भरतपुर महानगरभित्र चरम भ्रष्टाचार हुँदा पनि मेयरले बेवास्ता गर्नुभयो : उपमेयर पार्वती शाह

 फागुन १४, २०७५ मंगलबार १२:३२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  भरतपुर महानगरकी उपमेयर पार्वती शाह ठकुरीले महानगरभित्र चरम भ्रष्टाचार भएको दाबी गर्नुभएको छ । मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी उपमेयर शाहले महानगरले खरिद बिक्रीका काममा विधि र प्रक्रिया मिचेको, अनुगमन प्रभावकारी नभएको, सरकारी सवारीसाधनको जथाभावी प्रयोग हुने गरेको दाबी गर्नुभएको हो ।

महानगरलाई आवश्यक सामान खरिद बिक्री गर्दा सार्वजनिक खरिद ऐन अनुसार प्रक्रिया पूरा गरी जवाफदेही र पारदर्शी बन्न आफूले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि महानगर मेयरले त्यसलाई बेवास्ता गरेको जिकीर गर्नुभयो । २४ औँ बैठकसम्म आइपुग्दा पनि मेयरकै कारण महानगरमा लेखा समिति र जिन्सी समिति गठन हुन नसकेको आरोप उहाँले लगाउनुभयो ।

महानगर प्रमुखको निर्देशनमा चल्ने हो प्रमुखले एकलौटी निर्णयका आधारमा महानगरका गतिविधि सञ्चालन हुदै आएको दाबी पनि उपमेयरले गर्नुभयो । पत्रकार सम्मेलनमा उहाँले महानगरमा भएका अनियमितता, कर्मचारीमाथि हुने गरेको विभेद तथा सरकारी सवारी साधनको दुरुपयोगलगायत १२ बुँदे फेहरिस्त प्रस्तुत गर्नुभयो ।  

उहाँले महानगरका अनियमितता बारे कुरा राख्दा आफू असुरक्षित बन्दै गएको बताउनुभयो । सामाजिक सञ्जालमा ज्यानमार्ने धम्की आएको बारे जानकारी गराउँदा प्रमुखले कुनै प्रतिक्रिया नजनाएकाले यसलाई नियोजित आक्रमणको रुपमा आफूले बुझेको पनि उहाँले उल्लेख गर्नुभयो ।  

सामाजिक सञ्जालमार्फत उपप्रमुख शाहमाथि धम्कीपूर्ण भाषा प्रयोग गरिएको सम्बन्धमा यसअघि नै नेपाली कांग्रेसले विज्ञप्ति जारी गरी आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया