पीएसएलमा सन्दीपकाे अब्बल बलिङ: ४ ओभर, १० रन, ४ विकेट

 फागुन १५, २०७५ बुधबार २०:४९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तान सुपर लिग क्रिकेट पीएसएलमा सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्सले क्वेट्टा ग्लाडियटर्सलाई ८ विकेटले पराजित गरेको छ ।

दुबईमा बुधबार राति भएको खेलमा सन्दीप लामिछानेले सुरुआती ४ विकेट लिएपछि पहिला ब्याटिङ गरेको क्वेटा १९।१ ओभरमा १०६ रनमा समेटिएको थियो । क्वेटाका लागि एहसान अलिले सर्वाधिक ३३ रन बनाउँदा कप्तान सर्फराज अहमदले २९ रन जोडे ।

मोहमद नवाजले १२ रन बनाउँदा अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लाहोरबाट खेलिरहेका नेपाली खेलाडी सन्दीपले बुधबार टिमलाई सुरुआती चारवटै सफलता दिलाएका थिए । कलन्दर्सले आक्रामक पारी खेल्दै ३ ओभरमा ३१ रन पुर्‍याएका बेला सन्दीपलाई चौथो ओभरको बल थमाइएको थियो ।

सन्दीपको पहिलो बलमा शेन वाट्सनले १ रन बनाए । दोस्रो बल असन अलिले डट राखे भने तेस्रो बलमा एक रन लिँदै वाट्सनलाई स्ट्राइक दिए । त्यसपछि चौथो बल फेस गर्दा शेन वाट्सन एलबीडब्ल्यूको धरापमा परे । सन्दीपको अपिलपछि रेफ्रीले रिभ्यू लिँदै आउट गरेका थिए ।  वाट्सन ७ रनमा पेभेलियन फर्किएका थिए ।


त्यसपछि क्रिजमा आएका रिले रुसाेले पाँचौ बल डट खेले भने अन्तिम बलमा एक रन लिएका थिए । सन्दीपले पहिलो ओभरमा ३ रन खर्चिएर एक विकेट लिए । लामिछानेले व्यक्तिगत दोस्रो ओभर टिमको छैटौं ओभरमा लिएर आएका थिए ।

उनले पहिलो बलमै ८ रन बनाएर खेलिरहेका रुसाेलाई  आउट गरे । सन्दीपको गुगलीमा फसेका रुसाे डेभिड विसेको हातबाट क्याच भएका थिए ।  त्यसपछि उमर अकमलले दोस्रो बलमा एक रन जोडे । एहसान अलिले त्यसपछिका २ बलमा रन बनाउन सकेनन् ।

पाँचौं बलमा एक रन बनाएपछि उमर अकमल अन्तिम बल फेस गर्न क्रिजमा आएका थिए । जसमा सन्दीपले अकमललाई गुगलीमा फसाउँदै बोल्ड गरेका थिए । सन्दीपले व्यक्तिगत दोस्रो ओभरमा २ रन खर्चिएर २ विकेट लिए । २ ओभरमा उनले ३ विकेट लिएर ५ रन खर्चिए ।

व्यक्तिगत तेस्रो ओभर लिएर आठौं ओभरमा बलिङ गरेका थिए । पहिलो र दोस्रो बलमा डेभिड अजिजले रन बनाउन सकेनन् । तेस्रो बलमा अजिज सन्दीपको बलमा आउट हुँदै पेभेलियन फर्किए । त्यसपछिका तीन बलमा एहसान अलि र सर्फराज अहमदले ३ रन बटुलेका थिए ।

सन्दीपले तीन ओभरमा ८ रन खर्चिएर ४ विकेट हात पारे । आफ्नो  स्पेलको अन्तिम ओभर लिएर १० औं ओभरमा आएका सन्दीपले २ रन मात्र दिएका थिए । समग्रमा उनले १० रन खर्चिएर महत्वपूर्ण चार विकेट लिए ।

जुन टी–२० क्रिकेटमै व्यक्तिगत सर्वोत्कृष्ट प्रदर्शन पनि हो ।  सन्दीपले आफ्नो स्पेल सकाउँदा क्वेटाले ५ विकेट गुमाएर ५७ रन बनाएको थियो । त्यसपछि बाँकी ४९ रन जोड्दा क्वेटा अल आउट हुँदै १०६ रनमा रोकिएको थियो । 

१०७ रनको लक्ष्य पछ्याएको लाहोरले १६।३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो ।

लाहोरको जितमा एबी डिभिलियर्स ४७ तथा हरिस सोहेल ३३ रनमा नट आउट रहे । गोहर अलि २१ तथा फकहर जमाम २ रनमा आउट भएका थिए । क्वेटाका लागि मोहमद हस्निन र ह्यारी गुरेनीले एक एक विकेट लिए । बुधबारको खेलमा सन्दीप लामिछाने म्यान अफ दी म्याच घोषित भएका छन् । पीएसएलमा लाहोर जितसँगै ६ अंकका साथ पाचौं स्थानमा उक्लिएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया