विभागीय मन्त्रीकै ज्यान जाने गरी भएको  हेलिकप्टर दुर्घटनाले उब्जाएका गम्भीर प्रश्न

 फागुन १५, २०७५ बुधबार २१:४१:२७ | नवराज फुयाँल
unn.prixa.net

काठमाण्डौ – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान जाने गरी ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनाले गम्भीर प्रश्न उब्जाएको छ । 

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सांसदसमेत रहनुभएका योगेश भट्टराईले मौसम खराब हुँदाहुँदै ७ जनालाई किन उडान गरियो भनेर प्रश्न गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भट्टराईले यसअघि भीआईपी उडानमा पाइलटसहित ५ जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर पाइलटहरुले नलाने गरेको भए पनि आज ७ जनालाई किन लगियो भनेर प्रश्न गर्नुभएको हो ।  

उहाँले लेख्नुभएको छ, ‘भीआईपी उडानमा पाइलटसहित ५ जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर कोहीलाई सुकेटार वा ताप्लेजुङ बजारमै झारेर मात्र पाथिभरा उडान गर्दै आएका छन्, पाइलटहरुले । तर, आज मौसम खराब हुँदाहुँदै ७ जनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ ।’

वरिष्ठ पाइलट केबी लिम्बू विभागीय मन्त्रीले नै हेलिकप्टर दुर्घटनामा परेर ज्यान गुमाएको घटनाले नेपालको आकाश कति सुरक्षित छ भन्ने गम्भीर प्रश्न फेरि एक पटक उजागर गरेको बताउनुहुन्छ । 

‘हेलिकप्टर दुर्घटना भएर विभागीय मन्त्रीकै ज्यान जानुले नेपालको उड्डयन क्षेत्रको सेफ्टी म्यानेजमेन्ट सिस्टम खराब रहेछ भन्ने सन्देश अन्तर्राष्ट्रिय स्तरमा जाने खतरा छ’, उहाँले भन्नुभयो । ‘ईयूले नेपाली आकाश सुरक्षित नरहेको भन्दै अहिले पनि ब्ल्याक लिस्टमा राखेको छ, यसले झनै ठूलो खतरा निम्त्याएको छ’, वरिष्ठ पाइलट लिम्बू बताउनुहुन्छ । 

‘दुर्घटना ‘म्यान, मेसिन र नेचर’ अर्थात पाइलट, जहाज र मौसमबीचको तालमेल नहुँदा हुने हो’, उहाँले भन्नुभयो, ‘आजको दुर्घटना पनि यस्तै तालमेल नमिल्दा भएको देखियो ।’  

बदली भइरहने मौसम हवाई उडानका लागि सबैभन्दा धेरै खतरनाक मौसम रहेको भन्दै उहाँले आजको मौसम पनि ताप्लेजुङलगायत देशैभरको खराब अवस्थाको रहेको बताउनुभयो ।  

‘कुनै एउटा भागमा मात्रै मौसम खराब हुँदा खुलेपछि त्यति ठूलो डर हुँदैन थियो तर विगत ३/४ दिनदेखि देशैभर मौसम खराब भइरहेको अवस्थामा एकछिन खुल्यो भन्दैमा हिँडिहाल्नु गलत थियो’, लिम्बू भन्नुहुन्छ । 

मौसम खराब भएको जानकारी हुँदाहुँदै पनि पाइलटले हेलिकप्टर उडाउनु नै सबैभन्दा ठूलो गल्ती भएको उहाँले बताउनुभयो । उहाँ अगाडि भन्नुहुन्छ, ‘विभागीय मन्त्री, एउटा एयरलायन्सकै मालिक तथा उच्चपदस्थ कर्मचारी भएकाले पनि पाइलटलाई उडानका लागि दबाब आयो होला । तर त्यस्तो मौसममा उडान हुन नसक्ने भन्दै पाइलटले प्रोफेसनल स्ट्याण्ड लिनु पर्थ्याे । सायद त्यो नहुँदा आज दुर्घटना हुन पुग्यो ।’  

हेलिकप्टर तथा अन्य कुनै पनि जहाज जति धेरै उचाइमा उड्छ त्यति नै बढी भारवहन क्षमतामा असर पर्ने भन्दै उहाँले हेलिकप्टरमा ७ जना लिएर उडान गर्दा त्यसको क्षमताको हिसाब गरियो गरिएन भन्ने कुरा पनि अनुसन्धानको विषयको रहेको बताउनुभयो ।  

हेलिकप्टरका पाइलटले नै भनेको कुराले पनि ताप्लेजुङमा हिउँ पर्नुका साथै पानीसमेत परिरहेको थियो ।  बाक्लो हिमपातका कारण हेलिकप्टर दुघर्टना भएको हुन सक्ने त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । 

विमानस्थलमा भएको पत्रकार सम्मेलनमा विमानस्थल कार्यालयका प्रिवक्ता प्रतापबाबु तिवारीले भन्नुभयो, ‘पाइलटले टावरलाई अन्तिम पटक भारी हिमपात भएको जानकारी दिएका थिए, हामीले पाएको जानकारी त्यही हो ।’

‘पानी परेको बेला जहाजको एरो डाइनामिक सिस्टममा र रोटरमा असर पार्ने र त्यसको कुशलतापूर्वक सम्हाल्न नसके दुर्घटनामा पर्ने हुन्छ । आजको घटना हेर्दा पनि त्यस्तै देखिन्छ,’ उहाँले भन्नुभयो ।  

केही दिनदेखि मौसम निरन्तर खराब छ । मौसम खराब भएको जान्दा जान्दै यस्तो बेलामा नयाँ एयरपोर्ट बनाउने ठाउँको अनुगमनमा जानु पर्ने हतारो गर्नु नै गलत भएको वरिष्ठ पाइलट लिम्बू बताउनुहुन्छ ।  

‘यत्रो वर्षदेखि विमानस्थल नहुँदा त केही भएको थिएन’, उहाँले भन्नुभयो, ‘आज नगएको भए आकाश नै खस्ने त थिएन नि, मौसम खुलेको बेला गएको भए के नै बिग्रने थियो र ?’ 

कहिलेकाहीँ भैहाल्छ नि भन्दै गरिने ‘केयरलेस’ पनि ठूलो दुर्घटना निम्त्याएको वरिष्ठ पाइलट लिम्बू बताउनुहुन्छ । उहाँ भन्नुुहुन्छ, ‘यसअघि पनि नेपाली आकाशमा उच्च पदस्थ व्यक्ति बोकेका जहाज दुर्घटना भएका थिए तर घटनापछि फेरि त्यसलाई भुल्दै पाइलटले पनि आफ्नो प्रोफेसनल स्ट्याण्ड छाड्ने र उच्च पदस्थ व्यक्तिहरुले पनि जस्तोसुकै मौसम भए पनि उडान गर्न प्रेसर दिने प्रवृत्तिले दुर्घटना दोहोरिन छाडेको छैन ।’  

वरिष्ठ पाइलट लिम्बूले भनेझैँ अब यसबाट पाठ सिक्दै आउँदा दिनमा यस्ता घटना हुन नदिन गम्भीर सतर्कता अपनाउनु जरुरी छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

1 Comments

  • अपार

    Feb. 28, 2019, 1:06 p.m.

    आयो टप्पटिप्यो मिति पुग्यो टारेर टर्दैन त्यो पद र शक्ती को पारो चढेको बेला सबैकुरा लाइ लत्याउदा नै ......

  •  0 Reply

तपाईको प्रतिक्रिया