उपसचिव सञ्जेल  सर्वोच्च अदालत जाने, आफू भ्रष्टाचार विरोधी भएकैले अन्यायमा पार्ने काम भएको दाबी

 फागुन १४, २०७५ मंगलबार १४:४४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले सरकारले आफूमाथि अन्यायपूर्ण व्यवहार गरेको दाबी गर्दै न्यायका लागि अदालत जाने बताउनु भएको छ । 

उपसचिव सञ्जेलले निजामती कर्मचारी ऐनविपरीत आफूलाई ७० दिन पनि नपुगी विराटनगर श्रम कार्यालयबाट सरुवा गरिएको तथा तलबसमेत रोक्का गरेको उल्लेख गर्दै न्यायका लागि दुई दिनभित्रै सर्वोच्च अदालत जाने बताउनु भएको हो । 

मंगलबार काठमाण्डौमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले दुई वर्ष काम गर्न दिनुपर्नेमा निजामती ऐन विपरीत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले आफूलाई ऐन विपरीत ७० दिनमै सरुवा गरेको उल्लेख गर्दै उनीमाथि विभागीय कारबाही गर्न पनि माग गर्नुभयो ।

आफूलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गैरकानुनी ढंगले सरुवा गरेर दुःख दिएको उपसचिव सञ्जेलको भनाइ छ । 

उपसचिव सञ्जेलले आफूलाई गरिएको सरुवा गैरकानुनी भएको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जानकारी गराएको उल्लेख गर्दै त्यसमा सचिव दाहालले अझै सुनुवाइ नगरेकोमा पनि आक्रोश व्यक्त गर्नु भयो । आफू भ्रष्टाचार विरोधी भएकाले अन्यायमा पार्ने काम भइरहेको उपसचिव सञ्जेलको दाबी छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया