गुल्मीको रेसुंगामा चौथो पटकको हिमपातसँगै जनजीवन प्रभावित

 फागुन १५, २०७५ बुधबार १७:५३:५५ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – मंगलबार रातिदेखि परेको अविरल वर्षाको कारण गुल्मीको रेसुंगा, मदाने, सत्यवती लगायतका क्षेत्रमा हिमपात भएको छ । 

हिमपात र वर्षाका कारण बुधवार दिनभर जिल्लाको जनजीवन निकै प्रभावित बनेको थियो । वर्षा र हिमपातका कारण जिल्ला सदरमुकाम तम्घास लगायत जिल्लाका अन्य ग्रामीण क्षेत्रहरुमा बुधबार अत्यधिक मात्रामा चिसो बढेको छ ।

 चिसो बढेपछि बजार र सडक क्षेत्रमा मानिसहरु घर र चोकचोकमा सामुहिक रुपमा दाउरा बालेर आगो तापेर बस्दै गरेका देखिन्थे । लगातारको वर्षाका कारण ग्रामीण क्षेत्रवाट सदरमुकाम तम्घास आवतजावत गर्ने सवारी साधनहरु समेत प्रभावित बनेका थिए । 

जसका कारण सरकारी कार्यालयहरुमा सेवाग्राहीको उपस्थिति अत्यन्तै न्यून हुँदा कार्यालयहरु समेत सुनसान जस्ता देखिन्थे । 

सदरमुकाम तम्घाससँगै जोडिएको रेसुंगा क्षेत्र अन्र्तगत पोखरी, यज्ञशाला, सिद्धस्थान, भ्यूटावर लगायतका क्षेत्रहरुमा व्यापक हिमपात भएपछि सदरमुकाम तम्घासमा अत्यधिक चिसो बढेको छ । चिसोका कारण जिल्लाका कतिपय विद्यालयहरुमा पठनपाठन समेत प्रभावित बनेको थियो  ।

बेमौसमी वर्षाका कारण डेढ महिनाको अवधिमा चार पटक हिमपात भएपछि जिल्लाको विकास निर्माण कार्य समेत थप प्रभावित बनेका छन् । 

जिल्लामा सञ्चालनमा आएका दर्जनांै सडक तथा भवनहरुमा वर्षाका कारण नियमित रुपमा काम सञ्चालन हुन नसक्दा कामदारहरु अलपत्र परेको र निर्माण कार्य भइरहेका स्थानहरुका काम समेत वर्षाले बिगारिदिने गरेको निर्माण व्यवसायी संघ गुल्मीका महासचिव हरिकुमार श्रेष्ठले बताउनु भएको छ । 

हिमपात र हिउँदे वर्षाले खेतबारीमा लगाएका बालीनाली सप्रिने र खेतीपाती समेत राम्रो हुने  भएकाले जिल्लाका कृषकहरु भने निकै खुशी बनेका छन् । 
गुल्मीमा यस वर्षमात्र चौंथो पटक हिमपात भएको हो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया