नख्खु विस्फोटमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग

 फागुन १४, २०७५ मंगलबार १२:४२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रतिनिधि सभाका सांसदहरुले ललितपुरको नख्खुमा रहेको एनसेल प्रालि कार्यालयको गेटमा बम विस्फोटमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद यशोदा गुरुङ सुवेदीले बम विस्फोटको घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गर्नु भएको हो । उहाँले बम विस्फोटमा परि मृत्यु भएका सिंहप्रसाद गुरुङको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था र घाइते प्रतिक्षा खड्का र उरुषा मानन्धरको उपचारको उचित व्यवस्था मिलाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो । गएको फागुन १० गते शुक्रबार राति एनसेल प्रालिको गेटमा बम विस्फोटमा परि गुरुङको ज्यान गएको थियो भने खड्का र डंगोल घाइते भएका थिए ।

त्यसैगरी सांसद यज्ञराज सुनुवारले बारामा जीप दुर्घटनामा परि निधन भएका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई र एसपी बलराम पोखरेलको परिवारलाई पनि उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । उहाँले जीप दुर्घटनाबारे अनेक आशंका उब्जिएको उल्लेख गर्दै छानबिन समिति बनाएर सत्यतथ्य तत्काल बाहिर ल्याउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

त्यसैगरी सांसदहरुले माथिल्लो कर्णाली जलविद्युत आयोजना स्वदेशी लगानीमा सम्पन्न गर्ने गरी कामलाई अघि बढाउन पनि सरकारलाई सचेत गराएका छन् ।

सांसद यज्ञबहादुर बोगटीले आवश्यक बजेटको व्यवस्था गर्ने जिम्मेवारी पाएको भारतीय कम्पनी जीएमआरले आयोजनाको कामलाई अघि बढाउन नसकेको उल्लेख गर्दै नेपाल सरकार आफैले स्वदेशी लगानीमै सो आयोजनाको काम सम्पन्न गर्ने कामलाई तत्काल अघि बढाउन माग गर्नु भएको हो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया