बलरा नगरपालिकामा तीन महिनादेखि तालाबन्दी: सेवाग्राही र कर्मचारी मर्कामा

 फागुन १६, २०७५ बिहिबार १५:५९:३ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - सर्लाहीको बलरा नगरपालिकामा तीन महिनादेखि तालाबन्दी भएका कारण सेवग्राही तथा कर्मचारी मर्कामा परेका छन् ।

जनप्रतिनिधिहरुको बीचमा आपसी विवाद हुँदा पुस ४ गतेबाट नगरपालिकाको मुलढाेकामा तालाबन्दी भएको हो । नगर कार्यपालिका सदस्यहरुले तालाबन्दी गरेलगत्तै दोस्रो दिन  सर्लाही क्षेत्र  नम्बर  ४ का संसद् अम्ररेश कुमार सिंंहको निर्देशनमा फेरि तालाबन्दी भएको मेयर अभय कुमार सिंंहले बताउनुभयो।

नगरपालिकामा लागेको  तालाबन्दी खुलाउन धेरै पटक प्रयास गरे पनि सबै आ आफ्नो अडानमा रहेकाले समस्य भएको मेयर सिंहको भनाइ छ । 

नगर प्रमुखले कार्यपालिका सदस्यहरुलाई कुनै जानकारी नदिएर मनोमानी नीति तथा कार्यक्रम लागू गर्न खोजेकाले उप-मेयरको नेतृत्वमा  बाध्य भएर तालाबन्दी गर्नु परेको ११ नम्बर वडाका अध्यक्ष योगेश्वर प्रसाद सिंहले बताउनुभयो। वडाको विकास बजेट  कटौती गरेर धेरै विकास बजेट नगरको योजनामा राखेकाले तालाबन्दी गर्नु परेको वडा अध्यक्षहरुको भनाइ छ । 

तालाबन्दीका कारण आर्थिक वर्ष २०७५र०७६ को चालू योजना कार्यान्वयन गर्न समस्या परेको छ । निमित्त प्रशासकीय अधिकृत सुरेश साह भनुहुन्छ, तालाबन्दी खोल्ने विषयमा जनप्रतिनिधिसँग धेरै पटक छलफल भयो,उहाँहरुको बिचमा कुरा मिल्दैन ,हामी कर्मचारीहरुले के गर्न सक्छौं  र , जनप्रतिनिधिहरु बाटै पटकपटक  ज्यानै मार्ने सम्मको धम्की आउँछ, उहाँले गुनासो गर्नुभयो ।

मेयर र प्रशासकीय अधिकृतले बहुमतको कदर नगरेर एकलौटी रुपमा अघि बढन खोजेकाले कार्यपालिकाको बहुमत सदस्यले नीति तथा कार्यक्रमको पुनःबिचार गर्न माग गर्दै अनिश्चितकालीन तालाबन्दी गरेको वडा नम्बर-५ का वाडा अध्यक्ष मनोजमोहोन कुमार सिहले बताउनुभयो ।

नगर सभाले प्रत्येक वडामा ७० लाखको दरले विकास  बजेट छुट्याएको  छ । आपसी विवादको कारण नगरपालिकाले अहिले सम्म ६ लाख बाहेक अरु कुनै पनि योजना संचालन गर्न सकेको छैनन् ।

तालाबन्दीको कारण एकातिर विकास बजेट प्रभावित भएको छ भने अर्कोतिर नागरिकले स्थानीय तहबाट पाउने सेवा सुबिधाबाट नागरिक  वञ्चित भएका छन ।
नगरपालिकामा कार्यरत २७ जना कर्मचारीले पनि अहिलेसम्म तलबभत्ता पाउन सकेका छैनन् । भनेको बेला तलब नपाएपछि घर खर्च टार्न मुस्किल परेको उनीहरुले गुनासो गरेका छन् । तालाबन्दीका कारण प्रविधितर्फका कर्मचारीहरुले भवन बाहिर बसेर हाजिर गरिरहेका छन् । 


 

अन्तिम अपडेट: चैत १५, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया