पछिल्लाे समय नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक चर्चामा रहेका नायकहरु

 फागुन १४, २०७५ मंगलबार १९:७:२७ | मनोज दाहाल
unn.prixa.net

काठमाण्डाै – नेपाली चलचित्र उद्योगमा एक समय थियो जब भुवन केसी र शिव श्रेष्ठको अनुहारले सिनेमा चल्थ्यो । त्यसपछि सरोज खनाल नेपाली सिनेमामा जम्दै गर्दा अमेरिका गए । त्यति नै बेला राजेश हमालले युगदेखि युगसम्म सिनेमाबाट नेपाली सिनेमामा पाइला चाले । 

हमाल नेपाली सिनेमा उद्योगमा भित्रिएपछि झण्डै २ दशक एक्लो राज गरे । त्यो समय यस्तो थियो, चलचित्रको पोस्टरमा हमालको तस्बिर देख्नेबित्तिकै चलचित्र चल्थ्यो । 

हमाल निमार्ताहरुका लागि लगानी बचाउने हिरो त बने तर सबै चलचित्रमा एउटै अभिनयले हमाललाई चलचित्र उद्योगमा अलि कमजोर बनायो । यसैबीचमा श्रीकृष्ण श्रेष्ठ, धिरेन शाक्य, दिलिप रायमाझी, रमेश उप्रेती, निखिल उप्रेती, विराज भट्ट, रमित ढुंगाना लगायतका अभिनेताहरुले पनि प्रवेश गरे ।

कोही नृत्यमा चम्किए, कोही एक्सनमा रमाए र कोही ‘लभर ब्वाय’का रुपमा चर्चित भए । तर समयको मागलाई कसैले पनि बुझ्न सकेनन् । 
देशमा हुने राजनैतिक परिवर्तन जस्तै भयो सिनेमा उद्योगमा पनि ।

प्रधानमन्त्रीको कुर्सीमा पात्र फेरिएजस्तै दशर्कको मनमा सिनेमाका हिरो पनि फेरिन थाले । एकताका दयाहाङ राई अभिनित चलचित्रले राम्रो बजार लिन थाल्यो । उनको आगमनसँगै पहिलेको तुलनामा केही फरक धारका सिनेमाहरु बन्न थाले । पछिल्लो समय पनि दयाहाङकोसिनेमामा अभिनय पातलिँदै गएको देखिन्छ । 

पुराना अभिनेताहरुलाई समयसँगै हराउँदै जाँदा नयाँ अभिनेताहरुक जन्मिरहेका छन् । अहिले अनमोल केसी, प्रदिप खड्का, पल शाह, सलिनमान बानिया, आकाश श्रेष्ठ, आशिरमान देशराज जोशी लगायतका अभिनेताहरु उदाएका छन् । 

पछिल्लो समय चलचित्र क्षेत्रमा उनीहरुकै बाहुल्य देखिन्छ । अनमोल केसीलाई लिएर चलचित्र निर्माण गर्न सके सफल भइन्छ भन्ने धेरै निर्देशक निर्माताहरुको बुझाइ छ ।

अनमोलले यो कुरालाई प्रमाणित पनि गरिसकेका छन् । उनले काम गरेको सबै चलचित्रले राम्रो व्यापार गरेको छ । अनमोलको फ्यान फलोइङ पनि निकै राम्रो छ । उनी एउटा चलचित्रमा अभिनय गरेको ५० लाख रुपैयाँ लिने गर्छन् । अनमोल केसी अभिनित दुई चलचित्र क्याप्टेन र ए मेरो हजुर ३  प्रदर्शनमा आउने तयारीमा छन् ।

उनकाे दिवाकर भट्टराई निर्देशित चलचित्र क्याप्टेन फागुन १७ गते र झरना थापा दिर्नेशित चलचित्र ए मेरो हजुर ३ चैत्र २९ गते रिलिज हुँदैछन् । अभिनेता अनमोल केसीले केही सयम अघि मिलन चाम्सले निर्देशन गर्ने भनिएको चलचित्र ‘ब्याच्लर बन्टी’को कथा मन नपरेको भन्दै छाडेका थिए ।

अभिनेता अनमोल केसीजस्तै चर्चा बटुलेका अर्का अभिनेता हुन् प्रदिप खड्का । उनलाई चलचित्र प्रेमगीतले दर्शकमाझ चिनायो । चलचित्र प्रेमगीतमा नायकका लागि शुरुमा अनमोल केसीलाई भनिएको थियो तर अनमोलले काम गर्न मानेनन् । अवसर प्रदिप खड्काले पाए । 

त्यही चलचित्रले उनलाई स्टार बनायो । अहिले पनि अनमोलले काम गर्न नमानेको चलचित्रको अफर प्रदिपलाई जाने गरेको पाइन्छ । अनमोलले गर्न नमानेको चलचित्र ब्याबच्लर बन्टी पनि अभिनेता प्रदिप खड्कालाई अफर गरिएको छ । तर प्रदिपले यस चलचित्रमा काम गर्ने नगर्नेबारे केही पनि  खुलाएका छैनन् । 

प्रदिप खड्का अभिनित केही चलचित्रलाई दर्शकले रुचाएका छन् भने केही चलचित्रले सामान्य व्यापारमै चित्त बुझाउनुपरेको छ । पछिल्लो समय प्रदिप खड्कालाई उदार भावना भएका अभिनेताका रुपमा समेत व्याख्या गर्न थालिएको छ ।

प्रदिपले उनकै प्रतिष्पर्धी मानिने अभिनेता अनमोल केसीको चलचित्र क्याप्टेनको ट्रेलर शेयर गरेर अनमोल र आफू दाजुभाइ भएको प्रतिक्रिया दिएका थिए । त्यसपछि नेपाली चलचित्र उद्योगमा उनीप्रति हेर्ने दृष्टिकोण नै परिवर्तन भएको मानिन्छ ।

उनलाई धेरैले रियल हिरोको नाम पनि दिएका छन् । प्रदिप खड्का अभिनित चलचित्र लभस्टेशनलाई पनि प्रतिक्षित चलचित्रका रुपमा हेरिएको छ । चलचित्र लभ स्टेशन आउँदो चैत्र २२ गतेबाट नेपारभर प्रदर्शनमा आउने पक्का भएको छ ।

अभिनेता पल शाह पनि पछिल्लो समय चर्चामा रहने अभिनेतामध्येका एक हुन् । उनलाई म्युजिक भिडियोमा निकै रुचाइएको थियो । उनले विकासराज आचार्यको चलचित्र नाई नभन्नु ल ४ बाट चलचित्रमा डेब्यु गरेका हुन् । त्यसपछि उनले जोनी जेन्टलमेन, म यस्तो गीत गाउँछुु, शत्रु गते लगायतका चलचित्रमा काम गरिसकेका छन् ।

उनी यतिबेला मिलन चाम्सद्धारा निर्देशित चलचित्र वीर विक्रम २ को छायांकनमा व्यस्त छन् । यस चलचित्रका लागि अभिनेता आकाश श्रेष्ठलाई छनोट गरिएको थियो । तर छायांनक सुरु हुनेबेला आकाशका हजुरबुवा विरामी भएपछि उनले चलचित्र छाडे र यो अवसर पल शाहलाई मिल्यो । 

चलचित्र क्षेत्रमा अभिनेता पल र अभिनेत्री आँचललाई वास्तविक जोडीका रुपमा हेर्ने गरिएको छ । केही अगाडि अभिनेत्री आँचल शर्मालाई पत्रकारसँग माफी माग्न लगाइएको कुरामा असन्तुष्टि जनाउँदै स्टाटसमा आक्रोस पोखेका कारण अभिनेता चर्चामा आएका थिए । यस विषयलाई लिएर नेपाली चलचित्र क्षेत्रमा बहस पनि भएको थियो । 

यस्तै चर्चामा रहने अर्का नायक हुन् सलिनमान बानियाँ । उनले झरना थापाको चलचित्र ए मेरो हजुर २ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका हुन् । सलिनमान उनको लुक्स तथा गेटअपका कारण निकै चर्चामा रहेने गरेका छन् ।

सलिनमान अभिनित चलचित्र यात्रा र अनमोल केसी अभिनित चलचित्र ए मेरो हजुर ३ एकै दिन प्रदर्शनमा आउने भएकोले पनि उनको चर्चा बढेको छ । 

ए मेरो हजुर २ मा काम गरेकै समयमा उनी धेरै निर्माता तथा निर्देशकको आँखामा परिसकेका थिए । नयाँ चलचित्रको लागि अफर आउने गरे पनि कथा चित्त बुझेपछि मात्र काम गर्न राजी हुने गरेको उनले बताएका छन् । सलिनमान मिडियामा आइरहन नचाहने अभिनेताका रुपमा चिनिन्छन् । 

अभिनेता आकाश श्रेष्ठ पनि निकै फ्यान फलोइङ भएका अभिनेताका रुपमा चिनिन्छन् । उनलाई चलचित्र राम कहानीमा दर्शकले निकै रुचाए । राम कहानीमा नायिका पूजा शर्माको जोडी भएर काम गरेका आकाशको नाम पूजासँग जोडियो । दर्शकले पनि आकाश र पूजालाई असल जोडीका रुपमा हेरे । 

आकाश फेरि पनि पूजा शर्मा र सुदर्शन थापासँगै काम गरिरहेका छन् । सुदर्शन थापाले निर्देशन गर्न लागेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा आकाश र पूजालाई देख्न पाइने छ ।

तर, उनीहरु जोडीकै रुपमा प्रस्तुत हुँदैछन् या छैनन् भन्ने कुरा भने सार्वजनिक भएको छैन ।  चलचित्रको यतिबेला धमाधम छायांकन भइरहेको छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

मनोज दाहाल

मनाेज दाहाल कला तथा मनाेरञ्जन विधामा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया