कीर्तिपुरमा खुल्याे नाटकघर : भित्र भोकाहरुको व्यथा, बाहिर महिलाहरुको पीडा

 फागुन १५, २०७५ बुधबार १०:१०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कीर्तिपुरको राराहिल स्कुल मंगलबार दिनभर नाटकमय भयो । दुई वर्षदेखि बन्द भएको नाटकघर ‘थिएटर मल’ स्कुल भवनमै खुलेपछि विद्यार्थी र शिक्षक फुरुँग देखिन्थे ।

आफ्नै ठाउँमा नाटकघर सञ्चालन भएकोमा कीर्तिपुरका बासिन्दा पनि गद्गद् भए । त्यसैले नाटकघरको उद्घाटन गर्नुअघि कीर्तिपुर बजारबाट सुरु भएको र्‍यालीमा विद्यार्थीसँगै अभिभावकले पनि साथ दिए । र्‍यालीमा झाँकीसहित लाखे नाच पनि प्रदर्शन गरिएको थियो ।

र्‍यालीपछि भएको उद्घाटन कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, साहित्यकार शान्तदास मानन्धर, दुर्गालाल श्रेष्ठ, कलाकार अस्मिना रञ्जितलगायतले कीर्तिपुरमा नाटकघर खुल्नु खुसीको कुरा भएको बताए । 

यसअघि यो नाटकघर सुन्धाराको काठमाण्डौ मलमा सञ्चालनमा थियो । झण्डै दुई वर्षको मेहनतपछि फेरि नाटकघर सञ्चालनमा ल्याइएको थिएटर मलका केदार श्रेष्ठले जानकारी दिनुभयो । राराहिल स्कुलको सहकार्यमा नाटकघर सञ्चालनमा आएको हो ।

भित्र भोको घर, बाहिर महिलाको पीडा

थिएटर मल उद्घाटनपछि हलभित्र ‘भोको घर’ नामको नाटक मञ्चन गरियो । त्यसअघि हल बाहिरको चौरमा महिला तथा किशोरीले भोग्नुपरेका पीडा कलात्मक ढंगले प्रस्तुत गरिएको थियो । 

चौरमा जताततै महिला आकृतिका कठपुतली छरिएका थिए । एकजना बृद्ध मान्छे शरीरमा लासको आकृति बोकेर वरपर घुमिरहेका थिए । उनले बिस्तारै ती कठपुतली टिपेर पानीमा पखाले । अनि पिङमा राखे । त्यसपछि सबै कठपुतली बोकेर तराजु नजिक पुगे । तर तराजु सन्तुलन भएन । उनी निराश भएर लगाएको कपडा समेत फुकालेर त्यहीँ फाले, अनि फर्किए ।

संवाद नभएको यो प्रस्तुति धेरैले बुझेनन् । ‘भिजुअल आर्ट’ भनिने यो कला प्रस्तुत गरेका कलाकार सविर चुरौटेले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘यसको सन्देश र विषय बुझ्ने जिम्मा दर्शकलाई नै छोडेका हौं ।’

उहाँका अनुसार देशमा पछिल्लोपटक भैरहेका महिला हिंसा र बलात्कारका घटनालाई यसमा देखाइएको हो । आफ्नो छोरीचेलीमाथि अन्याय र दुव्र्यवहार भैरहँदासमेत एक बाबुले कतै न्याय पाउन सक्दैनन् । न्याय माग्न उनी न्यायलय समेत पुग्छन् । तर न्यायको तराजु समेत अरु कसैले उतैतिर ढल्काइदिएको छ । 
‘महिलालाई कठपुतलीको जस्तो व्यवहार भैरहेको छ, उनीहरुले न्याय पाउन सकेका छैनन्’ चुरौटेले भन्नुभयो, ‘मैले मौन प्रस्तुति गरेर यो कुरा प्रष्ट्याउन खोजेको हो ।’ 

कलाकार चुरौटेको यो प्रस्तुतिपछि नवनिर्मित नाटकघर थिएटर मलमा गोविन्दबहादुर मल्ल ‘गोठाले’ ले लेख्नुभएको नाटक ‘भोको घर’ मञ्चन गरियो । यो नाटकमा मध्यमवर्गीय परिवारको कथा समेटिएको छ । भोकले गाँजेको परिवारमा सबैमा थरीथरी भोक छ । कोही एक गेडा चामल नपाएर रन्थन्छिन् । कोही भोकै भुलेर अलौकिक कथामा रम्न हुन्छन् । भोको घरले यही पारिवारिक अवस्थालाई झल्काएको छ । 

गोविन्दबहादुर मल्ल ‘गोठाले’ले ०३४ सालमा लेखेको एकांकीलाई केदार श्रेष्ठले परिकल्पना र निर्देशन गर्नुभएको हो । 

शहरभरि नाटकैनाटक

कीर्तिपुरको नवनिर्मित हल ‘थिएटर मल’मा मात्रै होइन, काठमाण्डौका बिभिन्न थिएटरमा अहिले थरिथरीका नाटक मञ्चन भैरहेका छन् । सोमबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय नाट्य महोत्सव अन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाटक मञ्चन गरिएको हो । अनामनगरको मण्डला थिएटर, बत्तीसपुतलीको शिल्पी थिएटर, टेकुको कौसी थिएटर र कीर्तिपुरको थिएटर मलमा फरकफरक नाटक देखाइने गरिएको छ ।

नेपाल, भारत, बंगलादेश, अफगानिस्तान, नर्वे, इटाली लगायत ८ देशका ३० वटा नाटक महोत्सवमा सहभागी छन् । 

‘सामाजिक रूपान्तरणका लागि कलात्मक अभिव्यक्ति’ भन्ने नारासहित महोत्सव सुरू भएको हो। महोत्सव फागुन २० गतेसम्म चल्नेछ।

तस्बिर : थिएटर मल फेसबुकबाट 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया