पुस महिनादेखि  बझाङमा अहिलेसम्म चार पटक हिमपात भइसकेको छ ।

भारी वर्षा र हिमपात भएका बेला बझाङमा विद्युत सेवा अवरुद्ध हुने गरेको छ । कहिले पोल ढल्ने, कहिले चट्याङ परेर बिजुलीका पोलमा राखिएको इन्सुलेटर पड्किने समस्याका कारण विद्युत सेवा अवरुद्ध हुने गरेको कार्यालय प्रमुख भट्टले बताउनुभयो । 

बैतडीको खोड्पेबाट बझाङका लागि ३३ केभीको लाइन ल्याइएको छ । विद्युत बन्द भएको क्षेत्रमा मर्मतका लागि प्राविधिकको टोली खटिएको र केही समयपछि विद्युत सञ्चालनमा आउन सक्ने भट्टले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया