युवा टोली इंग्ल्याण्ड र फिजिकल फुटबलमा जोड दिने पानामा खेल्दै

 असार १०, २०७५ आइतबार ८:४२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकपको समूह एचमा आइतबार पूर्व विजेता इंग्ल्याण्ड र नवप्रवेशी टोली पानामा निज्नी नोभोकोरोग रंगशालामा आमनेसामने हुँदैछन् । ग्यारेथ साउथगेटको टोली इंग्ल्याण्ड समूहको लगातार दोस्रो जितका साथ नकआउट चरण नजिक पुग्ने लक्षमा छ ।

ह्यारी केनले अन्तिम समयमा गोल गरेपछि गतसाता भोल्गोग्राड रंगशालामा इंग्ल्याण्डले ट्युनिसियालाई २–१ गोलले हराएको थियो ।

इंग्ल्याण्डको रसिया भ्रमण धेरै हदसम्म सकारात्मक रुपमै चलिरहेको छ । तर, पछिल्ला केही दिनमा उसले एक दुई समस्या व्यहोरेको छ । डेले अली घाइते भएपछि उनी हर्नान डारियो गोमेजको टोली पानामासँगको खेलमा उपलब्ध हुने छैनन् । दुई दिनअघि लिक भएको प्लेइङ सेटलाई आधार मान्ने हो भने इंङ्गिलस टोलीमा रहिम स्टर्लिङ पनि रहने छैनन् । रुवेन लफ्टसले मिडफिल्डको जिम्मेबारी पाएका छन् भने मार्को रासफोर्डले अग्रपंक्तिमा ह्यारी केनलाई साथ दिनेछन् ।

इंग्ल्याण्डले आफ्नो पहिलो खेलमा ट्युनिसियासँग दोस्रो हाफमा निकै संघर्ष गर्नुपरेको थियो । इंग्ल्याण्डलाई पानामाको फिजिकल रणनीतिमा खेल्न अप्ठेरो पर्न सक्ने आँकलन गरिएको छ । पानामाले आफ्नो पहिलो खेलको पहिलो हाफमा बेल्जियम जस्तो बलियो टोलीलाई बराबरीमा रोकेको थियो ।
यद्यपी, इंग्लिस डिफेण्डर केल वाल्करले आफूहरु भन्दा मध्य अमेरिकी टोली पानामालाई दवाब हुने दावी गरेका छन ।

शुक्रबारको पत्रकार सम्मेलनमा उनले भने, ‘हामीलाई थाहा छ कि उनीहरु फिजिकल गेम खेल्छन्, ट्युनिसिया बल टू बल खेल्न मन पराउँछ तर, पानामा डाइरेक्ट खेल्छ ।’ उनको भनाई छ, ‘उनीहरुले हाम्रो चिन्ता गर्नुभन्दा पनि हामीले उनीहरुको चिन्ता गर्नुपर्छ । हामीसँग मुख्य मुख्य पोजिसनमा यस्ता खेलाडीहरु छन् जो जुनसुकै समयमा गोल गर्न सक्छन् ।  यदि हामीले बल पोजिसनमा लियौं भने हामी जसरी खेल्छौं, त्यसरीनै लयलाई जोगाउन सक्छौं ।’ 

 म्याच फ्याक्ट्स

– इंग्ल्याण्ड विश्वकपमा मध्य अमेरिकी टोलीसँगको पछिल्लो चार खेलमा पराजित भएको छैन । दुई जित र दुई बराबरी निकालेको छ ।

– इंग्ल्याण्डले विश्वकपमा प्रतिस्पर्धा गर्न लागेको पानामा ३८औं देश हो । ३७ वटा देशबिरुद्धको पहिलो खेलमा इग्ल्याण्ड मात्र ५ पटक पराजित भएको छ । 
 
– मध्य अमेरिकी टोलीले विश्वकपमा युरोपेली टोलीबिरुद्ध पछिल्लो १० खेलमा एउटा मात्र जित हासिल गरेको छ । ६ वाटा खेलमा पराजित भएको छ भने ३ खेल बराबरीमा सकिएको छ । रुस विश्वकपको पहिलो खेलमा मेक्सिकोले जर्मनीलाई पराजित गरेको थियो ।

– इंग्ल्याण्डले विश्वकपको सुरुआती दुई खेलमा जित हासिल गरेको सन् १९८२ र २००६ मा मात्र हो ।

– ह्यारी केनले जारी विश्वकपमा २ गोल गरेका छन् । विश्वकप सन् १९८६ समूह चरणमा इंग्लिय स्ट्राइकर गेरी लिंकरले समूह चरणमा ३ गोल गरेका थिए ।

प्लेयर्स टू वाच

मार्कोस रासफोर्ड, इंग्ल्याण्ड
 
ड्राइस मार्टिन्सको जादूयी गोल अघिसम्म बेल्जियमलाई बास्तवमै पानामाको रक्षापंक्ति तोड्न मुस्किल परेको थियो । त्यसकारण पनि इंग्ल्याण्डले रासफोर्डलाई सुरुआती ११ मा खेलाउँदा सकारात्मक नतिजा आउन सक्छ । 

म्यान्चेस्टर युनाइटेडका यी स्ट्राइकरको गतिले विपक्षी डिफेण्डरलाई समस्यामा पर्नेछ फलस्वरुप ह्यारी केनलाई आक्रमण गर्न सहज हुनेछ । २० वर्षीय रासफोर्डले सन् २०१६ मा राष्ट्रिय टोलीबाट डेब्यू गरेयता २० खेलमा ३ गोल गरेका छन् ।
 
गाव्रियल गोमेज, पानामा 
 

३४ वर्षीय डिफेण्डिङ मिडफिल्डर गोमेजले बेल्जियमबिरुद्धको खेलमा रक्षापंक्तिमा अन्य तीन डिफेण्डरसँगै खेलेका थिए । पहिलो खेललाई हेरेर विश्लेषण गर्दा कुनै पनि विपक्षीका लागि उनी टाउको दुखाई बन्न सक्छन् । उनले बेल्जियनबिरुद्ध ४६ पास खेलेका थिए ।
 
आफ्नो देशका लागि सर्वाधिक क्याप (१४२) जित्ने र स्पष्ट नेतृत्व लिने क्षमताका अलावा गोमेजले स्ट्राइकर जेसे लिङगार्ड र मिडफिल्डमा लोफ्टस चीकलाई रोक्न सक्छन् साथै रासफोर्ड र केनलाई पनि खुलेर खेल्न दिने छैनन् ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया