दुर्घटनामा निधन भएका सातैजनाको शव सुकेटार विमानस्थलमा, काठमाण्डाै ल्याउने तयारी

 फागुन १६, २०७५ बिहिबार ८:८:३५ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – हेलिकप्टर दुर्घटनामा निधन भएका सातैजनाको शव दुर्घटनास्थलबाट सुकेटारमा पुर्‍याइएको छ । ताप्लेजुङको सिस्नेभीरमा हेलिकप्टर दुर्घटना हुँदा निधन भएकामध्ये चारजनाको शव बुधबार नै सुकेटार पुर्‍याइएकोमा बाँकी तीनजनाको शव केहीबेरअघि सुकेटार पुर्‍याइको हो । 

खराब मौसमका कारण बुधबार ल्याउन नसकेपछि प्रहरी तथा सेनाको टोलीले रातभर घटनास्थलमै कुरेर बसेका थिए । 

दुर्घटनास्थलमा हेलिकप्टर अवतरण गर्नसक्ने अवस्था नभए पनि सेनाको हेलिकप्टरले डोरीमा अड्काएर शव संकलन गरेको हो । ताप्लेजुङमा बुधबारभन्दा मौसम केही सुधार भए पनि पुरै भने खुलेको छैन ।

सरकारले पर्यटन मन्त्री अधिकारीको निधनमा राष्ट्रिय शोक घोषणा गर्दै बिहीबार सार्वजनिक बिदा दिएको छ ।

दुर्घटनामा ज्यान गुमाएकाहरुको दाहसंस्कार राजकीय सम्मानका साथ गर्ने निर्णय पनि सरकारले गरेको छ । सरकारले हेलिकप्टर दुर्घटनाका बारेमा जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन पेश गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा चार सदस्यीय जाँच आयोग पनि गठन गरेको छ । 
    
 

अन्तिम अपडेट: बैशाख १, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया